– उषा पौडेल
रोजगारीको सिलसिलामा विदेसिएका थुप्रै नेपाली विवाहित पुरूष विदेशमै रमाउन थालेपछि नेपालमा रहेका तिनका श्रीमती र छोराछोरीको बिचल्ली हुन थालेको छ । १३ वर्षअघि १९ वर्षको उमेरमा सविताको (नाम परिवर्तन) बाग्लुङ गल्कोटका जयवीर (नाम परिवर्तन) सँग विवाह भएको थियो । विवाहको एक वर्षसम्म उनको वैवाहिक जीवन सुखमय रुपमा बित्यो । उनका श्रीमान् धन कमाउन भन्दै विदेश गए । त्यसपछि उनको जीवनमा कहिल्यै खुसी फर्केको छैन । विदेश गएको केही समयसम्म टेलिफोनमा कुराकानी भए पनि अहिले १२ वर्ष भइसक्यो, सविताले श्रीमान्को आवाज सुन्न नपाएको । ‘व्यर्थैमा जोवन गयो,’ सविताले भनिन् । कसको मुख हेरेर बस्ने त्यो घरमा । बढ्दो उमेरसँगै सविताले थुप्रै वर्ष श्रीमान्को पर्खाइमा बिताइन्, तर उनका श्रीमान् फर्केनन् । सविताले भनिन्, ‘धेरै कोसिस गरेँ उहाँलाई नेपाल फर्काउन, तर सकिनँ ।’
सविताका अनुसार उनका श्रीमान्को परिवारसँग सम्पर्क हुने गर्छ । ‘आँखाले देखेको छैन,’ सविताले भनिन्, ‘उहीँ बिहे गरेर बसेका छन् रे ।’ ‘सासूससुराले रुखमा चढेको मान्छे भुइँमा झरिहाल्छ, धैर्य गर भन्छन् । यत्तिका वर्ष उनलाई पर्खंदैमा बिताएँ, ढल्कँदो उमेरसँगै सहाराको खाँचो हुँदो रै’छ,’ अल्पकालीन सेवा केन्द्रमा श्रीमान्को सत्यतथ्य बुझी न्याय पाऊँ भन्दै उजुरीका लागि आएकी सविताले भनिन्, ‘मैले पहिले नै उनको–मेरो सम्बन्धबारे छिनोफानो गर्नुपर्ने थियो, आमाबाबुकी एक्ली छोरी घर बिग्रियो भने इष्टमित्रले कुरा काट्लान्, एक दिन त फर्कनुहोला नि भन्दै कुर्दै गर्दा यत्तिका वर्ष बितिसक्यो, तर उहाँ आउनुभएन ।’ सविताले गला अवरूद्ध पार्दै भनिन्, ‘श्रीमान्सँगको सम्बन्ध राम्रो नभएपछि घरपरिवारबाट पनि हेला भइँदो रै’छ ।’ उनका श्रीमान् अहिले हङकङमा छन् ।
देशमा बढ्दो बेरोजगारीका कारण विदेसिने पुरूष थुप्रै छन् । कतिपय आफ्नो घरपरिवार सम्झेर फर्कन्छन् त कतिपय उतै विवाह गरेर बसेका कारण नेपालमा रहेका उनका श्रीमती र छोराछोरीको बिचल्ली भएको छ । बाग्लुङकी झरना (नाम परिवर्तन) का दुई छोरा छन् । नेपालमा बसेर दैनिक छाक टार्न समस्या भएपछि झरनाका श्रीमान् ऋण गरेर विदेसिए । उनलाई विदेश पठाउनकै लागि झरनाले थुप्रै ठाउँमा आफू जमानी बसेर ऋण खोजेकी थिइन् । उनका श्रीमान् पोर्चुगल गएको चार वर्ष भइसक्यो । विदेश गएको दुई वर्षसम्म श्रीमान्ले पैसा पठाए । ‘टेलिफोनमा थुप्रै सुख–दुःखका गफ हुन्थे’, झरनाले श्रीमान्सँगको टेलिफोन कुराकानी सम्झँदै भनिन्, ‘थुप्रै पटक फोन गर्न कोसिस गरेँ, तर उनको मोबाइल आजभोलि केटीले उठाउँछे, उनीसँग सम्पर्क भएको छैन ।’
