- संस्मरण
–धनराज गिरी
कसैले सम्झिन लायक हुनु पनि जीवनको चानचुने कमाइ होइन । जीवनमा भित्री हृदयबाटै माया गर्ने मान्छे पाउन मुस्किल हुन्छ । मन मिल्ने साथी फेला परेमा आफूलाई भाग्यमानी ठान्नुपर्छ । मलाई थाहा छ, केही नक्कली मित्रहरु मसित अभिनय गर्दछन् । अभिनय गर्न मलाई पनि आउँछ । शिक्षण पेसा नै एउटा सफल अभिनय हो । चितवन जिल्ला मेरो तीर्थ हो, मेरो स्वर्ग हो । यहाँ मलाई साँच्ची नै माया गर्ने, सम्मान गर्ने पवित्र आत्माहरुको बास छ । फेरि स्तुति भयो भनिएला । म स्तुति लेखनको आरोप खेपिरहेको छु । यथार्थमा यो
मेरो प्रेम हो ।
यही प्रेमले तानिएर यसपालि नयाँ साल मान्न बन्दीपुर गइयो । दाजु रेशमलाल श्रेष्ठज्यूको मायाले तान्यो मलाई । परिस्थिति त्यति अनुकूल नभए पनि म कस्सिएँ । भाइ भूपिनको प्रेमले पनि पगाल्यो । २०७१ साल वैशाख १ गते बिहान १० बजे बाइकमा निस्किएँ म, बन्दीपुरका लागि । यथार्थमा प्रयोजन थाहा थिएन । बन्दीपुर महोत्सव रहेछ, पछि थाहा पाएँ । मलाई ११ बजे नै पोखरा बसपार्क पुग्न भनिएको थियो । ठीक ११ बजे पुगेँ म, रेशम सरको निवासमा । मित्र जयराम श्रेष्ठजीको उपस्थितिले रमाइलो थपियो । बन्दीपुरे मित्रहरुसित मेरो नाता अलौकिक । हेटौँडाबाट साम्ब ढकाल र उमेरको नदी उर्फ निमेष निखिल । ईश्वर कँडेल र सुमनराज श्रेष्ठ पनि सहयात्री बन्छन् कि भन्ने अनुमान मिलेन । रेशम सरसित अतीतको चर्चा गरियो । मेरो विनोदप्रियतालाई, विदुषक स्वभावलाई उहाँले सकारात्मक रुपमा लिनुहुन्छ । त्यही नै मेरो निम्ति मनग्ये ।
झन्डै एक बजे हामी बसपार्कतिर लाग्यौँ । बल्ल–बल्ल पाँच सिट प्राप्त भयो । घनश्याम सर, घनश्याम सर ! सायद यो भूपिनको आवाज थियो । भैरहवाबाट बन्दीपुर जान आउनुभएको गजलमणि दाजु घनश्याम परिश्रमी बिलखबन्दमा । गाडी प्याक । अब मेरो मन किन मान्थ्यो । दाजुलाई आफ्नै सिटमा व्यवस्थापन गरेर म खडे । दाजुले सारै अप्ठ्यारो मान्नुभो । मलाई भने मजा भइरहेको थियो ।
सम्मान गर्नलायक मान्छेलाई सम्मान गर्न पाउनु पनि ठूलै सौभाग्य हो । सायद, यही नै मानव सभ्यता हो । बसमा यात्रा गर्दा म अशक्त, वृद्ध र महिलालाई उभिन लगाएर आफू सिटमा कहिल्यै पनि बस्दिनँ । यस्तो पटक–पटक भएको छ । दुई जना दाजुका लागि म भाइ, तीन जना भाइका लागि म दाइ । साम्ब ढकाल भाइले असजिलो माने । पछि हामीले कटफट ग¥यौँ । घनश्याम दाजुले मलाई कति माया गर्नुहुन्छ भन्ने कुराको मैले प्रमाण नै प्रस्तुत गरेँ । गजलमा समर्पित भएबापत, साहित्यमा मन दिएबापत म धेरै धनी भएको छु । इष्टमित्रको धनी । आज नेपालको जुन सहर वा गाउँमा गए पनि न्यानो माया पाउने भएको छु । लज र होटल खोज्दै हिँड्नुपर्दैन । बरू, आउँछु भनेका इष्टमित्रहरुलाई भाग पु¥याउन सकेको छैन ।
मुग्लिङ कटेपछि बसले थकाइ मा¥यो । निमेषलाई तिर्खाले सताएछ । पानीको खोजमा हामी निस्कियौँ । नयाँ साल मनाउन आएका उत्तरआधुनिक लैला–मजनुहरुलाई आशीर्वाद दियौँ । प्रेम पाप होइन, तर अभिशाप बन्नु
हुँदैन । मैले जीवनमा प्रेमीहरुको विरूद्धमा आफूलाई उभिने बनाइनँ । दुई नदीको संगम देख्दा रमाइलो लाग्छ । मन मिले कुरा सकियो । तर, प्रेम सत्य र भव्य अनि शालीन र सुव्यवस्थित हुनुपर्दछ । अव्यवस्था कतै पनि प्रीतिकर हुँदैन ।
