भरतपुर । युद्धकाल होस् या शान्तिकाल चितवन पार्टीको नेतृत्वमा रहेका एकीकृत नेकपा (माओवादी) का केन्द्रीय अध्यक्ष प्रचण्डका नातेदारहरुलाई मतदानबाट पहिलो पटक जिल्ला नेतृत्व चुन्दा भने झट्का लागेको छ ।
चितवन जिल्ला सम्मेलनमा उनका नाता सम्बन्धितहरु कमजोर देखिएका छन् । एकीकृत नेकपा
(माओवादी) चितवनको छैटौं जिल्ला सम्मेलनमा जिल्ला कार्यसमिति र राष्ट्रिय सम्मेलन प्रतिनिधिका लागि निर्वाचन भएको थियो ।
बुधबार घोषित मत परिणाम–अनुसार जिल्ला कार्यसमितिमा चित्रबहादुर श्रेष्ठले सर्वाधिक ४०० मत पाएका छन् । कुल ४९६ जना प्रतिनिधि रहेकोमा ४७९ जनाले ३८ जना जिल्ला कार्य समिति चयनका लागि मतदान गरेका थिए ।
निर्वाचित ३८ जनाबाट पदाधिकारीहरु चयन हुने छन् । सर्वाधिक मत पाएका श्रेष्ठ अध्यक्ष पदका दाबेदार पनि हुन् । अध्यक्ष पदका अर्का दाबेदार घनश्याम दाहालले २९७ मत पाएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालका नातेदार समेत रहेका घनश्याम मत परिणामअनुसार आठौं स्थानमा आए । उनी सशस्त्र संघर्षका बेलामात्रै नभएर दोस्रो पटक भएको संविधानसभा निर्वाचनसम्म पनि जिल्लामा पार्टीको नेतृत्व गरेका
थिए । मत परिणाममा कमजोर देखिए पनि उनले अध्यक्षको दावी छोडेका छैनन् ।
पार्टीको राष्ट्रिय सम्मेलन पछाडि जिल्ला पदाधिकारीहरुको चयन हुने एक नेताले जानकारी
दिए । वैचारिक रुपमा श्रेष्ठ पनि अध्यक्ष पुष्पकमल दाहाल पक्षकै
हुन् । तर केन्द्रीय अध्यक्षसँगको नाता सम्बन्धका कारण घनश्यामले अध्यक्षमा दावी गरेका नेताहरुको भनाइ छ ।
जिल्ला सम्मेलनबाट निर्वाचित ३८ जनाको बैठकले जिल्ला अध्यक्षसहित, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तोक्नेछ । सहमति जुट्न नसके पदाधिकारीका लागि पनि ३८ जनाले मतदान गर्ने छन् । यसअघि पार्टीको जिल्ला सेक्रेटरी रहेका रमेश रेग्मी निर्वाचनमा पाचौं नम्बरमा रहेका
छन् ।
चितवनमा एकीकृत माआवादीभित्र अध्यक्ष दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठ पक्षधर समूह रहेको छ । दाहाल पक्ष मजबुद देखिए पनि अरु दुई पक्षबाट पनि राम्रै संख्यामा प्रतिनिधित्व हुन सकेको माओवादी स्रोतको भनाइ छ ।
चितवनबाट २२ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि चुनिएका छन् । जसमा खुसीराम पाख्रिनले सार्वधिक ४१८ मत प्राप्त गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहालले ३८४ मत प्राप्त गरी पाँचौ भए । नारायण दाहाल दोस्रो संविधानसभा निर्वाचनपछि उनलाई पार्टीको जिल्ला संयोजक तोकिएको थियो ।
रामपुरमा सोमबार उद्घाटन भएको जिल्ला सम्मेलनमा ३८ सदस्यीय जिल्ला कार्यसमितिका लागि ६९ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै, २२ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्नका लागि ४० जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
Discussion about this post