चितवन । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवम् नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकार बसन्त पराजुली र विनोदबाबु रिजालद्वारा लिखित पुस्तक पत्रकार महासंघलाई हस्तान्तरण गरेका छन् ।
अधिकारीले पराजुलीद्दारा लिखित “कुमाता” र रिजालद्धारा लिखित “एकान्तबास” पुस्तक दश÷दश थान महासंघका अध्यक्ष राधेश्याम खतिवाडालाई हस्तान्तरण गरेका हुन् । आफ्नो कान्छो छोरा साकार अधिकारीको जन्मोत्सवको अवसर पारी ती किताबहरु हस्तान्तरण गरेका हुन् ।
अधिकारीले भने “पुस्तक लेखक पत्रकारहरुलाई उर्जा मिलोस भनेर मैले छोराको जन्मदिनको अबसरमा संकल्प गरी महासंघलाई पुस्तक हस्तान्तरण गरेको हुँ ।” पुस्तक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी सहितको उपस्थितिमा हस्तान्तरण गरिएको हो । सो अबसरमा लेखकहरु पराजुली र रिजालसँगै पुस्तकको बिक्री गर्दै आएका सम्पूर्ण किताव लायन्सचोकका सञ्चालक लेखराम सापकोटाको उपस्थिति रहेको थियो ।
पुस्तक ग्रहण गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले यी पुस्तकहरु पत्रकार महासंघको पुस्तकालयमा राखिने जानकारी दिए । उनले पत्रकारहरुको लेखन क्षमताको कदर महासंघले गर्ने वताए ।
पत्रकार पराजुली द्वारा लिखित “कुमाता” भुँडीपुराण प्रकाशन प्रा.लि.र रिजालद्वारा लिखित “एकान्तबास” युरेका पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको हो । “कुमाता” कथा संग्रह हो भने “एकान्तबास” लकडाउन डायरी हो ।