‘कुमाता’ कथासंग्रहप्रति एक दृष्टि [पुस्तक समीक्षा]

अन‌ि यो पनि

–नानी बिबु

पत्रकार तथा लेखक बसन्त पराजुलीको कथासंग्रह ‘कुमाता’भित्र रहेका कथाहरुले सामाजिक यथार्थलाई चित्रण गरेका छन् । कथाहरु रोचक पनि छन् र धेरै बेर सोच्न बाध्य बनाउने हुनाले पाठकका मन पनि छुन्छन् । कथाहरुलाई एक एक गरेर यसरी हेर्न सकिन्छ :

यस कथासंग्रहमा संग्रहित पहिलो कथा ’पत्रकार’ हो । यस कथामा रिपोर्टिङमा दिनरात नभनी खटिनुपर्ने, समाचार बनाउँदा ज्यान मार्नेसम्मका धम्की र जोखिम आउनु, न्याय खोज्दा नपाउनु, न्यून पारिश्रमिक त्यो पनि समयमा नपाउनु आदि आमपत्रकारका वास्तविक पीडाहरुलाई देखाइएको छ ।

‘पत्रकारिता गरेको पनि बीस वर्ष भएछ । ओहो, दुई दशक पो त ! सरकारी जागिर भए पेन्सन पाक्ने बेला । तर, पत्रकारिता गरेर मेरो अवस्था ज्यूँका त्यूँ । कोठाकै बास ।’

‘सन्न्यास’

‘दुःख गरेर छोरो जन्माएँ, हुर्काएँ, पढाएँ । छोरो जागिर खाने भयो । बिहे ग¥यो ।

बुहारीको खटन । बूढा भएका बाआमा गाउँमा, छोराबुहारी सहर ।

आधुनिक बुहारीसँग मिल्न नसकेर आफ्नो सम्पत्ति छोराबुहारीलाई दिनभन्दा आश्रमलाई दिएर सन्न्यास जीवन बिताउनै बेस भनेर हरिकुमारले सन्न्यास जीवन रोजेका छन् ।’ समाजमा यस्ता घटनाहरु छापछापती देख्न पाइन्छ ।

‘छापामारको प्रेम’

द्वन्द्वकालीन समयको एउटा कहालीलाग्दो यथार्थपरक कथा ।

‘उकुच’ र ‘दसैँ’

गरिबीका कारण वैदेशिक रोजगारमा जान बाध्य नेपाली, त्यहाँ तिनीहरुको अवस्था अनि स्वदेशमा उसको जहानको अवस्था । मार्मिक र यथार्थपरक कथा ।

‘दोषी को ?’

अलिकति फरक विषयवस्तुको उठान गरिएको छ, यस कथामा । जो समाजले देखेको छ त्यो सत्य छैन । जो सत्य छ त्यो देखाउन नमिल्ने अवस्था छ ।

आफ्नै बाबुआमालाई पनि थाहा छैन, छोराको कमजोरी । ऊ आफू कमजोर भएर पनि समाजको डरले आफ्नै बाबुआमा र श्रीमतीसँग पनि भन्न सक्दैन आफ्नो कमजोरी । पूरा गर्न सक्दैन श्रीमतीको चाहना । बरू, श्रीमतीका गल्ती स्वीकार्छ तर आफ्नो कमजोरी भन्न सक्दैन । आखिर दोषी को ??

‘कुमाता, परिबन्द, अस्मिता र नियति’

पढिरहँदा यिनीहरुमा पनि एउटा तीतो यथार्थ छ । भोक र प्यास त सबैलाई लाग्छ । केही आधारभूत आवश्यकता पूरा गर्न पनि सामाजिक नियमको पालना गर्नुपर्छ । महिलालाई च्याप्पै बाँध्ने र पुरूषलाई खुला छोडिदिने विभेदकारी सामाजिक यो नियमले गर्दा पुरूषले जिम्मेवारी बिर्सिए र स्वार्थी बने । तिनै स्वार्थी पुरूषका कारण नारीहरु कुमाता बन्न बाध्य भए । कुमारीलाई फकाएर प्रेमजालमा पारेर गर्भवती बनाएर बेपत्ता हुने पुरूषको दोष यो समाजले देख्दैन । तिनीहरुलाई कसैले कुपिता भन्दैन । केवल नारीको मात्र दोष देख्छ र उसैलाई कुमाता भन्छ । एउटा माता कुमाता हुनमा हात कसको छ, यो कुरा समाजले बुझ्न जरूरी छ ।

‘कुमाता’ कथासंग्रहले समाजको यथार्थ बोलेको छ । त्यसैले, लघु कथा समाजका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पुस्तकको भूमिका लेखनमा भन्नुभएको छ, ‘कथाकार पराजुली अरुले बनाएका कथामार्गमा हिँडेका छैनन् र पछ्याएका पनि छैनन् । उनले आप्mनै कथामार्ग निर्माण गर्न खोजेको अनुभव हुन्छ । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरेका छन् ।” यो माथिको भनाइले भने ‘कुमाता’ कथासंग्रह आधुनिक कथाहरुको नयाँ मार्ग वा छुट्टै गोरेटो हो भन्ने आधार दिन्छ ।

कथासंग्रहभित्र देखिएका भाषिक शुद्धतामा कमजोरीहरु छन् । प्रायः कथाहरुमा पुरूष पात्रहरुलाई छिट्टै सम्बन्ध राख्ने र आफ्नो स्वार्थ पूर्ति भएपछि हराउने देखाइएको छ । समाजमा देखिएका विकृतिहरु उठान गर्दै गर्दा सकारात्मक सन्देश दिन उदासीन रहने पात्रहरुलाई उसका कमजोरीहरु स्वीकार गर्नुपर्ने मौका कथाहरुमा सम्प्रेषण गर्न कथाकार चुकेको देखिन्छ । यो पाटो समेट्न सकेको भए अझै सुनमा सुगन्ध हुनेथियो । कतिपय स्थानमा कथाहरु अल्लि छिटो फड्को मारेको हो कि भन्ने देखिएको छ ।

प्रकाशन भएको चार महिनामै दोस्रो संस्करण निकाल्न सफल भएको ‘कुमाता’ आफैँमा सबल छ । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषयवस्तुहरु समेटेका कथाहरु समावेश भएकाले पनि पढ्दा रोचक र मर्मस्पर्शी छन् । ‘कुमाता’ कथासंग्रहका कथाहरुले गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भहरु बोकेका कारण हाम्रै घर, समाजभित्रका समस्या हुन् कि भन्ने महसुस पाठकले गर्न सक्छन् ।

(लेखिकाको ‘अनुक्रोश’ उपन्यास हालसालै बजारमा आएको छ ।)

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया