शिक्षा (लघु कथा)

अन‌ि यो पनि

एउटा छोराको आशैआशमा भरतराज अनि उनकी श्रीमती सगुनले पाँचवटी छोरी छोरी जन्माए । जहिले पनि छोरी छोरी जन्मिनुको मुख्य दोष सगुनमाथि थुपारियो । फलस्वरुप, उनी आफ्नै घरपरिवार र आफन्तहरुबाट बिस्तारै बिस्तारै अपहेलित हुन थालिन् । र पनि घरपरिवारको गाली अनि तिरस्कार सहँदै गइन् । हुँदाहुँदै स्वयं भरतराजले पनि घरपरिवारको दबाबले हो या अरु नै कुनै कारणले हो सगुनलाई नैं दोषी देख्न थाले । हुन त, उनी त्यही गाउँमा माध्यमिक तहका कहलिएका शिक्षक पनि हुन्, जसलाई समाज परिवर्तनका संवाहक पनि मानिन्छ ।
केही समयपश्चात् घरपरिवार अनि आफन्तहरुको सल्लाहबमोजिम एउटा छोराकै आशमा भरतराजले दोस्रो बिहे गरे ।
समयको अगाडि कसको के लाग्यो र ! परिणामस्वरुप, उनलाई घरपरिवार र आफ्नै लोग्नेबाट अलग्गै बस्न बाध्य पारियो । खनी–खोस्री खानका लागि उनलाई एक टुक्रो पाखो बारी दिइयो । भरतराजले सगुन अनि उनकी पाँच बैनी छोरीहरुप्रति कुनै जिम्मेवारी वहन गर्न आवश्यक ठानेनन् । उनी आफ्नो कर्तव्यबाट पूर्णरुपमा विमुख बने । ती पाँच बैनी छोरीहरुको पालनपोषण र शिक्षादीक्षामा सगुनले झेल्नुसम्मको दुःख झेलिन् । र पनि उनीहरुलाई बाबाको अभाव कहिल्यै नखड्कियोस् भन्नाका लागि घुलमिल हुने वातावरण भने सृजना गरिदिन्थिन् ।
छोरीहरु बिस्तारै हुर्किंदै गए । जब ती छोरीहरुले आफू र आफ्नो आमाप्रति बाबाद्वारा गरिएको व्यवहार बिस्तारै बुझ्न थाले उनीहरु स्वयं बाबाबाट आफ्नो दूरी लम्ब्याउनतिर लागे । अभावग्रस्त जीवन भोगेका उनीहरुले पढाइमा निकै ध्यान दिन थाले ।
एकदिन भरतराज कक्षामा पढाइरहेका थिए । सोही कक्षामा उनकी जेठी छोरी पनि पढ्थिन् । ‘सन्तान उत्पादन प्रक्रिया’ भन्ने विषयवस्तुमा उनी विद्यार्थीहरुलाई बुझाउँदै थिए । उनी कुशल शिक्षक त थिए नै । उनले पढाएको विषयवस्तुमा विद्यार्थीहरु सजिलै छर्लङ्ग पनि हुन्थे । त्यसैले, छोरा वा छोरी जन्मिनुमा पूर्ण जिम्मेवार महिला नभई पुरूष रहेछ भन्ने कुरा बुझ्नलाई विद्यार्थीहरुलाई धेरै बेर लागेन ।
‘सन्तान उत्पादन प्रक्रिया’ भन्ने विषयमा पढाइसकेपछि भरतराजले ‘तिमीहरु यो विषयमा छर्लङ्ग भयौ त ?’ भन्दै प्रत्येक विद्यार्थीलाई प्रश्न गर्न थाले । सबै विद्यार्थीहरुले आफूहरु यो विषयमा स्पष्ट भएको कुरा बताए । तर, यत्तिकैमा उनकी जेठी छोरीले स्वयं भरतराजलाई प्रश्न गरिन्, ‘हामीले त स्पष्ट बुझ्यौँ, तर हजुरले बुझ्ने कहिले ?’

[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया