निरज भट्ट
उसले आफ्नो पछाडि कालो ब्याग बोकेको थियो । मलाई लाग्छ, यो ब्याग उसको शरीरमा सुपर ग्लुले नै टाँसिएको छ, कहिल्यै छुटाउँदैन । कतिपटक त मैले यही ब्यागले नै गर्दा उसलाई चिनेको छु, पछाडिबाट देख्दैमा । अहिले पनि यसैको कारणले चिनेको हुँ, मान्छेको भीडमा ।
क्याम्पस चोकबाट ऊ क्याम्पस रोडमा लम्कँदै थियो । मैले बोलाएँ, तर उसले सुनेन । ऊ एकनाशले आफ्नो तालमा त्यही पुरानो चप्पल लगाएर अघि बढ्दै थियो । उसलाई नचिन्ने सायद कमै होलान्, यो रोडमा । त्यसैले होला, कसैले बोलाए भने बाटोमा गफमा भिड्नुपर्ला भनेर सीधा अगाडि मात्र उसको ध्यान थियो । मैले फेरि चर्को स्वरमा बोलाएँ । उ टक्क अडियो, अनि पछाडि फर्कियो ।
ऊ अझै पनि उस्तै रहेछ । उही लामा–लामा कपाल, पाताला र ठाडा दाह्री, जुँगा । त्यसै त कालो थियो, घामले झनै कालो भएछ । उसको र मेरो चिनजान वीरेन्द्र क्याम्पसमा एमएस्सी पढ्दा भएको हो, २०६५ सालमा । तर, मैले उसलाई भने २०६३ सालमा कीर्तिपुरमा पहिलो पटक देखेको थिएँ । एमए फिजिक्स केन्द्रीय क्याम्पस कीर्तिपुरमा मात्र पढ्न पाइन्थ्यो, त्यो पनि ६० जना मात्र । यिनीहरुले यो काठमाडौँबाहिर पनि स्वीकृतिका लागि आन्दोलन गरिरहेका थिए । ऊ आन्दोलनको नेतृत्वकर्ता थियो । उसको हक्की स्वभाव, निडर भाव र चितवनको भएका कारणले उसलाई चितवन टाइगर भन्थे । आन्दोलनका कारणले वीरेन्द्र क्याम्पसमा पनि एमए फिजिक्सको कोटा स्वीकृत भयो । संयोगवश, ऊ र म सहपाठी हुन पुग्यौँ । ऊ एमएसी पढ्दा नै अनेरास्ववियु चितवनको सचिव र वीरेन्द्र क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भयो । त्यसैगरी, एमएस्सी सकेपछि अनेरास्ववियु चितवनको अध्यक्ष भएको थियो ।
पछिल्लो पटक उसको र मेरो भेट काठमाडौँमा भएको थियो । अनेरास्ववियुको २१औँ राष्ट्रिय महाधिवेशनमा यही असोजमा । ऊ त्यतिबेला अनेरास्ववियु केन्द्रीय सदस्य थियो । सचिवालय सदस्य उठ्ने तयारीमा थियो । उसको फेसबुक स्टाटस् हेरेर म त्यहाँ उसलाई भेट्न पुगेको थिएँ । विद्यार्थी राजनीतिमा धेरै आरोह–अवरोहहरु पार गर्दै ऊ त्यो स्थानसम्म आइपुगेको थियो । ऊ निकै खरो भाषण गथ्र्यो । अन्याय र अत्याचारको विरूद्धमा जस्तोसुकै कदम चाल्न पनि पछि पर्दैनथ्यो । म राजनीतिमा खासै चासो नराख्ने मान्छे । उसैको प्रभावले म पनि अनेरास्ववियु भएको थिएँ । ऊ एक पटक अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्ने इच्छाशक्ति राख्थ्यो । मलाई