‘उत्खनन’को आलोकमा घनश्याम पौड्यालको मूल्याङ्कन

अन‌ि यो पनि

–हरिहर खनाल

घनश्याम शर्मा पौड्याल नेपाली साहित्यका एक जना प्रतिभाशाली लेखक हुन् । उनी खास गरेर छन्दोबद्ध कविता, निबन्ध र वैचारिक तथा सांस्कृतिक लेख लेख्नमा असाघ्यै कुशल छन् । यस अतिरिक्त उनको कलम भाषा, साहित्य र शिक्षाका विविध पहलुहरुलाई केस्राकेस्रा पारेर केलाउने काममा पनि त्यति नै सक्रियतापूर्वक अगाडि बढेको देखिन्छ । यति हुँदाहुँदै पनि उनको यो लेखकीय व्यक्तित्व उनको जीवनको अत्यन्त मह¤वपूर्ण अर्को पाटो उनको राजनीतिक व्यक्तित्व र तत्सम्बन्धी कार्यव्यस्तता अनि जीवनको गोरेटोमा हिँड्दै जाँदा समय–समयमा आइपर्ने अरु सानातिना झन्झटहरुबाट प्रभावित भएर अलिकति ओझेलमा पर्न पुगेको महसुस हुन्छ । यो कुरा सायद लेखक घनश्याम स्वयंले पनि अनुभूत गरेको हुनुपर्छ ।