विदेसिएका श्रीमान्बाट भएको यस्ता व्यवहारका कारण थुप्रै महिला मानसिक रोगको सिकार भएका छन् । लाउन–खान नदिने, घर निकाला गर्ने, कुटपिट गर्नेजस्ता अमानवीय व्यवहार समाजमा प्रस्ट रुपमा देखिए पनि महिलाले भोग्ने मानसिक समस्याबारे समाज पनि बेखबर रहन्छ । विदेसिएका श्रीमान्को बेवास्ताकै कारण पाँच वर्षीया छोरी सहजताकी आमा गीता (नाम परिवर्तन) अहिले सदरमुकामका होटलमा भाँडा माझ्न विवश छिन् । बाग्लुङ ताराखोलाकी गीताले सात वर्ष पहिले म्याग्दीका डोलबहादुरसँग विवाह गरेकी थिइन् । विवाहलगत्तै विदेसिएका श्रीमान्ले सदरमुकाम आएर बस्न भनेपछि गीता पनि काखकी छोरीसँगै सदरमुकाममै बस्न थालिन् । ‘सुरूसुरूमा श्रीमान्ले पैसा पनि पठाए, बेलाबेलामा फोन सम्पर्क पनि हुने गथ्र्यो’, गीताले भनिन् । तर, अहिले उनीहरुबीचमा कुनै सम्पर्क छैन । न पैसा पठाउँछन्, न त फोन नै गर्छन् ।
श्रीमान्ले बेवास्ता गर्न थालेपछि छोरी अनि आफ्नो पेट भर्नकै लागि गीता अहिले सदरमुकामका दुईवटा होटलका भाँडा माझ्ने काम गर्छिन् । ‘घर फर्केर जाऊँ भने पनि ज्याला मजदुरी नगरी खान पुग्दैन’, छोरी पनि स्कुल जान थालेको बताउ“दै तीन कक्षा पढेकी गीताले छोरीको भविष्यका लागि पनि सदरमुकाममै सङ्घर्ष गर्ने बताइन् । श्रीमान्को र आफ्नो सम्बन्ध राम्रो छैन भन्ने थाहा पाएपछि छिमेकीले पनि हेप्ने गरेको गीताले गुनासो गरिन् । भनिन्, ‘सहयोग गर्ने ठाउँमा उल्टै नानाथरी कुरा मात्र काट्छन् ।’ तीज, दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा पनि न माइत जान मन लाग्छ, न घर । चाडबाडको दिन सदरमुकाममा लिएको एउटा अँध्यारो कोठामा छोरी र आफूले दिन काट्ने गरेको गीताले बताइन् । श्रीमान्सँग गीताको सम्पर्क नभए पनि परिवारसँग कुराकानी हुने गरेको र सासूससुरा अहिले पोखरामा बस्दै आएका छन् । गीतालाई पहिला–पहिला त श्रीमान् आउ“छन् जस्तो लाग्थ्यो, आजभोलि त आशै मरेको छ ।
महिला विकास कार्यालय–अन्तर्गतको अल्पकालीन सेवा केन्द्र बाग्लुङमा आजभोलि विदेसिएका श्रीमान्ले बेवास्ता गरेका महिला उजुरीका लागि आउने गरेको सेवा केन्द्रकी प्रमुख शर्मिला भण्डारीले बताइन् । भनिन्, ‘यस्ता मुद्दा पछिल्लो समयमा मात्र आउन थालेका छन्, यसको कारण उनीहरुमा आएको चेतना हो । हाम्रो समाजका अधिकांश पुरूष रोजगारीको सिलसिलामा विदेसिएका छन्’, भण्डारीले भनिन्, ‘तिनीहरुमध्येबाट कतिपयले यस्तो व्यवहार गर्ने गरेका छन् ।’ समाजमा अझै थुप्रै यस्ता मुद्दा छन् । तर, समाज र परिवारबाट यस्ता महिलालाई हेर्ने दृष्टिकोण नराम्रो हुने भएकाले ती महिला खुल्न सकेका छैनन् । सेवा केन्द्रले पीडकको परिवारसँग सोधपुछ गरी यस्ता मुद्दामा पीडित महिलाको इच्छाअनुसार उनीहरुलाई न्याय दिलाउन पहल गर्छ । भण्डारीका भनाइमा यस्ता मुद्दा दर्ता हुने क्रम बढ्दै छ ।