पनि किन–किन ऊसँग यो क्षमता छ जस्तै लाग्थ्यो । मैले आजसम्म धेरै विद्यार्थी नेताहरुलाई भेटेको छु । तर, ऊ जस्तो जुझारू, कर्मठ र लोभमुक्त कसैलाई देखेको छैन । अत्यन्त सादा जीवन व्यतीत गर्ने ऊ स्वार्थरहित राजनीति गथ्र्यो । मलाई ऊ राजनीतिको नमुना लाग्थ्यो । तर, उसले आफ्नो उम्मेदवारी फिर्ता लियो । मैले उसको फेसबुक स्टाटस्बाटै थाहा पाएँ । अनेरास्ववियुबाट ऊ बिदा भयो । मलाई निकै खल्लो लाग्यो । फोन गरेँ, फोन उठाएन उसले । मैले त्यसपछि फेरि फोन गरिनँ ।
ऊ मलाई देखेर दंग प¥यो । उसको अनुहारमा एक खालको चमक आयो । सन्चो, बिसन्चो लगायतका सामान्य गफ भयो हाम्रो । हामी बाटोमै उभिएर एकछिन गफ ग¥यौँ । रोडमा मान्छेहरुको राम्रै ओहोरदोहोर देखिन्थ्यो । सबै जना हतारमै
देखिन्थे । ऊ बाटो हिँड्ने प्रायः मान्छेहरुसँग बोल्थ्यो । भर्खर क्याम्पस पढ्नेजस्ता केटाकेटीहरुको मिश्रित समूह हामीनजिकै आयो । सबैले हात उठाएर मुठी पार्दै अभिवादन कमरेड भनेर हाँस्दै गएँ ।
उसले गर्व गर्दै मसँग भन्यो, “भर्खर क्याम्पसमा ब्याचलर फस्ट इयरमा संगठित भएका भाइबहिनीहरु ।’’
“के उभिएर गफ गर्ने यतिका पछि भेट भएको छ । जाऊँ न, चिया खाँर्दै गफ गरौँ ।’’ मैले प्रस्ताव राखेँ ।
उसले चियापसलतर्फ लग्यो मलाई, पुरानो सिनर्जी चोकमा । चिया अर्डर ग¥यो । उसले मलाई सुरूमै बधाई दियो, विवाह गरेकोमा र क्यानडा माइग्रेट गरी जान लागेकोमा । सँगै, माफी पनि माग्यो, आफू मेरो विवाहमा आउन नभ्याएकोमा । मलाई उतिबेला योसँग निकै रिस उठेको थियो । मैले घाम चुरोट मगाएँ । चुरोट तान्न थालेँ । उसलाई पनि दिएँ । उसले २–३ पटक मजासँग चुरोट तान्यो । बेस्सरी खोक्यो । मलाई फिर्ता दियो । मैले आजसम्म उसले यसरी चुरोट तानेको देखेको थिइनँ । मलाई अचम्म लाग्यो । ऊ अलि तनावमा नै रहेछ, मैले अड्कल काटँे । चिया आयो । यत्तिकैमा उसको मोबाइलमा घन्टी बज्यो । उसले नम्बर हे¥यो । साइलेन्टमा राख्यो । ३–४ पटकसम्म फोन आयो, तर फोन उठाएन ।
मैले सोधेँ, ‘‘किन फोन नउठाएको ?”
उसले चियाको चुस्कीसँगै भन्यो, “बैंकको फोन हो । किस्ता बुझाउन आउनू भनेको छ । ६ महिना भइसक्यो, न किस्ता न ब्याज तिरेको । यो महिनाभित्र पूरै तिर्नुपर्छ, नत्र बैंकले कालो सूचीमा नाम राख्नेछ । म आफैँले पनि यो अन्तिममा तिर्छु भनेको थिएँ । अहिले पैसा छैन, मैले के गरुँ त ?’’ उसले प्रतिप्रश्न ग¥यो ।
प्रसंग मोड्दै फेरि बोल्यो, “अनि तिमी कताबाट यता आयौ त ?’’