विवेक सिर्जनशील प्रकाशन प्रालिले उनको पहिलो कुति ‘उत्खनन’ बजारमा ल्याएको छ । यो लेखमा उनको त्यही कृतिका आलोकमा उनको लेखकीय व्यक्तित्वको मूल्याङ्कन गर्ने प्रयत्न गरिएको छ ।
विवेच्य कृति ‘उत्खनन’ लेखकले समयको विविध चरणमा विविध विषयमाथि केन्द्रित रहेर तत्तत् विषयमा अभिव्यक्त गरिएका उनका धारण वा विचारहरु हुन् । यस कृतिमा उनले हाम्रो समाजमा विद्यमान नारीप्रतिको दृष्टिकोण, परम्पराअनुसारको हिन्दुधर्म तथा संस्कृतिका कुराहरु, जातजातिको उत्पत्ति, हाम्रो समाजमा युगौँदेखि संस्कृतिको नाममा जरा गाडेर बसेको विकृति, सांस्कृतिक क्रान्ति र रुपान्तरणको सवाल, क्रान्तिकारीहरुको आचरण, विद्यमान शिक्षा प्रणाली र जनवादी शिक्षा, भाषा, साहित्य र विगतको दशकमा चलेको दसवर्षे जनयुद्ध आदि विषयलाई उनले आफ्नो लेखनीमार्फत उजागर गर्ने प्रयत्न गरेका छन् ।
घनश्यामको जीवन–जगत्सम्बन्धी विश्वदृष्टिकोण माक्र्सवादमा आधारित छ र त्यही दृष्टिकोणका आलोकमा उनले आफ्ना रचनाहरुलाई माक्र्सवादी सौन्दर्यशास्त्रको त्यहीअनुरुपको सौन्दर्यशास्त्रीय दृष्टिकोणका आधारमा प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । कतिपय लेखकहरु सिद्धान्ततः एउटा कुरा सोच्ने र व्यवहारमा अर्कै कुरा गर्ने गरेका उदाहरणहरु हाम्रो साहित्यको फाँटमा देख्न सकिन्छ, तर एक जना इमानदार लेखकको कलमले त्यस प्रकारको विसङ्गतिलाई प्रश्रय दिन सक्तैन । सही दृष्टिकोण भएको लेखकको भनाइ र गराइ एउटै हुन्छ, सिद्धान्त र व्यवहार समान हुन्छ । घनश्याम पनि यही श्रेणीका लेखक हुन् । उनी जे सोच्छन् र भन्छन् त्यही गर्छन् र लेख्छन् । उनीसित राख्ने र फार्ने दुईवटा कुरा छैनन् । उनको कृतिमा समावेश गरिएका रचनाहरुलाई आधार बनाएर गरिएको अध्ययनका आधारमा मैले यस्तो निक्र्योल निकालेको हुँ ।
कृतिको मूल पाठ सुुरू हुनुभन्दा अगाडि भूमिकाका रुपमा यसमा नेपाली वामपन्थी आन्दोलनमा विशिष्ट स्थान राख्ने चार जना व्यक्तित्वहरु, सर्वश्री मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’, मोदनाथ ‘प्रश्रित’ र सोनाम साथीका गहन मन्तव्य वा टिप्पणीहरु समावेश गरिएका छन् । यी विचारका अतिरिक्त, उनको कृतिको पूर्वभागका रुपमा लेखकको आफ्नो पनि छोटो टिप्पणी छ जसले लेखकलाई अझै राम्ररी बुझ्न मद्दत गर्दछ ।
अब यहाँ प्रस्तुत कृतिमा समावेश गरिएका लेखहरुको छोटो टिप्पणी पेश गर्ने प्रयत्न गरिनेछ । हिन्दु परम्परामा नारी उत्पीडन यस सङ्ग्रहको पहिलो रचना हो । यो रचनामा लेखकले हाम्रो परम्परागत सामाजिक संरचनामा सधैँ हेपिएका, चेपिएका र दोस्रो नागरिकका रुपमा अपमानित नारीहरुलाई कसरी दमन गर्ने, हेर्ने र चेप्ने गरिएको छ भनेर देखाउने प्रयत्न गरेका छन् र उनले त्यो सामन्ती परम्पराको घोर निन्दा र भत्र्सना गर्दै त्यस्तो परिपाटीको विरूद्ध र महिला मुक्तिको पक्षमा आवाज उठाएका छन् ।
स्थूल रुपबाट हेर्दा आजकल हाम्रो समाजमा केही फेरबदल आएको छ र नारीहरुलाई हेर्ने परम्परागत दृष्टिकोणमा पनि मात्रात्मक परिवर्तन आएको देखिन्छ, तर हाम्रो समाजको एउटा ठूलो भाग अझै पनि लेखक घनश्यामले औँल्याएको स्थितिमा छ र हामीहरु तिनै रूढीग्रस्त मान्यता, रीतिरिवाज, चालचलन र व्यवहारबाट पीडित छौँ । यसको मूलजरो भनेको हाम्रो अशिक्षा, पछौटेपन र त्यसैबाट सिर्जित हाम्रो समाजमा शेष रहेको दास मनोवृत्ति हो । हामीसित सही विश्वदृष्टिकोणको अभाव छ । यसो हुनुमा हजारौँ वर्षदेखि हाम्रो समाजमा प्रचलित पुरातनपन्थी सोच र विचारले भरिएका, यथास्थितिको पक्षपोषण गर्ने कर्मकाण्डीय ग्रन्थहरु र आदिकालदेखि तिनीहरुलाई एक पुस्ताबाट क्रमशः अर्को पुस्तामा हस्तान्तरण गर्दै ल्याउने ब्राह्मणवाद वा पुरोहितवाद हो भन्ने कुरा लेखकले सरल शब्दमा बताएका छन् । लेखक घनश्यामका यी लेखहरु पढ्दै जाँदा उनमा हाम्रो समाजमा प्रचलित र हिन्दुधर्ममा आधारित नीतिशास्त्र तथा ज्ञानदर्शनको अथाह भण्डार छ र उनी बढो निर्भीकतापूर्वक आफ्ना कुराहरु राख्न सफल छन् भन्ने कुरा महसुस हुन्छ । सरलता उनको अर्को विशिष्ट कला हो । उनले जुनसुकै कुरालाई पनि बढो सजिलो किसिमले सामान्यभन्दा सामान्य पाठकले पनि बढो सजिलो गरी बुझ्न सक्ने किसिमले प्रस्तुत गरेका छन् ।
विवेच्य कृतिमा समावेश गरिएको ‘गरूड पुराणको नरक आतङ्क र पितृदानको नाममा हुने महाशोषण’ लेखमा लेखकले हाम्रो धर्मभीरू हिन्दु समाजमा प्रचलित मृत्युसंस्कारसम्बन्धी कुराहरुको सन्दर्भमा हुने र गर्ने गरिएका गलत क्रियाकलापलाई उदाङ्गो पारेका छन् । त्यस्तै, तेस्रो लेखमा लेखकले हाम्रो परम्परागत समाजमा प्रचलित चाडपर्व हाम्रै संस्कृतिका अभिन्न अङ्ग हुन् र तिनीहरु हाम्रो समाज, हाम्रो सामाजिक व्यवस्था र आर्थिक व्यवसायबाट निर्माण भएका हुन् भन्ने मूल मान्यतामा आधारित रहेर हाम्रो समाजमा प्रचलित सानादेखि ठूलासम्मका चाडपर्वहरु कसरी प्रारम्भ भए र अहिले हाम्रो समाजमा तिनीहरुले कस्तो स्थान पाएका छन् अनि तिनीहरुलाई हामीले कसरी ग्रहण गर्ने भन्ने विषयमा उनले आफ्ना विचारहरुलाई प्रस्तुत गरेका छन् ।
त्यस्तै, दलितहरुको उत्पत्ति र स्थितिबारे धर्मशास्त्रीय एवं समाजशास्त्रीय दृष्टिकोण, हाम्रो प्रचलित सांस्कृतिक परम्परा र सर्वहारा सांस्कृतिक क्रान्तिको सवाल, सांस्कृतिक रुपान्तरण, महिला आन्दोलन र सांस्कृतिक तथा वैचारिक समस्याहरु, हाम्रो आचरण, विद्यमान शिक्षाप्रणली र जनवादी शिक्षाको सवाल, नेपाली भाषा र यसमाथि भएका आक्रमण र अतिक्रमण आदिबारे उनले आफ्ना विचारहरुलाई सुन्दर शैलीमा लिपिबद्ध गरेका छन् ।
संक्षेपमा भन्दा यो कृति हाम्रो समाजमा प्रचलित मृत्युसंस्कार, चाडपर्व, दलितजातिको उत्पत्ति, संस्कृति, भाषासाहित्य आदिबारे परम्परागत विचारहरुका विरूद्धमा नयाँ चेतनाको बीउ छर्ने नयाँ मान्यताका आधारभूत विचारहरुको एउटा सुसंगठित र पठनीय कृतिका रुपमा जिज्ञासु पाठकहरुका बीच देखा परेको छ । सामाजिक र सांस्कृतिक परिवर्तनका लागि यसरी नै निरन्तर कलम चलाइरहन लेखकलाई विशेष सफलता मिलोस् भन्ने कामना गर्दै अहिले कलम बिसाउने अनुमति चाहन्छु ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया