दिपेन्द्र अधिकारी
रत्ननगर । गर्मी बढ्दो छ । बढ्दो गर्मीलाई माथ दिन शीतल हुने धेरै विकल्पमध्ये एक हो पौडी । पौडनु मनोरञ्जनसँगै स्वस्थ हुने तरिका पनि हो । यसलाई खेलको एउटा फरक विधाका रुपमा पनि लिइन्छ ।
विभिन्न होटलहरुमा रहेका स्वीमिङ पुल अहिले दिउँसो र साँझपख भरिभराउ नै देखिन्छ । बढ्दो गर्मी छल्नका लागि स्वीमिङ पुल धाउनेहरु प्रशस्त भेटिन्छन् । जिल्लाका विभिन्न ठाउँमा रहेका स्वीमिङ पुलमध्ये रत्ननगर सौराहाचोकमा रहेको हंस मनोरञ्जन केन्द्रको स्वीमिङ पुल पनि एक हो ।
जहाँ बिदाको दिन र सोमबार पौडी खेल्न आउनेहरुको भीड नै लाग्छ । नयाँ स्थान र पौडी साथै मनोरञ्जनका अन्य साधन पनि भएकाले यस ठाउँमा मानिसको विशेष चहलपहल हुने गरेको छ ।
महिला, समूहमा आउने र परिवारका लागि छुटै पौडी खेल्नका लागि भिन्न स्वीमिङ पुल रहेको छ । त्यस्तै बालबालिकाका लागि भिन्नै रहेको छ । बाँकी एउटामा भने पुरूष र अप्ठेरो महसुस नगर्ने महिलाले पौडी खेल्ने गर्छन् । प्रायः अभिभावकहरु मनोरञ्जनकै लागि आफ्ना बालबालिकाका साथमा यहाँ आउने गरेको केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले बताए ।
सापकोटाले भने, ‘चितवनमा रिफ्रेसमेन्टका लागि अन्य ठाउँहरु नभएकाले हामीले यस मनोरञ्जनको आवश्यकता ठानी निर्माण गरेका हौँ ।’ पौडीसँगै यस केन्द्रमा सभा सम्मेलन, विविध कार्यक्रम गर्न सकिने सापकोटाको भनाइ छ ।
अघिल्लो हप्तामात्रै उद्घाटन गरिएको यस हंश मनोरञ्जन केन्द्रको कुल निर्माण लागत ५ करोड बढी रहेको अध्यक्ष दिनेशकुमार चुकेले बताए । चितवनमा पर्यटकीय स्थलको प्रबद्र्धन गर्न यस केन्द्र कोशेढुंगा सावित हुने अध्यक्ष चुकेको भनाइ छ । यस क्षेत्रका मानिसको आवश्यकतालाई मध्यनजर गरी मनोरञ्जन केन्द्रको स्थापना गरिएको चुकेको भनाइ छ । यस केन्द्र रत्ननगरको रत्न भएको सामाजिक अगुवाहरु बताउँछन् । संचालनमा आएको महिना दिनमै सयौंको संख्यामा मानिसहरुले पौडीको मजा लिइसकेका छन् ।
यस स्वीमिङ पुलमा युवा र विद्यार्थीको विशेष भीड लाग्छ । स्वीमिङ पुलनजिक बारको पनि व्यवस्था गरिएको छ ।
त्यस्तै पौडी खेलेपछि परिसरमै रहेको रेष्टुरेन्ट विभिन्न प्रकारका खाजा खान सकिन्छ । तीन महिनाका लागि भनेर केन्द्रले सादा खानासहित पौडीका लागि ५०० र मासु खानाको ६०० तोकेको छ । पौडीका लागि साधारण टिकटको मूल्य २०० तोकिएको छ ।
सार्वजनिक बिदाको दिन पौडी खेल्नेहरुको बढि भीड लाग्छ । केन्द्रका मार्केटिङ म्यानेजर रोशन सापकोटा भन्छन्, ‘बिदाको दिन र सोमबार पौडी खेल्नेको भीड नै लाग्छ ।’ उनको अनुसार गैंडाकोट, नारायणगढ, भरतपुर र टाँडी, पर्सादेखि भण्डारासम्मका मानिसहरु पौडी खेल्न आइपुग्छन् ।
पौडी खेल्न चाहनेहरुका लागि एकल जोडी र परिवारसहितको वार्षिक तथा मौसमी योजनासमेत केन्द्रले तय गरेको छ ।
स्वीमिङ पुलका पौडी प्रशिक्षक तथा लाइफ गार्ड सुरज लामिछाने यस स्वीमिङ पुललाई अझ स्ट्याण्डर्ड बनाउन सकिने बताउँछन् । गत वर्ष सातदोबाटोमा सम्पन्न खुला पौडी प्रतियोगितामा सहभागी भई विशेष प्रशिक्षक र लाइफ गार्डको प्रमाणपत्र हात पारेका सुरज पौडी खेल्दा मनोरञ्जनका साथै स्वास्थ्यलाई धेरै फाइदा पुग्ने बताउँछन् ।
भरतपुर ११ बसेनीका लामिछाने उमेरले २० वर्षको मात्र भए पनि पौडीमा उत्कृष्ठ ठहरिन्छन् । उनले नेपाली पौडीबाज पदमजंग शाह र वाङदेन लामाबाट २०६८ सालमा विशेष पौडी तालिम लिएका थिए ।
कमलप्रसाद घिमिरे उनको अर्का गुरू हुन् । जसले सानैमा उनलाई चित्रावती लिजर सेन्टरमा पौडिन सिकाएका थिए ।
Discussion about this post