काठमाडौँबाट प्रगतिशील बाहुनहरुको भीड । मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, हरिहर खनाल, अरु पनि थुप्रै । हार्दिक मिलन भयो । त्योभन्दाअघि सेलरोटी र चना साथमा बिजुली पानी । भाइद्वय भूपिन र निखिल, अब छोडेको उपलक्ष्यमा भन्दै कति लोटा ! रू. ४३० बुझाए, सोमरसानुरागी भाइ उमेरको नदीले । मासु र मदिराको कोटा पु¥याएर थन्किएको आफू त । गोविन्द वर्तमानलाई सम्झिएपछि सातो जान्छ । कुन्नि किन हो, यो मास्टरसाहेब भएर हो कि मलाई केही कुरा कहिल्यै हजम हुन्न । आफूभन्दा सानाले आफ्नो सामुन्ने चुरोटको धूवाँ उडाएको दृश्यले मलाई दुर्वासा बनाउँछ । आमापट्टिको मामा न बाउपट्टिको काका, अथवा मलाई के मतलब ? भनेर चित्त बुझाउन सक्दिनँ । त्यसैगरी, म आफूभन्दा कान्छालाई नमस्कार गर्न पनि सक्दिनँ । मैले हप्काएर धेरैले धूमपान त्यागेका छन् । मेरो परिवारमा कसैले पनि धूमपान गर्दैन ।
खाना खाने बेलामा मोदनाथ पश्रितज्यूसित थोरै भलाकुसारी गर्ने मौका मिल्यो । हामी नेपालीहरु खान पनि जान्दैनौँ, मेरो अनुभव– महाकवि एवम् कविराज त्यसपछि दिन थाल्नुभयो । झन्डै ७० वर्षका यी बूढाको स्वास्थ्य सारै लोभलाग्दो छ । लगभग १० बजे राति घनु र धनुको जोडी पुग्यो बिस्तारामा ।
दुई गते भाइ मापसेमा अुनपस्थित ?– कुन्साङकाका । दाजु मेरो कोटा पुग्यो– मेरो उत्तर । भव्य र सभ्य व्यवस्थापन बन्दीपुरको । ठीक ९ बजे साहित्यिक कार्यक्रम सुरू भयो । उद्घोषक गोकर्ण भट्टराई गुरू प्रथम श्रेणी ।
द्वारिका श्रेष्ठ दाजु र जलेश्वरी दिदीको न्यानो स्नेह पाइयो । द्वारिका दाजुले मलाई राम्रैसित चिन्नु हुँदोरहेछ । यो हाम्रो पहिलो मिलन थियो । नवीन बन्धु र गणेश ढुंगाना धादिङबाट, झन्डै नचिनेको ! पूर्वप्राज्ञ सुलोचना मानन्धर धितालज्यूसित पुस्तक विनिमय गरियो । आफ्नो प्रस्तुति त्यति जमेन । आम्मै, केदारनाथ गुरूबाले झन्डै कान समाएको ! विनोदी गुरूज्यू जिल्ल !
वास्तवमा म बन्दीपुर अचानक गएको हुँ । सबैलाई तीनछक पारेर रेशमलाल सरको पहिलो निम्ता कसरी अवज्ञा गर्ने ! गायत्री श्रेष्ठ माते र खगेन्द्र संग्रौला दाजैको दैवी मिलनले आँखा रसाए । यी कुन्साङकाका पनि अजीव प्राणी हुन् । लेख्दा चट्टान, भेट्दा नौनी । यिनको अखबारी लेखन मलाई पटक्कै मन पर्दैन– धेरैको टिप्पणी । आम्मै, आफ्नै भाइ लक्ष्मणप्रसाद गौतम । कार्यपत्र उनको राष्ट्रिय दायित्व ।
कविता वाचन कार्यक्रम ११ बजे रोकेर पेटपूजाका लागि होटलतर्फ लागियो । खाना खाएर टाप । जीवनमा पहिलोपल्ट म साहित्यिक कार्यक्रमबाट भागेँ । यो धनराज दाइलाई कति सीता भाउजूको मोह हो, हामी पनि…– भूपिनको गुनासो । मेरो जीवन पहिला सीताजीको, अनि मात्र साहित्यको । वास्तवमा म एक दिन कार्यक्रम र एक रातको बसाइँ भनेर गएको थिएँ । कार्यपत्र मेरा लागि बेल र कौवा । सैद्धान्तिक बहसभन्दा गीत–गजल गाउन र चुट्किला भन्नु मज्जा लाग्छ । मेरो बोधो दिमागमा कुनै पनि सिद्धान्त घुस्दैन ।
बडो रोमाञ्चकारी यात्रा पूर्ण गरेर ठीक पौने पाँचमा साँझ घर भित्रिएँ । उता बन्दीपुरमा गिरी खै ? भएछ । विनोदीजी, महेश प्रसाई र ठाकुर बेलबासेलाई मात्र थाहा थियो । साथीहरु अझै भन्छु– साहित्यलाई समय दिनुहोस्, त्योभन्दा बढी मह¤व परिवार र दायित्वलाई दिनुहोस् । यो हरिभक्त कटुवाल बन्ने युग होइन । बन्दीपुर जिन्दावाद !
Discussion about this post