क्यान्सरपीडित मगरलाई एक लाख ६५ हजार सहयोग

अन‌ि यो पनि

भरतपुर । खर्च अभावमा उपचार गर्न नसकेका आतिश बराल मगरलाई आर्थिक सहयोग प्राप्त भएको छ । साउन १४ गतेको चितवन पोष्ट दैनिकमा ‘खर्च अभावमा उपचार गर्नै समस्या’ शीर्षकमा समाचार प्रकाशित भएपछि देशविदेशमा रहेका नेपालीहरुबाट नगद संकलन भएको थियो । अस्ट्रेलियाबाट भरतपुर–१२ निवासी आनन्द अर्याल र नेपालबाट रोट्रयाक्ट क्लब अफ भरतपुर हाइटमा आबद्ध उज्ज्वल अधिकारी र पलक क्षेत्रीको सक्रियतामा संकलित रकम एक लाख ६५ हजार दुई सय रूपैयाँ शुक्रबार मिलन टोल सुधार समितिकी अध्यक्ष ईश्वरी प्रधान, स्मल हेभन मोडल स्कुलकी सहप्राचार्य अञ्जना कँडेल क्षेत्री, रोट्रयाक्ट क्लब अफ भरतपुर हाइटका अध्यक्ष सन्दीप अधिकारी, पूर्वअध्यक्ष दिवस श्रेष्ठलगायतको उपस्थितिमा बिरामीलाई हस्तान्तरण गरिएको हो ।
अर्यालको पहलमा मात्रै अस्ट्रेलियाको सिड्नीस्थित लनसेस्टन, मेलवर्नमा बसोवास गर्ने २४ जनाबाट ९१ हजार एक सय रूपैयाँ तथा अधिकारी र पलक क्षेत्रीको सक्रियतामा नेपालबाटै १४ जनाबाट ७४ हजार एक सय रूपैयाँ आर्थिक संकलन भएको थियो । नेपालमा संकलित ७४ हजार एक सय रूपैयाँमध्ये काठमाडौँ निवासी विमला थापामगरले मात्रै ५० हजार रूपैयाँ उपलब्ध गराएकी थिइन् ।
धादिङको सराङघाट घर भई विगत केही वर्षदेखि भरतपुर–२, आँपटारीमा बस्दै आएका ३८ वर्षीय मगरको उपचार आर्थिक अभावका कारण रोकिएको समाचार प्रकाशित भएपछि नेपाल र अस्ट्रेलियाबाट आर्थिक संकलन भएको हो । अन्ननलीमा क्यान्सर भएका मगरको अप्रेसनका लागिमात्रै चिकित्सकले कम्तीमा पनि तीन लाख रूपैयाँ जुटाउन भनेपछि बिरामी अस्पताल नै नगई बसेका थिए । श्रीमान्को उपचारमा पैसा जुट्न थालेपछि उपचार गर्ने आँट आएको मगरकी श्रीमती शर्मिलाले बताइन् । उनका अनुसार आइतबार अप्रेसन गर्ने तयारी भएको छ । यसअघि साउन १५ गते अप्रेसन गर्न अस्पतालले समय दिएको थियो ।
तर, चिकित्सकले भनेजति पैसा अझै पनि संकलन नभएकोले थप सहयोग जुटाउन आवश्यक रहेको अस्टे«लियाबाट आर्थिक संकलन गर्न सक्रिय भूमिका खेलेका आनन्द अर्यालले बताए । ‘अप्रेसनका लागि अझै पनि पैसा नपुग्ने हुँदा इच्छुक महानुभावहरुले सहयोग गर्न सक्नुहुनेछ’, उनले भने । मगर दम्पती दुई छोराका साथ आँपटारीमा बस्दै आएका छन् । दैनिक ज्याला मजदुरी गरेर खाने मान्छे आफैँ बिरामी भएपछि परिवारमा साँझ–बिहानको छाक टार्नसमेत समस्या भएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया