वीरेन्द्रमणि पौडेल
भूतपूर्व राजा ज्ञानेन्द्रले चितवनमा आएर नेपाली जनताले चाहे राजतन्त्र पुनः फर्किने बताए । यो उनको अकाट्य तर्क हो । यो तर्कलाई कसैले काट्न सक्दैन, किनभने जनता मात्रै अन्तिम ठूलो शक्ति हो जसले जे निर्णय गर्छ, त्यही सदर हुन्छ । बदर गर्ने आँट कसैको हुँदैन । संसारका सबै मुलुकहरुमा यही देखिएको छ । नेपालमा पनि जनताले आफ्नो शक्ति प्रदर्शन गरेर बेलाबेलामा नयाँनयाँ निर्णय गरेको प्रमाण छ, जुन निर्णयलाई बदर गर्न कसैले सकेको छैन । दुई–चार दिन जनतालाई गुमराहमा पार्नु वा पार्ने प्रयास गर्नु बेग्लै कुरा हो । जनताले शक्ति प्रदर्शनसहित गरेका केही निर्णयहरु यस्ता छन् ः
नेपालमा १०४ वर्षसम्म निरन्तर चलेको जहानियाँ राणा शासनको नेपाली जनताले अन्त्य गरे । राणा शासनजस्तो अवैज्ञानिक र अव्यावहारिक, व्यक्तिको सनकका भरमा चल्ने चलाइने, चाकडी गर्न जान्ने बाँच्न सक्ने र नसक्ने नजान्नेहरु बाँच्न नसक्ने शासनको जनताले अन्त्य गरे । त्यो शासन अन्त्य गरेपछि फेरि त्यही वा त्यही खालको शासन व्यवस्था जनताले स्थापना गरेनन्, नयाँ व्यवस्था स्थापना गरे । जनताले आफैँ शासनमा सहभागी हुन चाहे, अर्थात् आफ्ना विश्वासिला प्रतिनिधिमार्फत शासन चलाउने चाहनाबमोजिम संसदीय व्यवस्थाको स्थापना गरे । परिपक्व नभइसकेको व्यवस्थामा धमिरा लाग्यो । अर्थात्, राजा महेन्द्रले अहिलेलाई प्रजातन्त्रभन्दा राष्ट्रियता मजबुत बनाउनुपर्छ भन्ने नाममा जनताले स्थापना गरेको दलीय व्यवस्थामाथि २०१७ सालमा प्रतिबन्ध लगाइदिए । उनले लगाएको प्रतिबन्ध जनताले रूचाएनन् । त्यो प्रतिबन्धविरूद्ध लगातार ३० वर्ष जनताले संघर्ष गरिरहे । आखिरमा जनताको निर्णय फेरि लागू भयो । पुनः बहुदलीय प्रजातन्त्र २०४६ सालमा स्थापना भयो । तर, केही नेताहरुको असक्षमताका कारण मुलुकमा शासन व्यवस्था ठीक तरिकाले सञ्चालन भएन । भ्रष्टाचार मौलायो, महँगी बढ्यो । शिक्षा र स्वास्थ्य क्षेत्र अस्तव्यस्त भयो । दुनियाँका देशहरुमा शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गराउने प्रक्रिया अघि बढ्दै गर्दा नेपालमा निजीकरण गरियो । मान्छे बाँच्ने र विकसित हुने मुख्य आधार शिक्षा र स्वास्थ्य नै धान्न नसक्ने गरी महँगियो । दलको सरकारप्रति जनताले चित्त दुखाए ।
यसैबीच, २०५२ सालमा आफूलाई माओवादी बताउने नेपाली जनताको एउटा हिस्साले जनयुद्धको सुरूवात ग¥यो । राजा वीरेन्द्र परिवारैसहित राजदरबारभित्र गोलीको शिकार भएपछि राजगद्दीमा उक्लिएका ज्ञानेन्द्र आफैँ देशको राजा, आफैँ मन्त्रिपरिषद्को अध्यक्ष भएर देश हाँक्ने निर्णयमा पुगे । जनतालाई ज्ञानेन्द्र राजाको निर्णय तत्कालै मन नपरेको होइन, यिनले वास्तविक भ्रष्टाचारीलाई पाता कस्छन् कि, महँगी नियन्त्रण गर्छन् कि, जनतालाई राहतका कार्यक्रमहरु ल्याउँछन् कि जस्ता आशामिश्रित आँखाले राजदरबारतिर हेरिरहेका थिए । तर, राजा ज्ञानेन्द्र चुके, यिनले जनताको कुरै बुझेनन् । जनताको इच्छा र आवश्यकताभन्दा बिलकुलै बाहिर गएर यिनले राजनीतिज्ञहरुलाई पक्रिन थाले । मन्त्रिपरिषद् निर्माण गर्दा सर्वाधिक अलोकप्रिय व्यक्तिहरु छानीछानी भर्ती गरे । राजाको निर्णय गर्ने तरिका जनतालाई मन परेन । जनताले राजाको सक्रियताविरूद्ध जाने निर्णय गरे । त्यसको परिणाम, राजा दरबारबाटै बाहिरिनु प¥यो ।
