नेपाल विद्युत् प्राधिकरणले नयाँ मिटर जडान रोकेपछि सेवाग्राही मर्कामा परेका छन् । केन्द्रबाटै मिटर नआएको भन्दै तीन महिनादेखि नयाँ मिटर जडान रोकेपछि सेवाग्राही समस्यामा परेका हुन् । सेवाग्राहीहरु एकातिर लोडसेडिङको चर्को मारमा परेका छन्, अर्कोतिर नियमानुसार विद्युत् लाइन जडानबाट पनि वञ्चित हुँदै आएका छन् । विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानमा जुटेको भनिएको प्राधिकरणले नियमसङ्गत उपभोक्ताले पाउने आधारभूत सुविधा कटौती गरेर अन्याय गर्दै आएको छ । सेवाग्राहीलाई विद्युत् जडान गर्नबाट वञ्चित गराएर प्राधिकरणले विद्युत् चुहावट गर्न प्रश्रय दिइरहेको सेवाग्राहीको गुनासो छ । प्राधिकरणको भरतपुर शाखामा दिनहुँ नयाँ ग्राहक मिटर जडानका लागि आउँदै, फर्कंदै गर्नु परेको छ । ग्राहकबाट अधिक आवेदन दर्ता हुन थालेपछि प्राधिकरणले आवेदन नै रोकेको छ । प्राधिकरणको भरतपुर शाखाअन्तर्गत भरतपुर नगरपालिका, पश्चिम चितवनको १२ गाविस र देवघाटका पचास हजारभन्दा बढी ग्राहकले मिटर जडान गरेर बिजुली खपत गरिरहेका छन् ।
प्राधिकरणले मिटर जडान रोकेपछि नयाँ विद्युत् क्षेत्र विस्तार भएको माडीवासी झनै मर्कामा परेका छन् । वर्षौंदेखि विद्युत् सेवाबाट वञ्चित हुँदै आएका माडीवासीले विद्युत् क्षेत्र विस्तारपछि केही राहत पाएका थिए । प्रविधिको युगमा पनि प्राधिकरणबाट तत्कालै मिटर जडान गर्ने अवस्था नहुनु दुर्भाग्य हो । प्राधिकरणले नयाँ ग्राहकका लागि मिटर जडान गर्न अझै तीनदेखि चार महिनासम्म लाग्ने लाचारी प्रकट गरेको छ । ग्राहकका लागि छिटोछरितो सेवा दिनुपर्नेमा उसले मिटर बक्स खरिद प्रक्रिया अघि बढेको जनाएको छ । प्राधिकरणले उपभोक्ताको मागबमोजिम पर्याप्त मिटर बक्स स्टक राख्नुपर्छ । सेवाग्राहीलाई समयमै सेवा दिन सकेमात्र विद्युत् चुहावटको समस्या पनि केही हदसम्म न्यूनीकरण गर्न सहज हुन्छ । ग्राहकले समयमै विद्युत् नपाएपछि बाध्यात्मक परिस्थिति भन्दै विद्युत् चुहावट गर्ने सम्भावना यथावत् देखिएको छ ।
प्राधिकरणले एकातर्फ विद्युत् चुहावट गर्नेलाई कारबाही गर्ने भनेर अभियान सञ्चालन गरिरहेको छ । अर्कोतिर, अव्यवस्थित तवरबाट विद्युत् कटौती गरेर उद्योग कलकारखाना सञ्चालन गर्नेलाई समस्या उत्पन्न गरिरहेको छ । प्राधिकरणले निकालेको लोडसेडिङ तालिकाअनुसार नियमित विद्युत् प्रसारण नभएको भन्दै रत्ननगर उद्योग वाणिज्य संघले टाँडी वितरण केन्द्रमा ज्ञापन–पत्रसमेत बुझाएको छ । लोडसेडिङ तालिकाअनुसार भोल्टेजसमेत अपर्याप्त भएको भन्दै उद्योगी व्यवसायीहरुले ज्ञापन–पत्र बुझाएका हुन् । प्राधिकरणको अव्यवस्थित लोडसेडिङले कलकारखाना विस्थापित हुने अवस्थामा पुगेको
छ । विद्युत् चुहावट बढिरहेको छ । प्राधिकरणको ढिलासुस्तीले बक्यौतासमेत समयमै उठ्न सकेको छैन । वीरेन्द्रनगरको एक जल उपभोक्ता समितिले चौध वर्षदेखि बिजुलीको महसुल नबुझाए पनि लाइन काट्ने तथा महसुल उठाउने प्रक्रिया सुरू नगर्नु एउटा उदाहरण मान्न सकिन्छ । प्राधिकरणले यथाशीघ्र नयाँ ग्राहकलाई सेवा प्रदान गर्दै पुरानो मिटरसमेत अनिवार्य अनुगमन गर्ने अभियान सञ्चालन गर्न सके विद्युत् चुहावट कम हुने अपेक्षा गर्न सकिन्छ ।
Discussion about this post