विश्व औलो दिवस २०१४ चितवनमा पनि मनाइएकोे छ । औलो दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार चितवन जिल्ला पनि औलो रोगबाट उच्च जोखिममा रहेको छ । चितवनसहित तराईका १५ जिल्लामा अझै पनि औलो रोगको जोखिम विद्यमान रहेको बताइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा निर्माणसम्बन्धी काम धेरै भइरहेका कारण औलोलगायत रोगको संक्रमण बढ्दै गएको छ । चितवनमा डेंगु र औलो रोगको उच्च जोखिम रहँदै आएको छ । नेपाललाई सन् २०२६ सम्ममा औलोमुक्त राष्ट्र घोषणा गर्नका लागि औलो नियन्त्रणका प्रयासहरु भएका छन् । २०१५ सम्ममा औलोबाट मृत्यु हुनेको संख्या शून्यमा पु¥याउने र सन् २०१८ सम्म औलो रोगको संक्रमणलाई ३० प्रतिशतसम्म घटाउने लक्ष्य लिइएको छ ।
सन् २०११ मा रगत परीक्षणका क्रममा २९ जनामा औलो रोगको संक्रमण देखिएको थियो । २०१२ मा ३५ जना र २०१३ मा ५० जना औलो रोगका बिरामी भेटिएका थिए, जसमध्ये दस जनालाई कडा खालको औलो देखिएको थियो । तर, रोगबाट पछिल्लो तीन वर्षको अवधिमा कसैको पनि ज्यान गएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयले सबै स्वास्थ्य संस्थाहरुमा औलोको संक्रमण भए नभएको परीक्षण गर्ने व्यवस्था गरेको छ । चितवनमा भरतपुर नगरपालिका, मेघौली र गुञ्जनगर गाविसलगायत २० गाविस औलोको जोखिममा रहेको पाइएको छ । जिल्लामा करिब डेढ लाख मानिस औलोको जोखिममा छन् । औलो रोगका कारण विश्वभर धेरै मानिसको ज्यान गइसकेको छ । यो प्रकोपका रुपमा फैलिने सरूवा रोग हो । सन् २०१२ मा मात्र विश्वभर ६ लाख २७ हजार मानिसले औलोका कारण ज्यान गुमाएका थिए ।
औलो एनोफिलिम जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । नेपालमा यही जातका एनोफिलिस मिनिमस, एनोफिलिस फ्लुभिएटिलिस, एनोफिलिम म्याकुलेट्स र एनोफिलिम एनुलासिस नामक लामखुट्टे देखिने गरेको छ । प्लाज्मोडिएम परजीवीमार्फत एक व्यक्तिबाट अर्कोमा यो रोग सर्ने गर्दछ । औलोबाट बच्ने एकमात्र उपाय भनेकै लामखुट्टेको टोकाइबाट जोगिनु हो । लामखुट्टे हुर्किने ठाउँ कम गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने र घरवरपर सफासुग्घर राख्ने गरेमा लामखुट्टेले सार्ने रोगबाट बच्न सकिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालयले लामखुट्टे मार्ने अभियान सञ्चालन गरेपछि औलो रोगको प्रभाव घटन थालेको थियो । कार्यालयले औलोको उच्च जोखिममा रहेका २५ गाविसमा करिब ७० हजार थान निःशुल्क सुपानेट झूल वितरण गरेको थियो । यसमध्ये करिब ३५ सय गर्भवती महिला रहेका थिए । रोग नियन्त्रणका लागि कीटनाशक औषधी छर्ने, गाउँबस्तीमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, झूल वितरणजस्ता अभियान जारी राख्दै नेपाललाई औलोमुक्त देश बनाउनु जरूरी छ ।
Discussion about this post