स्वतन्त्रता मानिसको एउटा स्वाभाविक गुण हो । तर, के तपाईंलाई थाहा छ, वास्तविक स्वतन्त्रता कहाँबाट आउँछ ? वास्तविक स्वतन्त्रता मानिसको हृदयबाट आउँछ । यद्यपि हामीमध्ये धेरै मानिसहरू आफूले आफूलाई स्वतन्त्र ठान्दछौँ तर स्वतन्त्र हुँदैनौँ । किनभने, मानिस काम, क्रोध, लोभ, मोह आदिको जञ्जालमा फसेको छ । उसले यो कुरालाई बिर्सिसक्यो– “वास्तविक स्वतन्त्रता हृदयभित्रबाट नै आउँछ ।” मानिसले यसलाई चिन्न थालेपछि उसले वास्तविक स्वतन्त्रता पनि महसुस गर्न थाल्नेछ ।
एउटा नदीलाई नियाल्नुहोस् । नदी स्वतन्त्रतापूर्वक बहन्छ । उसले कुन बाटोबाट बहनुपर्छ भनेर कसैसँग सोध्दैन । उसले आफ्नो बाटो आफै चुन्छ । हुन सक्ला बाटोमा उसले चट्टानको अवरोधलाई सामना गर्नु परोस् । चट्टानले त बाटो बदल्दैन तर पानी छेउतिरबाट आफ्नो बाटो बनाएर हिँड्छ । चट्टानले सोच्दो हो– मैले बाटो बदलिँन त्यसैले मेरो जित भयो । तर, उसलाई पानीको क्षमताका बारेमा थाहा छैन । पानीमा एउटा लगनशीलता हुन्छ । बिस्तारै–बिस्तारै पानीले चट्टानलाई पनि काट्न थाल्छ । समय आएपछि चट्टानले त्यस स्थानबाट विस्थापित हुनुपर्छ । अनि, पानी त्यही बाटोबाट बग्न थाल्छ । सबै उपत्यकाहरू पानीको यही शक्तिका उदाहरण हुन् । एकदमै नम्रतापूर्वक पानीले आफ्नो प्रयासलाई छोड्दैन । ऊ बगिरहन्छ अनि बिस्तारै–बिस्तारै चट्टानलाई पनि खियाइरहन्छ । अन्ततोगत्वा कठोर चट्टानले विनम्र अनि नरम पानीका अघि झुक्न विवश हुनुपर्छ ।
मानिसले विनम्रता र मानवताको अभ्यास गरेर आफ्नो हृदयमा रहेको शान्तिको अनुभव गरेर जीवनलाई सफल तुल्याउन सक्छ । किनभने, हामी जीवनमा जुन कुराको सबैभन्दा धेरै अभ्यास गर्छौँ, त्यसैमा अभ्यस्त हुन्छौँ । यदि हामीले क्रोधको अभ्यास ग¥यौँ भने त्यसैमा अभ्यस्त हुन्छौँ । रिस उठेपछि सोच–विचार गर्ने सबै कुरा समाप्त हुन्छ । त्यसै गरी, मानवताको अभ्यास ग¥यौँ भने हामी साँच्चै त्यसैमा पोख्त हुन्छौँ । सत्यताको अभ्यास ग¥यौँ भने सत्यतामै पोख्त हुन्छौँ । हामीभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईं त्यसैमा अभ्यस्त हुनुहुनेछ । तपाईं यो कुरालाई विचार गर्नुहोस् । मानिस बन्नुहोस् किनभने तपाईं मानिस हुनुहुन्छ । तपाईं मानवतालाई बुझ्न सुरु गर्नुहोस् । मानिसको मानवता नै समाप्त भएको दिन ऊ मानिसका रूपमा रहँदैन । त्यसकारण मानवतालाई बुझ्नुहोस् । यो जीवन तपाईंलाई एउटा उपहारका रूपमा प्राप्त भएको छ । यसलाई स्वीकार गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।
तपाईंको जीवनको यात्रा तपाईंको पहिलो श्वासबाट प्रारम्भ भएको थियो । त्यसै समयदेखि यो श्वासको आउने–जाने क्रम रोकिएको छैन । यो जीवन रहेसम्म तपाईंका साथमा यो क्रम रहिरहन्छ । तपाईंको अन्तिम समयसम्म । तपाईंलाई थाहा छ, यो श्वास तपाईंभित्र आउँछ । यो श्वासमा ध्यान दिनुहोस् । जब तपाईं आफ्नो जीवनमा आइरहेको यो श्वासलाई महसुस गर्नुहुन्छ, यसले आनन्द अनि सन्तुष्टि ल्याउँछ । तपाईं जीवित हुनुहुन्छ भनेर आभारी हुुनुहोस् । यो अस्तित्वलाई सह्राना गर्नुहोस् ।
एउटा कथा छ । एकजना मानिस विदेशबाट आएका थिए । उनले हात्ती कहिल्यै पनि देखेका थिएनन् । एकदिन उनमा हात्ती हेर्ने इच्छा जाग्यो । उनी धेरै हात्तीहरू भएको एउटा गाउँमा पुगे । हात्तीलाई देखेपछि उनलाई निकै आश्चर्य लाग्यो । तिनीहरूको लामो सुँड, लामा दाँत अनि ठूला कान पनि हेरे । उनले सोचे– हात्ती त एकदमै ठूलो अनि शक्तिशाली हुँदोरहेछ । त्यसपछि उनले नियाले, हात्तीहरू त एकै ठाउँमा अडिएका छन् । अन्त कतै हिँडडुल गरिरहेका छैनन् । उनले हात्तीको मालिकलाई सोधे– “यी हात्तीहरू किन कतै गइरहेका छैनन् ? यिनीहरू किन यहाँ उभिरहेका छन् ?”