“म खास अंकलकोमा हिँडेको थिएँ ।’’ अलिकति व्यावहारिक काम छ, त्यसैले आएको । संयोगवश, तिमीसँग भेट भयो । सायद, अब छिट्टै हाम्रो भेट होला, नहोला । “म आजको रात तिमीसँगै बस्छु है’’, मैले उसलाई प्रस्ताव राखेँ । उसले प्रस्तावमा समर्थन जनायो ।
मैले अंकललाई भोलि मात्र आउने जानकारी गराएँ । हामी चिया खाइसकेर उसको कोठातर्फ निस्किँयौँ । ऊ दीपेन्द्र चोकनजिकै बस्थ्यो । चोकमा पुग्दासम्म उस्ले धेरैलाई हाई, हेल्लो, नमस्ते, अभिवादन गरिसकेको थियो ।
झमक्क साँझ परिसकेको थियो । ‘‘कोठामा को–को हो ?” मैले प्रश्न गरेँ । प्रत्युत्तरमा आफूसँगै बस्ने भाई घर गएकाले एक्लै भएको बतायो । त्यसो भए होटलमा खाना खाऔँ न त भनेँ । उसले हुन्छ भन्यो । ऊ खाना बनाउन निकै अल्छी गथ्र्यो । हामी त्यहाँबाट कालिका एफएम भएको पूर्णिमा चोकमा भएको होटलमा
गयौँ । खाना अर्डर ग¥यौँ । उसलाई फोन आइरह्यो । सायद, विद्यार्थीहरुको फोन हुनुपर्छ । उनीहरुले ऊसँग जानकारी र सहयोग मागिरहेका थिए ।
“कति आएको तिमीलाई फोन ? तिमी त सूचना केन्द्र नै हो’’, मैले उसलाई घोच्दै भनेँ ।
उसले हाँस्दै भन्यो, “सूचना केन्द्र होइन यार, सेवा केन्द्र भन न । स्ववियु निर्वाचन नभएको पाँच वर्ष भइसक्यो । निर्वाचन भैदिए त छोड्थेँ भनेको, हुँदै हुँदैन । अचेल त क्याम्पस जान पनि जाँगर चल्दैन, तर के गर्नु जानैप¥यो ।’’
खाना आयो । हामीले थपीथपी खायौँ । त्यसपछि उसको कोठातर्फ लाग्यौँ ।
चोकनजिकै रहेको एउटा घरको भुइँ तल्लामा थियो, उसको कोठा । कोठामा दुईवटा खाटहरु थिए, दुईवटा टेबलहरु । एउटामा खाना बनाउने, अर्कोमा लेखपढ गर्ने । एउटा मात्र झ्याल र त्यसमा पर्दा टाँगिएको थियो । भुइँमा कार्पेट थिएन । सिलिङमा पुरानो पंखा झुन्डिएको थियो । भित्तामा आठ–दसवटा जति प्रमाणपत्र र सम्मानपत्र टाँगिएको थियो । प्रमुखअतिथि, अतिथि, आयोजकका ब्याच, कार्डहरु प्रशस्तै देखिन्थ्यो । भित्तामै खोपी पनि रहेछ । त्यसमा साहित्यिक, राजनीतिक र विज्ञानका पुस्तकहरु टम्म पारेर राखिएको थियो । त्योचाहिँ लोभलाग्दो थियो । ऊ आफैँले एउटा गजलसंग्रह प्रकाशित गरेको थियो । त्यसका केही प्रतिहरु पनि थिए । खाटबाट पल्टेर हेर्दा देखिने ठाउँमा बाबाआमाको फोटो राखिएको थियो । आडमा उसको र बहिनीको बाल्यकालको फोटो पनि थियो । कम्युनिस्ट पार्टीका नेताहरुको फोटो पनि थिए त्यहाँ । उसको बाबुआमाको फोटो देखेर मैले सम्झिएँ, उहाँहरुलाई । म उसको घरमा एमएस्सी पढदापढ्दै पुगेको छु । उसको गाउँ मेघौली । त्यहाँको पयर्टन महोत्सवमा, उसैको निम्तोमा । हाम्रो चार जनाको टोली पुगेको थियो । उसको बाबा पनि सामाजिक कार्यकर्ता नै हुनुहुन्थ्यो । बाबाछोरा ठयाक्कै उस्तै, उसैगरी बोल्ने । बाबा महोत्सव तयारी समितिको गन्यमान्य पदमै रहेछन् । आमा अलि सोझी र कम बोल्ने हुनुहुन्थ्यो । उसको सानो परिवार, सुखी परिवार थियो । हामी महोत्सव घुम्यौँ । हात्ती चढ्यौँ । जंगल, मन्दिर आदि घुम्यौँ । भरपूर मनोरञ्जन लियौँ । उसका बाबुआमाले फेरि–फेरि आउन आग्रह गरे । पढाइ–लेखाइमा ध्यान दिन सम्झाए ।
