कर्णाली अञ्चलका गरिब, दलित र पिछडिएका बालबालिकाहरुको भावी जीवनमा चमक ल्याउन साथ दिने सपनादेखि ‘स्वप्नभूमि खाजाघर भरतपुरमा साँझ २०६४ असोज २७ गते पुराना शिक्षकहरु ११ जना जम्मा भई ‘कर्णाली ममता समाज’लाई जन्माइयो । विशाल नभए पनि उद्देश्य र आकांक्षामा पवित्रता भएको भावनात्मक उत्साहको अभिव्यक्ति थियो त्यो ममता समाज । जन्मले १२ वर्ष पुगेको त्यो समाज मानिस भएको भए जन्मदाताहरुसँग बालकको रुपमा टुकुटुकु हिँड्ने थियो, यो साल । कर्णालीको सेवामा पूर्णविराम लागेपछिको स्मृति र ममताको प्रतीक थियो त्यो सपना ।
यसले आफ्नो कर्मपथमा हिँड्दा धेरै शुभचिन्तक र सरोकारवालाहरुसँग सम्पर्कको सूत्र बाँध्यो र त्यसमा हिँड्न थाल्यो, तर यसले चाहेर पनि ती दीनहीनहरुको साथको ‘सारथि’ बन्न सकेन । किनकि, मल्टिनेसनल ध्येयका धेरै वैदेशिक दाताहरु ती दीनहीनहरुका पाठशाला र घरका पिँढीहरुसम्म छात्रवृत्ति, खाद्य र पोसाकहरुका उपहार लिएर जान थालेका थिए । हाम्रो साथ र सहानुभूति तिनीहरुको ‘उपहार’ मा विलीन हुन्थ्यो, त्यसैले हामीले ‘युटर्न’ लियौँ र चितवनमा ओखतीमुलो गर्न, देह बिसाउन बाध्य हुन र अक्षरहरुसँग खेल्न लागेका व्यक्तिहरुलाई साथ दिन थाल्यौँ । हाम्रो त्यो उदात्त भावनालाई सजीव राहतै ‘हौसला दिनमा’ मात्र खुम्चिनु परेको यथार्थता प्रदर्शित भए पनि र यसले किञ्चित निराशाका बाछिटा पारे पनि हीनताबोधी भने भएका छैनौँ ।
जन्मको वर्षौंको समयपश्चात् हाम्रो गति र उत्साहमा मन्दी आउँदा समाजका ‘ऊर्जावान्’ र ‘पदीय उत्तरधिकारी’लाई कार्यजिम्मेवारी हस्तान्तरण गर्ने सोच र प्रसङ्ग आएको थियो, तर त्यसले मूर्तरुप लिन सकेन । आज वर्षको अन्तराल पछाडि ‘कर्णाली ममता समाज’को खोलो फर्किएको छ र जन्मदाता होइन, ‘शुभेच्छुक’ को खेतबीचमै त्यो खोलो बहन थालेको छ । खेतमा उर्वरता र उत्पादकत्व प्राप्त होला भन्ने आशा सबैमा पलाएको छ ।
कर्णालीका ठण्डा शिखरहरु, चिसा पहाडहरु, ताता खोँचहरु, त्यसभित्रको अज्ञानता, दरिद्रता, अभाव र रोगहरु तथा पाठशालाहरुका दीनहीन बालबच्चाहरुको भविष्य निर्माणलाई आत्मसात् गर्दै सिर्जना भएको ‘कर्णाली ममता समाज’ कति मुलायम, कति मधुर र कति प्रिय छ, है ?
कर्णालीका सिमकोट, सर्केगाड, दार्मा, डिल्लीचौर, कालिकोट, सिंजा, डोल्पा, मुगुका बासनादार माटोमा लडीबुडी खेलेर आएका रवि, कमल, टीका, हरि, तुलसी, कृष्ण, इन्द्र, राम, सविता, सूर्य, विश्व, तीर्थ, मेघ, कृष्ण, चन्दा जन्मदाता र शुभेच्छुकहरु कर्णाली ममता समाजको बोझ लागेको बिसाउन पाउँदा उनीहरु सबै हर्षविभोर भएका छन् ।
१२ वर्षपछि खोलो पनि पनि फर्किन्छ भन्छन्, समयको लामो अन्तरालपछि कुदिन पनि सुदिनमा परिणत हुन्छन् भन्छन्, कुण्ठा पनि उत्साहमा परिवर्तित हुन्छन् भन्छन्, विफलताहरु पनि सफलतामा रुपान्तरित हुन्छ भन्छन् । के यस्तै अवसर र हौसला जन्मन लागेको हो त ? हो, अवश्य हो । कर्णाली ममता समाजको खोलो विगतबाट आगततिर फर्किएको छ, अब लोक र उनको टिमले समाजको खेत हराभरा र हरियाली तुल्याउने निश्चित छ ।