डा.धनपति कोइराला
नेपाली राजनीतिक क्षितिजका काला बादलहरु बिस्तारै उघ्रँदै जान थालेसँगै जनतामा आशा र अपेक्षाको प्राणसञ्चार हुन लागेको छ । संविधानसभाले संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिमा डा. बाबुराम भट्टराई, संविधान मस्यौदा समितिमा कृष्णप्रसाद सिटौला, अभिलेख अध्ययन तथा निक्र्योल समितिमा विष्णु
पौडेल, क्षमता अभिवृद्धि समितिमा लक्ष्मी चौधरी र नागरिक सम्बन्ध समितिमा प्रमिला राणालाई सर्वसहमतिका आधारमा सभापति चयन गरेपछि लामो समयदेखि रोकिँदै आएको संविधान निर्माणको काम अब सुचारू हुने भएको छ ।
यस्तै, चिरप्रतीक्षित बेपत्ता छानबिन तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक शुक्रबार व्यवस्थापिका संसद्ले पारित गरी द्वन्द्वकालीन समस्यालाई किनारा लगाउने प्रयत्न गरेको छ, जुन कतिपय पक्षमा कमीकमजोरी रहँदारहँदै पनि स्तुत्य र ग्राह्य पनि रहेको छ । द्वन्द्वको चपेटामा परेका मानिसहरुका घाउहरु अझै पनि उकुच र खिल पल्टिएर असह्य वेदनामा रुपान्तरित भइरहेको सन्दर्भमा विधेयक अनिवार्य भइसकेको थियो ।
ढिलै भए पनि यो संसद्बाट पारित हुनुलाई पनि उपलब्धिमूलक मान्नु देश, काल, परिस्थिति, सामाजिक संरचना, राजनीतिक दबाब, मानवीय संवेदना, विधि र कानुनको शासन, न्यायप्रणाली आदि हरेक सन्दर्भले पनि जरूरी थियो । तर राज्यपक्ष होस् वा विद्रोही, जुन पक्षबाट भएको बर्बर अत्याचारलाई भने अवस्था हेरेर दण्ड दिने या क्षमा दिने भन्ने तथ्यमा आधारित भई निर्णय गर्नु अपरिहार्य छ ।
द्वन्द्वकालीन घटनाहरु एक–एक गर्दै न्यायालयमा आउँदा दिगो शान्ति स्थापना र संविधान निर्माणमा समेत गहिरो प्रभाव परिरहेको अवस्थामा पटकपटक आमनागरिकबाट माग भइरहेको थियो ।
विधेयकमा व्यवस्था भएअनुरुप गठित शक्तिशाली आयोगले भने विवेक र मानवीय भावनालाई उच्च प्राथमिकता दिनुपर्छ । अर्को कुरा, द्वन्द्वका सन्दर्भमा भएका द्वन्द्वको चरित्र इतरका घटनाहरु जस्तै ः बलात्कार, लागूपदार्थ ओसारपसार, भ्रष्टाचार, व्यभिचार, चोरीडकैती, व्यक्तिगत रिसइवी साध्न गरिएका हिंसा, अपहरण आदि घटनाका पीडकलाई उन्मुक्ति र क्षमादान दिनु किमार्थ स्वीकार्य हुनै सक्दैन । क्षमादान दिने सन्दर्भमा पनि पीडकमाथि अनुचित दबाब सिर्जना गरी उसको न्याय पाउने प्राकृतिक न्यायको सिद्धान्तलाई उल्लंघन गरिनुहुँदैन ।
सत्यनिरुपण मूलतः सामाजिक सद्भाव, ममता र आत्मीयतालाई दरिलो अझ मजबुत र एकताबद्ध तुल्याउनमा सहायक बन्नुपर्छ । हुन त, रोएको मुख, च्यातिएको कपडा र फुटेको घैँटोलाई जोडे पनि पूर्ववत् बन्न सक्दैन, तर उस्तै बनाउने कार्यमा यो विधेयक र आयोग कोशेढुङ्गा सावित हुनु जरूरी छ । यस कार्यमा विवेकी आयोग बनोस् र पीडकमुखीभन्दा पनि पीडितमुखी बन्न पुगोस् भन्ने आमनागरिकको आकाङ्क्षा रहेको छ । यसलाई सम्बन्धित निकायले गहिराइमा बुझेर निरुपण गरोस् र हाम्रो समाज समृद्ध र सुसङ्गठित बनोस् हामी नेपाली नागरिकको कामना छ ।
बाग्मती सफाइ अभियान पनि यौटा त्यस्तै कडी हो, यद्यपि यो जारी छ । दलहरुका बीचको अन्तरद्वन्द्व केही मत्थर हुँदै गएको छ । सामाजिक सद्भाव र भाइचारा सुधारोन्मुख अवस्थामा छ । आप्mनो गाउँको विकास आफैँ गर्नुपर्छ भन्ने भाव बढ्दो छ । सहरकेन्द्रित समाज बिस्तारै गाउँमै स्थिर हुँदै गएको छ । भवन निर्माणमा नवयुगीन चेतना बढ्दो मात्र छैन, प्राविधिकबाट नक्साङ्कन गराउने र उनको परामर्शमा मात्र भवन तथा भौतिक संरचना निर्माण गर्ने कार्य आरम्भ भएको छ ।