कोठामा ऊ र म एक–एकवटा खाटमा पल्टियौँ । झ्याप्प लाइन गयो । उसले इमर्जेन्सी लाइट बाल्यो ।
“यस्तै छ यार देशको अवस्था । जलस्रोतको धनी देश, लोडसेडिङको धनी देश हुँदैछ ।’’ ऊ बोल्यो ।
लामखुट्टेको तिखो आवाज कानसम्म प्रस्ट आयो । “के छ अरु राजनीतिक हालचाल ?’’, मैले उसलाई सोधेँ ।
“के हुन्छ ? राजनीति स्वार्थमा अल्झिएको छ । तिमीजस्ता युवाहरु विदेशिन्छौ । राष्ट्रको ढुकुटी खर्च गरेर प्रमाणपत्र हातमा परेपछि देश छोड्छौ । सबै बिर्सन्छौ । अनि कसरी राजनीति सप्रन्छ, कसरी देश बन्छ त ?’’ उसले मलाई मन दुख्ने गरी भन्यो ।
“अनि तिम्रो विद्यार्थी राजनीति कहाँसम्म पुग्यो त ?’’ मैले प्रसंग मोड्ने हेतुले सोधेँ ।
उसले भन्यो– ‘के गर्नु यार, महाधिवेशनमा टिकट नै पाइएन । उम्मेदवारी फिर्ता लिनुप¥यो । म त बिदा भएँ । विद्यार्थीको, कार्यकर्ताको मात्रै प्रिय भइएछ । नेताको प्रिय हुन सकेको रहेनछु । विद्यार्थी राजनीति नै गर्छु भन्ने थियो, पाइएन । तर पनि त्यति धेरै दुःख लागेको छैन । जे हुन्छ, राम्रै हुन्छ । फेरि मलाई राजनीति गर्ने ठाउँ छँदै छ नि, स्ववियुको सभापति, त्यो पनि आजीवन ।’
ऊ हाँस्न थाल्यो, म पनि हाँसे । एकछिन हाँसोमय भयो । उसले सँगालेर राखेका पत्रपत्रिकाका कटिङहरु देखायो । मोबाइलमा भएका रेकर्डिङहरु सुनायो, भिडियोहरु देखायो । सबै विद्यार्थी आन्दोलन र रचनात्मक कार्यक्रमहरु थिए । आन्दोलनमा प्रहरीले बेसरी कुटेको दृश्य पनि देखायो । मलाई दुख्यो, त्यो हेर्दा । मलाई खुसी र गर्व पनि लाग्यो । उसको हिम्मत र क्रियाशीलता देख्दा । किनकि, ऊ अझै पनि सक्रिय नै थियो । पार्टीको अहिले उसको जिम्मेवारी भनेको संगठित सदस्य मात्र रहेको बतायो उसले । मैले मनमनै सोचेँ । जिम्मेवारी त दिनु नि यसलाई पार्टीमा, मरिमेटी काम गर्छ । पार्टी र संगठन भनेपछि हुरूक्क हुन्छ । हुन त, पार्टीमा स्वार्थ, भागबन्डा र गुटकै कुरा हुन्छ । नेतृत्वसँग नजिक हुनुपर्छ । यो त पाए आफैँ नेतृत्व गर्ने खालको, नत्र भए नेतृत्वभन्दा टाढा रहने मान्छे थियो । यत्तिकैमा उसको मोबाइलमा घन्टी बज्यो । उसको घरबाट आएको थियो त्यो । उसले हुन्छ म सबै व्यवस्था गर्छु, नआत्तिनू भन्यो । उसकी आमाले उसलाई घरमा बोलाएकी थिई । औषधि, बैंकका बारेमा कुरा ग¥यो । म नयाँ वर्षमा घर आउँछु भन्दै फोन राख्यो ।
फोन राखेपछि उसले भन्यो– “घरमा बाबा बिरामी हुनुहुन्छ, सोही कारणले आमा पनि बिरामी
हुनुहुन्छ । दुवैको औषधि लैजानु पर्ने छ । आमाले औषधि लिएर आउनू भन्नुभएको छ । दुवै जनालाई मासिक ७–८ हजारको नियमित औषधि खानुपर्छ । औषधि पसलमा २ महिनाको पैसा तिर्नै बाँकी छ । यो समेत गरेर ३ महिनाको हुन्छ । दिने हो कि हैन तनाव……?’’
