बसन्त पराजुली
भरतपुर । नेपाल विद्युत् प्राधिकरणले नयाँ मिटर जडान रोकेपछि सेवाग्राही समस्यामा परेका छन् । केन्द्रबाटै नयाँ मिटर नआएको भन्दै प्राधिकरणको भरतपुर शाखाले गत वर्षको फागुनबाट नयाँ मिटर जडान रोकेको हो ।
‘पैसा तिरेर मिटर लिन्छु र घरमा बत्ती बाल्छु भन्दा पनि पाइएन’, नयाँ मिटर जडानको माग गर्दै प्राधिकरणको भरतपुर शाखामा भेटिएकी एक महिलाले दुखेसो पोख्दै भनिन्, ‘मिटर बक्स नदिएर प्राधिकरण आफँैले बिजुली चोर भनेर प्रसय दिइरहेको छ ।’
‘घर माथिबाट तार गएको छ । सबैको घरमा बिजुली बल्छ अनि हामी चाहिँ अँध्यारोमै बस्नुपर्ने ?’, उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘बिजुली नचोर पनि भन्ने अनि मिटर माग्न आउँदा नदिने !’ प्राधिकरणको भरतपुर शाखामा अहिले दैनिक नौ÷दसजनासम्म नयाँ ग्राहक मिटर जडानको माग गरेर आउने गर्छन् । तर उनीहरुलाई प्राधिकरणका कर्मचारीहरुले मिटर छैन भनेर पठाउने गरेका छन् ।
‘मिटर छैन भन्दै ग्राहकलाई कहिलेसम्म फर्काउने ?’, एक कर्मचारी भन्दै थिए, ‘मिटर छिटो आए वितरण गर्ने थिएँ ।’ प्राधिकरणको भरतपुर शाखाले गत वर्षको फागुन १ गतेबाट नै नयाँ मिटर जडानका लागि आवेदन दर्ता रोकेको हो । अहिले सो कार्यालयमा पाँच सय आवेदन नयाँ मिटर जडानका लागि माग गर्दै दर्ता गरिएको अवस्था छ ।
‘आवेदन दर्ता रोक्नु अघिकै पाँच सय आवेदन मिटर माग गरेर आवेदन दर्ता छ’, ती कर्मचारीले भने, ‘नयाँ मिटरका लागि आवेदन खुला गर्ने हो भने यसको माग अत्यधिक बढी हुनेछ ।’
प्राधिकरणको भरतपुर शाखाअन्तर्गत अहिले झण्डै ५० हजार ग्राहकले मिटर राखेर बिजुली खपत गरिरहेका छन् । भरतपुर नगरपलिका, पश्चिम चितवनका १२ गाविस र देवघाट चितवनकै पहाडी क्षेत्रमा प्राधिकरणको यो शाखाले आफ्नो सेवा दिँदै आएको छ । तर मिटर जडान रोकिएपछि सेवाग्राही अहिले मर्कामा छन् । अझै नयाँ विद्युत्को सेवा विस्तार गर्दै गरेको माडी क्षेत्रका ग्राहकलाई बढी समस्या छ । प्राधिकरण तत्काल मिटर ल्याएर ग्राहकलाई दिन सक्ने अवस्थामा पनि देखिँदैन ।
‘अझै पनि कम्तीमा तीन चार महिना लाग्छ होला’ प्राधिकरण भरतपुर शाखा प्रमुख धारानाथ शर्माले भने । उनले प्राधिकरणले नै मिटर बक्स खरिदका लागि प्रक्रिया अगाडि बढाएको तर प्रक्रिया पूरा गरेर आयत हुन समय लाग्ने पनि जनाए ।
मिटर बक्स नहुँदा चोरी बढ्दैन भन्ने प्रश्नको जवाफ दिँदै प्रमुख शर्माले त्यसका लागि अनुगमन बवढाएको भनि जवाफ दिए ।
‘यो बेला बिजुली बढी चोरी हुन सक्छ भन्ने शंकामा हामी छौँ’, उनले भने, ‘मिटर नपाएकै कारण बाध्यत्मक परिस्थिति भन्दैमा कानुनबिपरीत काम गर्न कसैलाइ छुट छैन । बिजुली चोरेको पाइएमा कारबाही हुनेछ ।’
१४ वर्षदेखि भुक्तानी बाँकी
वीरेन्द्रनगर । महसुल नतिरेकै कारण ग्राहकको बिजुली काट्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणको ध्यान एक ग्राहकमा पुग्न सकेको छैन । चौध वर्षदेखि बिजुलीको महसुल नबुझाए पनि सो मिटरबाट बिजुलीको लाइन काट्नतर्फ प्राधिकरणको ध्यान गएको छैन ।
वीरेन्द्रनगर–४ बडरामा अवस्थित ब्रम्हस्थानी जल उपभोक्ता समितिले प्रयोग गरेको बिजुलीको बिल चौध वर्षदेखि भुक्तानी हुन सकेको छैन । समितिले सञ्चालन गरेको डिप बोरिङका लागि सो मिटर जडान गरेर बिजुली प्रयोगमा ल्याउँदै गएको छ ।
स्थानीय जीवराज अर्याल ४० हजार युनिटभन्दा माथि बिजुली खपत हुँदा पनि प्राधिकरणले आफ्नो महसुल उठाउने प्रक्रिया सुरू नगरेको जानकारी दिन्छन् । केही स्थानीयले यसअघि पटकपटक प्राधिकरणको टाँडी शाखामा सो सम्बन्धमा जानकारी गराउँदा पनि त्यसको सुनुवाइ नभएको पनि अर्यालले बताए ।
प्राधिकरणलाई ज्ञापनपत्र
रत्ननगर । अव्यवस्थित तवरले विद्युत् कटौती गर्दा कलकारखाना सञ्चालन गर्न कठिनाइ भएको भन्दै रत्ननगरका व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्र टाँडीमा ज्ञापनपत्र बुझाएका छन् । लोडसेडिङ तालिका अनुसार विद्युत् कटौती गरी उद्योग कलकारखाना सहज रुपले संचालन गर्न वातावरण सृजना गरिदिन माग गर्दै रत्ननगर उद्योग वाणिज्य संघले प्राधिकरणमा ज्ञापनपत्र बुझाएको छ ।
संघले पूर्वीचितवन क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणबाट प्रशारण भई रहेको विद्युत् लोडसेडिङ तालिका समयअनुसार नियमित नभएको र सो क्षेत्रमा उद्योग कलकारखाना संचालनका लागि भोल्टेज कम भएको भन्दै तालिका अनुसार विद्युत् प्रदान गर्न माग गरेको छ । संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरण, शाखा कार्यालय, रत्ननगरका प्रमुख रामदुलार यादवसँग भेट गरी यस क्षेत्रको समस्याको बारेमा छलफल गरिएको थियो ।
विद्युत लोडसेडिङ तालिकाअनुसार विद्युत् भोल्टेज अपर्याप्त भएको कारण उद्योग, कलकारखाना संचालन गर्न कठिनाई भई उद्योग व्यवसाय विस्थापित हुने अवस्थामा पुगिसकिएको र तत्काल भोल्टेज प्रयाप्त प्रदान गर्न अनुरोध गरिएको छ ।
Discussion about this post