भरतपुर । आगामी वैशाख १५ गते काठमाडौंमा सञ्चालन हुुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मध्यमाञ्चल क्षेत्रबाट ६७ जना खेलाडीहरु छनौटमा परेका छन् ।
चितवनको भरतपुरमा शनिबार मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स, भलिबल, कराते र उसु खेलबाट ६७ जना खेलाडी छनौटमा परेका हुन् । खेलमा फेरि पनि अञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्डको उपाधि भने काठमाडाँैले कव्जा गर्न सफल भएको छ ।
प्रतियोगिताको उपविजेता चितवन हुन सफल भएको छ भने नुवाकोटले तेस्रो स्थान हात पारेको छ । योसँगै काठमाडौंले लगातार तेस्रो पटक उपाधि जित्न सफल भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महम्मद ज्याउल इस्लामले जानकारी गराए ।
प्रतियोगितामा प्रथम भएको काठमाडाँै, द्वितीय भएको चितवन र तृतीय भएको नुवाकोटले क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको विभिन्न खेलबाट काठमाडौँले १७६ अंकका साथ प्रथम स्थान हासिल गरेको हो भने दोस्रो भएको चितवनले ११५ अंक र तेस्रो भएको नुवाकोटले ९८ अंक प्राप्त गरेको चितवन जिल्ला खेलकुद विकास समितिका प्रवक्ता रामहरि सेढार्इंले बताए । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते र उसु खेलहरु सञ्चालन भएका थिए भने खेलकुद परिसद्को विवादका कारण तेक्वान्दो खेल आयोजकले स्थगित भएको चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए ।
एक समारोहबीच प्रथम, द्वितीय र तृतीय भएको टिम र खेलाडीहरुलाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महम्मद ज्याउल इस्लाम र चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरूङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा वैशाख ११ गतेदेखि चितवनको भरतपुरस्थित मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रमा सञ्चालित प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका १ हजार १४० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते र उसु खेल सञ्चालन भएका थिए ।
Discussion about this post