यस्ता घटनाले समाजमा विखण्डन ल्याउने महिला अधिकारकर्मी शकुन्तला शर्माको भनाइ छ । शर्माले भनिन्, ‘श्रीमान्को यस्तै व्यवहारका कारण थुप्रै महिला अलपत्र परेका र केहीले आत्महत्या गरेका छन् ।’ शर्माका भनाइमा अरुको जिन्दगी बर्बाद पार्ने दोषी जुनसुकै देशमा भए पनि खोजेर कारबाही गरिनुपर्छ ।
महिला विकास अधिकृत लक्ष्मी जीसी कार्कीले पीडित महिला अब खुलेर बाहिर आउनु पर्ने बताइन् । मानिस सुविधाभोगी हुने भएकाले सेवा, सुविधा युरोपियन देशमा बढी हुने कारण तिनै देशबाट घर नफर्कनेको सङ्ख्या बढी रहेको जीसीको भनाइ छ । यस्तो खालको हिंसाबाट पीडित महिलाको सङ्ख्या बढी भए पनि जिल्लामा उजुरी गर्ने महिलाको सङ्ख्या ५–६ वटा मात्र रहेको उनको भनाइ छ । श्रीमान्बाट हुने यस्तै व्यवहारका कारण महिलाको आधारभूत अधिकार खोसिएको भन्दै कार्कीले राज्यले यस्ता पीडकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताइन् । भनिन्, ‘यस्ता मुद्दा लुकाइँदा पीडकलार्ई प्रोत्साहन मिल्छ, पीडितलाई झन् पीडा ।’ घरेलु हिंसासम्बन्धी उजुरी प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय निकाय अथवा सीधै अदालतमा पनि दिन सकिने कार्कीले बताइन् ।
पुनरावेदन अदालत बार इकाइ बाग्लुङका अध्यक्ष राम शर्माले यस्ता खालको हिंसा नियोजित घरेलु हिंसाभित्रको मानसिक हिंसा भएको बताए । बढीजसो विदेसिएका पुरूषबाट यस्तो खालको हिंसा हुने भन्दै शर्माले महिलाको न्यायका लागि सरकारले पीडकलाई फिर्ता बोलाउन पहल गर्नुपर्ने बताए । अहिलेसम्म सरकारले गम्भीर प्रकृतिका मुद्दामा बाहेक पीडकलाई नेपाल झिकाउन पहल नगरेको शर्माको भनाइ छ । यस्ता प्रकृतिका सबै पीडित खुल्न नसकेका कारण जिल्लामा यति नै पीडित छन् भनेर भन्न नसकिए पनि बाग्लुङमा विदेश जानेको सङ्ख्या अत्यधिक भएका कारण यस्ता पीडित बढी भएको अनुमान छ । कानुनअनुसार यसरी महिलालाई शारीरिक र मानसिक हिसाबले हिंसा गर्ने पीडकलाई दुई हजार पाँच सयदेखि पाँच हजार रूपैयाँ जरिवाना गर्ने र ६ महिनासम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा २०(३) मा कुनै पनि महिलाविरूद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानुनद्वारा दण्डनीय हुनेछ भन्ने उल्लेख छ ।
(उषा बाग्लुङ एफएमका कार्यक्रम उत्पादक हुन् ।
Discussion about this post