यतिबेला फेरि दरबारबाट बाहिरिएको सात–आठ वर्षपछि उनी जनताले चाहे राजतन्त्र फेरि फर्किने भन्दै चितवनजस्तो अति उच्च राजनीतिक चेतना भएको जनताका माझमा आएका छन् । उनको भनाइबाट चितवन मात्रै नभई सिंगो मुलुक तरंगित भएको छ । सुस्तसुस्त गतिमा मुलुकभित्र के साँच्चै पुनः राजतन्त्र फर्किन सक्ला ? बहस प्रारम्भ भएको छ । यही बहसको सेरोफेरोमा रहेर बिनापूर्वाग्रह केही शब्द निर्माण गरी चितवन पोष्ट दैनिकमार्फत नेपाली जनताको माझमा पु¥याउने जमर्को गरिएको छ ।
नेपालमा विक्रम सम्वत् २०६२ सालको अन्तिमसम्म राजतन्त्र, कम्युनिस्ट र लोकतन्त्रवादी बताइने नेपाली कांग्रेस गरी मुख्य रुपमा तीन शक्तिले सत्ताशक्ति हत्याउने प्रयास गरिरहेका थिए । राजा दलहरुलाई एकापसमा जुधाइरहेका थिए । नेपाली कांग्रेस राजालाई प्रयोग गरेर माओवादीलाई तह लगाउन चाहन्थ्यो । माओवादी सुटुक्क राजासँग मिलेर कांग्रेसलगायतका दलहरुलाई ठीक पार्न चाहन्थ्यो । राजा कहिले माओवादीलाई कहिले कांग्रेसलाई उचालिरहन्थे । खेल यो तरिकाले खेलिँदै थियो । एकले अर्कोलाई निषेध गर्न तेस्रोको सहयोग लिने योजना बुनिएको थियो ।
एक दिन यस्तो आयो, तत्कालीन राजा ज्ञानेन्द्रको सिपाहीले खतरनाक राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालाको कपाल नभएको टाउकामा लट्ठी बजारे । लट्ठीको चोट खप्न नसकेर गिरिजाप्रसाद काठमाडौँको कालोपत्रे तातो सडकमा डङ्रङ्गै पल्टिए । बेहोस भएर होसमा आएपछि यिनले संकल्प गरे, “मलाई लट्ठी हान्ने राजतन्त्र अब फ्याँक्छु ।” यिनले तुरून्तै आफ्नो भयंकर ठूलो शत्रु माओवादीसँग वार्ता अगाडि बढाए । गिरिजा संवैधानिक राजतन्त्र छाड्न तयार भए । माओवादी हतियार बिसाएर गणतन्त्रमा आउन तयार भए । २४० वर्षसम्म नेपालमा जरा गाडेर बसेको राजतन्त्र यी दुई पक्ष र केही राजनीतिक दल मिल्दैमा ढल्ने वा हार खानेवाला थिएन । दलहरुले छिमेकी राष्ट्रको पनि आशीर्वाद प्राप्त गरे । छिमेकीले प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी र गिरिजाप्रसादले नेतृत्व गरेका कांग्रेससहितका केही दलहरुलाई टुप्पी बाँधेर एकढिक्का बनाइदियो । छिमेकीले यो खालको भूमिका निर्वाह गर्नुमा ज्ञानेन्द्रसँग छिमेकी रिसाएको अवस्थालाई संकेत गर्ने गरिएको छ ।