उसले खुइय ग¥यो । हामी दुवै एकछिन चुपचाप भयौँ । “तिमीले कहाँ–कहाँ पढाउछौँ हँ ?’’ मैले शून्यता चिदै सोधेँ ।
“कहाँ पढाउनु नि, पढाउँदिनँ ।’’ उसले भन्यो ।
“किन त ? कलेज पढाउँथ्यौ, हैन र ?’’ मैले सोधेँ ।
काठमाडौँ महाधिवेशनपछि झ्याप्पै संविधानसभाको चुनावले छोयो । म चितवनको ५ नं. क्षेत्रमा खटिएको थिएँ । त्यो यहाँबाट निकै टाढा छ । तर, कलेजमा नियमित पुग्नुपथ्र्यो, म पुग्न सकिनँ । म चुनावमा धेरैजसो माडीतिरै भएँ । कलेजबाट बारम्बार फोन आउँथ्यो । आफू जनताकै घरमा व्यस्त भइयो । फोन उठाउन पनि मेसो मिलेन । फोन उठाएको बेलामा आउँछु भन्थेँ । तर कुरा मात्रै भयो, आउने काम भएन । कलेजले निकै ताकेता ग¥यो, तर म पुग्दै पुगिनँ । पार्टी भनेपछि म हुरूक्कै हुने, म त्यसैमा भुलेँ । कहिले मोबाइलको टावर नटिप्ने ठाउँमा, कहिले चार्ज नहुने, यस्तै–यस्तै भयो । अर्को कलेजले पनि बोलाएको थियो, त्यहाँ पनि यस्तै भयो । दुवै कलेजमा एक पटक पनि पुग्न सकिएन । संविधानसभाको चुनावमा हाम्रो क्षेत्रमा पार्टीले हा¥यो, मेहनत पनि खेर गयो । त्यहाँबाट फर्केपछि आफूलाई यी दुवै कलेजमा जान अप्ठयारो लाग्यो, आफ्नै पाराले गर्दा । त्यसैले, अहिले त म बेरोजगार नै छु यार । उसले टाउको कन्याउदै भन्यो ।
“तिमीले यसो गर्नुहुँदैन थियो ।’’ मैले उसलाई भनेँ । “हेर त, को छ र पार्टी र संगठन भनेर आफ्नो रोजीरोटी छोडेर हिँड्ने । यो तिमीले ठूलो भूल ग¥यौ । तिमीले आफ्नो लागि जे गरे पनि बाबाआमाको लागि सोच्नुपथ्र्याे, सोच्न सकेनौँ ।’’
मैले थपेँ, “पार्टीले सहयोग गरेको होला नि त । तिमी पनि पार्टी कार्यकर्ता, तिम्रो बाबा पनि कार्यकर्ता । कम्तीमा पनि बाबाको उपचार खर्चमा केही हेरेको होला नि ?’’