तब उनले देखे एउटा पातलो दाम्लोले तिनीहरूलाई बाँधिएको थियो । तिनीहरूलाई रुखमा बाँधेर राखिएको थियो । ती व्यक्तिले यसो सोचे– “यो हात्ती त यति धेरै शक्तिशाली जनावर हो । यिनीहरूको खुट्टामा बाँधिएको दाम्लो एकदमै मसिनो छ ! यसलाई त यिनीहरूले छिनाउन सक्छन् ।”
उनले हात्ती मालिकलाई सोधे– “के वास्तवमा यी हात्ती बलवान् छन् ?”
माहुतेले भने– “हो, अवश्य ! यिनीहरू अत्यन्तै शक्तिशाली हुन्छन् । यिनीहरू आफ्नो सुँडद्वारा स–साना सिन्कादेखि निकै गह्रुङ्गो रुखलगायत अन्य धेरै वजनदार वस्तुहरू पनि उठाउन सक्छन् ।”
तब ती व्यक्तिले भने– “फेरि यो डोरीलाई चुँडाएर किन भाग्न सक्दैनन् ?”
माहुतेले भने– “यिनीहरू छावा (हात्तीको बच्चा) हुुँदा यिनीहरूलाई यिनै दाम्लाले बाँध्ने गरिएको थियो । त्यतिखेर त यिनीहरू अहिलेका जस्ता बलवान् पनि थिएनन् । यो डोरीलाई चुँडाउन सक्दैन थिए । बिस्तारै–बिस्तारै यिनीहरू ठूला भए । अब त यिनीहरूलाई यो दाम्लोमा बाँधिएर रहँदारहँदै हामीले यो दाम्लोलाई चुँडाउन सक्दैनौँ भन्ने पनि लागिसकेको छ । त्यसकारण यिनीहरू बाँधिएर बसिरहन्छन् अनि कतै पनि जाँदैनन् ।”
यस्तै अवस्था हामी मानिसको पनि छ । हामी आफ्नो शक्तिलाई पहिचान गरिरहेका छैनौँ । हामीले आफ्ना शक्ति र क्षमताहरूलाई चिन्नु आवश्यक छ । किनभने, जतिखेर हामी बाल्यावस्थामा थियौँ– हामी कल्पनाको डोरीले बाँधिएका थियौँ । त्यसलाई चुँडाउन सक्दैन थियौँ । तर, अहिले हामी चुँडाउन सक्छौँ । यद्यपि हामीलाई त यस्तो पनि लाग्छ– हामीले त्यो कल्पनाको डोरीलाई तोड्नै सक्दैनौँ । त्यसकारण बाँधिइरहन्छौँ अनि दासजस्तै भएर यो जीवन व्यतीत गरिरहन्छौँ । दास उसको चाहिँ बन्दैनौँ जसको बन्नुपथ्र्यो । तर, उसको दास भएर बस्छौँ जसको दास भएर केही पनि प्राप्त हुँदैन ।
तपाईं पनि त्यही हात्तीजस्तै शक्तिशाली हुनुहुन्छ । यदि तपाईंले साँच्चै नै आफ्नो पाइला अघि बढाउन थाल्नुभयो भने त्यो डोरीमा कुनै त्यस्तो शक्ति छैन जसले तपाईंलाई रोक्न सकोस् । तपाईंले आपूmमा पहिलेदेखि नै विद्यमान वास्तविक साहसलाई अघि राखेर आफ्नो पाइला अगाडि बढाएपछि तपाईंको जीवन वास्तवमा बदलिनेछ । किनभने, त्यसपछि त तपाईं उनको हुनुहुनेछ जो तपाईंको मन मन्दिरमा बसेका छन् । तत्पश्चात् त्यो मन्दिरको ढोका खुल्नेछ । कोही अरूका लागि होइन, तपाईंकै लागि ।
(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि agps@mos.com.np लाई प्रयोग गर्न सक्नुहुनेछ ।)