सार्क मुलुकस्तरीय सम्मेलनमा बोल्दाका बखत ज्ञानेन्द्रले छिमेकी मुलुक भारतले अफगानिस्तानलाई सार्क सदस्य दिने मनशाय व्यक्त गर्दा “अफगानिस्तानलाई सदस्यता दिने हो भने चीनलाई पनि सदस्यता दिनुपर्छ” भन्ने भनाइ व्यक्त गरेर भारतलाई चिढ्याए । चिढिएको भारतले माओवादी र गिरिजाप्रसाद नेतृत्वका दलहरुलाई मितेरी साइनो गाँसिदियो । भारतभूमिमा १२ बुँदे सम्झौता गरेर नेपालको सडक तताउन फर्किएका दलहरुले राजतन्त्रविरूद्ध भीषण आन्दोलन छेडे । २४० वर्षे राजतन्त्रले रक्षात्मक लडाइँ लड्यो । १९ दिन थेगियो । १९ दिनपछि हार मान्यो र हात उठायो । ज्ञानेन्द्र राजाले राजदरबार छाडे । “सुरूमा शीतल निवास हुँदै डाँडातिर बस्दै गर्नू उपयुक्त समयमा बेबी किङको कुरा उठाएर राजतन्त्र बहाली गरिदिऊँला”, गिरिजाले तत्कालीन राजा ज्ञानेन्द्रलाई यही आश्वासन दिएका थिए । सायद, दलहरु र राजाबीचमा कुनै खालको लिखित सम्झौता पनि भएको थियो कि ? यो रहस्य आजसम्म न त भूतपूर्व राजा ज्ञानेन्द्रले कसैलाई प्रमाणसहित बताएका छन् न दलहरुले कतै कुरो चुहाएका छन् ।
ज्ञानेन्द्र यतिबेला धार्मिक भ्रमणका नाममा जनताको भावना बुझ्न हिँडिरहेका हुन् । यो सत्य सबै तहका नेपालीलाई थाहा छ । यति नै बेला राजा किन गाउँगाउँ डुल्दै जनसमर्थन बटुल्न लागिपरेका छन् ? जवाफ सजिलो छ । राजालाई दरबारबाट लखेटेपछि सबै ठीकठाक हुन्छ भन्थे दलहरु, तर भएन । तोकिएको समयमा संविधान बनेन । फेरि दोश्रो पटक निर्वाचित संविधानसभाले संविधान बनाउला नबनाउलाको स्थिति आज पनि छ । राष्ट्रको सर्वांगीण अवस्था बिग्रिएको छ । राष्ट्रियता कमजोर भएकै छ । विदेशी चलखेल र हस्तक्षेप देखिने गरी भएको छ । कुल मिलाएर राजनीतिक दलहरुले मुलुकलाई सकारात्मक दिशा दिन नसकेकै अवस्था आज छ भने यही मौकामा भूतपूर्व राजा ज्ञानेन्द्रले पुनः राजतन्त्र फर्काउन माग गरेका छन् । एक कोणबाट हेर्दा राजावादीहरु शक्तिशाली पनि भएका छन् । कमल थापाको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २४ सदस्य लिएर संविधानसभामा प्रवेश गरेको छ । संसद्मा राजतन्त्र बहालीको माग उठाउन सक्ने शक्ति पुगेको छ भने यता ज्ञानेन्द्र “कसैलाई पनि निषेध नगर” भन्दै आफ्नो बहालीको माग गरिरहेका छन् ।
अब सीधा प्रश्न उठेको छ– के यो मुलुकमा मरिसकेको राजतन्त्र फेरि ब्युँतिन सम्भव छ ? ज्ञानेन्द्र श्रीपेच लाएर फेरि शासनमा आउँछन् ? त्यति सजिलो छैन । आज पनि जनताको ठूलो हिस्सा नेपाली कांग्रेस, एमाले र एमाओवादीलगायतका दलहरुलाई विश्वास गर्छन् । राजतन्त्र फेरि फर्किन आज ती दललाई विश्वास गर्ने जनता राजतन्त्रको पक्षमा खुलेर आउनुपर्छ । २०६२÷६३ को आन्दोलनताका जसरी जनता राजतन्त्र मुर्दावादको नारासहित सडकमा उत्रिएका थिए, त्यसरी नै राजतन्त्र जिन्दावाद भनेर सडकमै आउनुपर्छ । त्यो स्थिति अहिलेलाई देखिँदैन । हदै भए, उत्पातै भएछ भने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली जनता एक पटक सडकमै ओर्लिएर संवैधानिक राजतन्त्र बहाली गर भनेछन् भने पनि ठूला दलहरुले “हस्” नभनेसम्म र दक्षिण छिमेकी भारतले हरियो झन्डा नदेखाएसम्म भूतपूर्व राजाको पुनः गद्दी आरोहण गर्ने सपना सपनामै सीमित हुने छ । यसमा कसैले शंका नगर्दा हुन्छ भने उनको यसपालिको चितवन उपस्थितिले सबै पेसाका नेपालीलाई झस्काउन भने झस्काएकै छ– “के कतै फेरि राजतन्त्र ब्यँुतिने त होइन ?”
Discussion about this post