भरतपुर । जनैपूर्णिमा, तीजलगायतका चाडहरु नजिकिँदै गर्दा खाद्यान्नको मूल्य पनि बढेको छ । बजारमा यतिबेला चिनीदेखि तरकारीसम्म, मैदादेखि तोरीको तेलसम्म मूल्य बढेको पाइन्छ ।
चिनीको खुद्रा मूल्यमा प्रतिकिलो पाँच रूपैयाँदेखि १० रूपैयाँसम्म बढेको छ । यस्तै, तोरीको तेलमा आधा लिटरमा तीन रूपैयाँसम्म बढेको छ । मैदामा प्रतिकिलो दुई रूपैयाँ बढेको छ । यस्तै, भारी वर्षाको अन्त्यै भएसँगै तरकारीको मूल्य पनि बढेको उपभोक्ताहरु बताउँछन् ।
किराना व्यवसायी संघ चितवनका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले चिनी, तोरीको तेल, मैदालगायतका सामग्रीको मूल्य बढेको बताए । उनका अनुसार चिनीको खुद्रा मूल्य ९० रूपैयाँसम्म पुगेको छ । अध्यक्ष श्रेष्ठले भने, ‘यसअघि चिनीको खुद्रा मूल्य प्रतिकिलो ८० रूपैयाँ थियो, अहिले होलसेल नै चिनीको मूल्य त्यति पुगेको छ, जसका कारण खुद्रा मूल्य प्रतिकिलो ८५ रूपैयाँदेखि ९० रूपैयाँसम्म पुगेको छ ।’ उनले बजारमा नेपालमै उत्पादन भएको चिनी सकिएपछि थप चिनी भारतबाट मगाउनुपर्दा चिनीको मूल्य बढेको बताउँछन् ।
आयातीत चिनीमा सरकारले ४० प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट लगाउँदै आएको छ, जसका कारण पनि आयतीत चिनीको भाउ बढी पर्ने व्यवसायी बताउँछन् ।
अध्यक्ष श्रेष्ठ भन्छन्, ‘नेपालका चिनी उद्योगहरुले उत्पादन गरेको चिनी सकियो, यहाँको चिनी सकिएपछि व्यवसायीहरुले चिनी भारतबाट मगाइरहेका छन् । भारतबाट चिनी मगाउँदा लागत बढेको छ भने चिनीको मूल्य पनि बढेर आएको छ ।’ बजार मूल्य हस्तक्षेपको भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजारमा चिनीको मूल्य बढेको हो । स्वदेशी उद्योगसँग समेत चिनीको मौज्दात सकिएपछि मूल्य बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
नेपालमा मासिक २० हजार टन र वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । यसबाहेक, दसैँतिहार र छठसम्म अतिरिक्त करिब ३५ हजार मेट्रिक टन चिनी माग हुन्छ । किराना व्यवसायी संघका अनुसार तोरीको तेलमा आधा लिटरको पोकामा तीन रूपैयाँसम्म बढेको छ भने मैदामा किलोको दुई रूपैयाँ बढेको छ । संघका अनुसार चना, केराउ, दाल, चामललगायतका खाद्यान्नको मूल्य यथावत् रहेको छ ।
किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘मैदाको होलसेल मूल्य नै किलोको ५२ रूपैयाँ पर्छ, खुद्रा मूल्य ६० देखि ६५ रूपैयाँसम्म पुगेको छ ।’ उनका अनुसार सनफ्लावर तेलको मूल्य यथास्थितिमा रहेको छ । फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका महासचिव जयराम पाण्डेले पनि एक साताअघि तरकारीको मूल्य बढेको र हाल यथास्थितिमा रहेको बताउँछन् । उनका अनुसार प्रतिकिलो टमाटर ७० देखि ८० रूपैयाँसम्म, करेला ५५ देखि ६० रूपैयाँसम्म, घिरौँला ५० देखि ५५ रूपैयाँसम्म, भिन्डी ३५ देखि ४० रूपैयाँसम्म, लौका ३० देखि ३५ रूपैयाँसम्म पुगेको छ । उनले भने, ‘भारी वर्षापछि तरकारीको मूल्य केही बढेको हो ।’
भारी वर्षाले चितवनमा उत्पादन भएका तरकारीहरु बाढीले नष्ट गरेपछि तरकारीको भाउ केही बढेको फलफूल तथा तरकारी थोक व्यवसायी संघले जनाएको छ ।
बर्खा लागेसँगै चितवनमा तरकारी उत्पादन कम हुने र भएका तरकारी पनि बर्खाले नष्ट गर्ने हुँदा बाहिरी जिल्लाबाट तरकारी आयात गर्नुपर्ने भएकाले पनि तरकारीको मूल्य केही बढेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार जिल्लामा उत्पादन भएको भन्दा बाहिरबाट तरकारी ल्याउनु परेपछि ढुवानी खर्च नै बढी पर्न जाने हुँदा तरकारी महँगो भएको हो ।
चितवनमा धादिङको चरौँदी, काठमाडौँ, काभ्रे, पालुङलगायतका स्थानबाट तरकारी आउँछ । यहाँको तरकारी पनि काठमाडौँ, पोखरालगायतको ठाउँमा जाने गरेको छ ।