रत्ननगर । मापदण्डबिपरीत सञ्चालित क्रसर उद्योग हटाउन सरकारले निर्देशन दिएपछि चितवन र मकवानपुरमा सञ्चालित क्रसर उद्योगका सञ्चालकहरु आन्दोलित बनेका छन् ।
सरकारले असार मसान्तदेखि मापदण्डबिपरीत सञ्चालनमा रहेका देशैभरिका क्रसर उद्योग हटाउने निर्णय गरेको थियो । सरकारले राजमार्गदेखि ५०० मिटर, खोला किनारबाट ५०० मिटर, विद्युत् हाइटेन्सनबाट १०० मिटर र शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पूरातात्विक महत्वका स्थान, वन, निकुञ्ज र घनाबस्तीबाट २ किलो मिटर टाढामात्र उद्योग रहन सक्ने मापदण्ड तयार गरेको थियो ।
तर व्यवसायीले भने अहिले रहेका उद्योगहरु उपयुक्त ठाउँमा रहेको भन्दै सरकारी निर्णय पुनर्विचार गर्न माग गर्दै देशभरका क्रसर उद्योगका सञ्चालकहरुले आन्दोलन सुरू गरेका छन् । चितवन र मकवानपुरमा गरी झण्डै २४ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।
निर्णय पुनर्विचार गर्न माग गर्दै गत १२ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको क्रसर उद्योग महासंघका केन्द्रीय सदस्य एवम स्वस्तिक क्रसर उद्योग मनहरीका सञ्चालक सरोज कुँवरले जानकारी दिनुभयो । व्यवसायीहरुले १६ गतेदेखि अनिश्चितकालीन आधारभूत निर्माण सामग्रीहरु ढुंगा, गिट्टी, बालुवा, ग्रावेल उत्पादन तथा बिक्री पूर्ण रुपमा बन्द गर्ने, व्यवसायीसँग भएका उपकरण डोजर, लोडर, एक्साभेटर, टिपर लगायतका सधानहरु सडकमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य कुँवरले जानकारी दिनुभयो । यति गर्दा पनि माग सुनुवाई नभए आन्दोलनका थप कार्यक्रम ल्याइने उहाँले बताउनुभयो ।
Discussion about this post