कसरा । चितवन राष्ट्रिय निकुञ्जभित्रका हात्तीसारमा आइतबारदेखि साङ्लोमुक्त हात्तीसार बनाउने अभियान सुरू भएको छ ।
बाघमारा पोेस्टबाट कृष्णप्रसाद नामको हात्तीलाई आइतबार साङ्लोमुक्त गरी अभियानको थालनी गरिएको हो । एलिफन्ट एड इन्टरनेसनलले विश्वमा नै पहिलो पटक नेपालको चितवन राष्ट्रिय निकुञ्जमा हात्तीलाई साङ्लोमुक्त बनाउने अभियान थालेको हो । निकुञ्जले आगामी जेठ मसान्तसम्ममा १३ हात्तीसारमा ६३ हात्तीलाई साङ्लोमुक्त बनाउन लागिएको जनाएको छ ।
हात्तीलाई सुरक्षित र मानवीय व्यवहारमा घुलमिल गराउन यसले सहयोग गर्ने अपेक्षा गरिएको छ । हात्तीलाई साङ्लोमा बाँधेर राख्ने चलन रहेको र यसले हात्तीलाई मानसिक रूपमा असर पर्ने विज्ञको भनाइ छ ।
अहिले भने निकुञ्जले एलिफन्ट एड इन्टरनेसनलको आर्थिक सहयोगमा २१ वर्ग मिटर क्षेत्रफलमा विद्युतीय तारबार गरी हात्तीलाई खुल्ला रूपमा छाडिएको छ । सो तार सोलारबाट चार्ज हुन्छ ।
यसै वर्षको पुस मसान्तसम्ममा साङ्लोमुक्त हात्तीसार बनाइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले बताउनुभयो । एलिफन्ट एड इन्टरनेसनलका निर्देशक क्यारोल बग्लीले अभियानको उद्घाटन गर्नुभएको हो । सो अभियानका लागि एक करोड खर्च लाग्ने निकुञ्जले जनाएको छ ।
Discussion about this post