विदेशमा सिकेको सीप र प्राविधिक ज्ञानलाई स्वदेश निर्माणका निम्ति उपयोग गर्न थालिएको छ । स्वदेशमै बसेर केही गर्नुपर्छ भन्दै गौपालन, बाख्रापालन, भेँडापालन, मत्स्यपालन, मौरीपालन, कुखुरापालन, अस्ट्रिचपालन, साना तथा घरेलु उद्योग सञ्चालन, कृषि व्यवसाय वृद्धिका निम्ति नयाँ खोज–अनुसन्धान र नयाँ औषधि र प्रविधिहरुको विकास, तरकारीखेती, फलपूmलखेती आदि यस्ता सकारात्मक पक्षहरु हुन् ।
स्वदेशलाई उपेक्षा गर्ने प्रवृत्तिमाथि कारबाही आरम्भ हुनु, अपेक्षाकृत रुपमा ज्यादै थोरै भए पनि कम्तीमा भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुन थाल्नु, थोरै भए पनि गलत कार्य गर्नेहरुको मनोबल घटेको देखिनु, राष्ट्रिय मह¤वका विकास निर्माण गर्ने कार्यमा पनि दल र सचेत जनताका बीच सहकार्य गर्ने सोचको विकास आरम्भ हुनु, वैदेशिक अनुदानलाई ठूला योजना पूर्वाधार विकासमा मात्र लगाउन निर्देशन जारी हुनु, विश्वविद्यालयमा देखा पर्दै गरेका विसङ्गति खुलेर बाहिर आउनु र निकासका लक्षणहरु देखा पर्नु, शैक्षिक स्वास्थ्य प्रतिष्ठानहरुमा हुने गरेका आर्थिक चलखेल र अनियमितताको रहस्योद्घाटन हुनु र समाधानका लक्षणहरु पनि आरम्भ हुनु, जनतामा चेतनाको उभार र राष्ट्रिय चेतना सशक्त भएर देखा पर्नु पनि यसको सकारात्मक पक्षहरु हन् ।
अर्को, सर्वाधिक उपलब्धि भनेको खेलकुद क्षेत्रले प्राप्त गरेको सफलता हो । नेपालले अन्तराष्ट्रिय २०–२० क्रिकेट खेलमा सहभागी हुन सफल हुनु र उत्कृष्ट खेल प्रदर्शन गर्नु, अन्तर्राष्ट्रियस्तरको महिला भलिबल तथा क्रिकेट खेलहरुमा प्राप्त उपलब्धिहरु पनि उल्लेखनीय छन् । सञ्चारका क्षेत्रमा नेपालले हाँसिल गरेको उपलब्धिलाई त सञ्चार क्रान्तिकै रुपमा लिइन्छ । ४ सयभन्दा ज्यादा सामुदायिक रेडियोको स्थापना हुनु, १ दर्जनभन्दा ज्यादा राष्ट्रिय रुपमा प्रसारण गर्ने दूरसञ्चार गृहहरु स्थापित हुनु, करिब देशैभरि केवल नेटवर्क र इन्टरनेट सेवामा पहुँच विस्तार हुनु पनि उल्लेख्य प्राप्तिहरु नै हुन् । यस्तै, छपाइमा पनि उस्तै उल्लेख्य सफलता प्राप्त गरेको छ । हरेक संस्थामा कम्प्युटर प्रविधिको उपयोग हुनु, हरेक विद्यालयमा कम्प्युटर प्रविधिको शिक्षण आरम्भ हुनु, सिकाइमा नयाँ प्रविधिहरु उपयोग हुनु सुखद भविष्यका सङ्केतहरु हुन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा हाँसिल गरेको उपलब्धि पनि उत्तिकै प्रशंसनीय छ । स्वदेशी तर गुणस्तरयुक्त छ भने उत्पादनलाई पहिलो प्राथमिकता दिन थालिएको छ । सहकारीले आर्थिक सञ्चय तथा उचित क्षेत्रमा उपयोग गर्ने चेतनाको विकासमा क्रान्ति नै गरेको छ । फलतः यसबाट गरिबी न्यूनीकरण र स्वावलम्बीपनको विकासमा ठोस योगदान पुगिरहेको तथ्य घामझैँ छर्लङ्ग छ ।
यस प्रकार, नेपालका विभिन्न क्षेत्रमा विकृति र विसङ्गतिरुपी क्यान्सर रोगले ग्रस्त रहेको अवस्थामा पनि माथि उल्लिखित क्षेत्रहरुमा प्राप्त उपलब्धिहरुले आशा र अपेक्षा जगाएको छ । करिब ३ करोड जनसङ्ख्या भएको नेपालमा केही १०–१५ प्रतिशत खराब भाइरसहरु भए पनि बाँकी ८५ प्रतिशतभन्दा सही परिश्रमी, लगनशील, इमानदार, देशभक्त नागरिकहरु एक भएर आ–आप्mनो रूचि, दक्षता, सीप र अनुभव भएका क्षेत्रमा लागिपर्ने हो भने यो देशले अब सहजै समृद्धिको मार्ग लिन सक्तछ । यसमा बचनबद्धता मात्र नभई कार्य गर्ने तत्परता, त्याग र जाँगर हुनु आवश्यक छ । अर्को कुरा, सधैँ नकारात्मक मात्र बन्ने हैन र निराश मात्र हुने पनि हैन, सधैँ सकारात्मक र रचनात्मक बन्नु पनि पर्छ । यसबाट हामी सृजनशील बन्न सक्छौँ र आनन्दको अनुभूति गर्न पुग्दछौँ ।
Discussion about this post