“पार्टीले हामीलाई हेर्ने होइन, हामीले पार्टीलाई हेर्ने हो । पार्टीका निम्ति हामीले योगदान दिने हो, तब त पार्टी अगाडि बढ्छ र समयमै संविधान बन्छ । पार्टीबाट हामीले आफ्नो व्यक्तिगत स्वार्थ आश गर्नाले त आज पार्टी बिग्रेको छ । तसर्थ, मैले पार्टीका नेताहरु कसैलाई पनि सहयोगका लागि भनेको छैन ।’’ उसले पार्टीप्रति बफादार हुँदै भन्यो, मानौँ कि उसैले पार्टी जोगाउने जिम्मा पाएको छ । म प्रस्ट भएँ उसको कुराबाट । उसले पार्टीबाट कुनै सहयोग पाएको रहेनछ ।
त्यत्तिकैमा कसैले कोठाको ढोका ढक्–ढक् ग¥यो । ऊ उठेर ढोका खोल्यो । उसको घरभेटी रहेछन् ।
“खै त कोठाभाडा दिएको ? महिना–महिनामा भाडा तिर्नुपर्ने, ३ महिनामा दिन्छु भन्यो । त्यो पनि नाघेर ४ महिना पुग्न लागिसक्यो । यसरी हुँदैन । यसरी बस्न त आफ्नै घर बनाउनुपर्छ । यो महिना मरेपछि ४ महिनाको भाडा तिरेर कोठा छोड्नू । मैले जबरजस्ती निकाल्नु नपरोस् ।’’ घरभेटीले रवाफ देखाउँदै बोले ।
ऊ चुपचाप सुनिरह्यो । घरभेटी यति वाणी दिएर फर्किए । मलाई भने साह्रै नरमाइलो लाग्यो ।
मैले उसलाई भनेँ, ‘प्लिज यार मैले भनेको मान, विदेश जाऊ । हेर त यत्तिको पढेको मान्छेलाई भिसा पनि सजिलै लाग्छ, टन्न पैसा कमाऊ । त्यसपछि जे मन लाग्छ, त्यही गरौला । आफू पनि व्यवस्थित हुनुपर्छ । यहाँ जति गरे पनि केही हुनेवाला छैन, सधैँको अभाव मात्र । अबको १० वर्षसम्म यो देश यस्तै रहन्छ । मलाई विदेश जाने सबै प्रक्रिया थाहा छ । भोलि नै जाऊ, हिँड काठमाडौँ । म पूरै सघाउँछु तिमीलाई ।’
उसले यसको प्रतिक्रियामा भन्यो, “मैले अघि नै भनेको होइन तिमीलाई ? पढेका युवाहरु विदेशिनु हुन्न भनेर । हेर, पैसा मात्रै ठूलो होइन, यो देशलाई हाम्रो खाँचो छ । म त फेरि विद्यार्थी राजनीतिमा सक्रिय छु । समाज बदल्ने जिम्मेवारी मेरो काँधमा छ । युवा विद्यार्थीहरुको नेता हुँ । म नै विदेशिएँ भने यिनीहरुमा के छाप पर्ला ? यसै त, अहिलेका युवा विद्यार्थीमा राजनीतिप्रति वितृष्णा छ । असल राजनीतिले देश डो¥याउन नसक्दा निराशामा बाँचेका छन् । त्यसैमाथि, स्ववियु सभापति, जिल्ला अध्यक्ष भइसकेको मान्छे । एक दिन संगठनको केन्द्रीय नेतृत्वमा पुग्ने चाहना राख्ने मान्छे नै विदेशियो भने यो समुदायमा के प्रभाव पर्ला ? केवल हीनताबोध हुने छ, राष्ट्र तथा राष्ट्रियताप्रति अनि नेपाली हुनुप्रति । त्यसपछि त झन् देशमा सचेत युवा विद्यार्थीको खडेरी पर्ने छ । देश कहिल्यैं माथि नउठ्ने गरी तल पर्ने छ । हामी सधैँ पछि पर्ने छौँ ।’’
उसले बोल्दाबोल्दै मैले फेरि सोधेँ, “त्यसो भए अब के गर्छौ त ?’’
उसले थप्न थाल्यो, “आजसम्म जे भयो–भयो, म यो देशमा नै बस्छु । आफ्नो शिक्षालाई आय आर्जन र उत्पादनसँग जोड्छु । आफ्नो क्षमताको भरपूर उपयोग गर्छु । मैले यहाँ सुन्दर सपना देखेको छु । म यो माटोमा सुन फलाउँछु । सबै युवा विद्यार्थीहरुलाई देशमै बसेर देशकै निम्ति लागिपर्न पे्ररणा दिन्छु । म आफू पनि व्यवस्थित हुन्छु र अरुलाई पनि व्यवस्थित हुने बाटो देखाउँछु । राजनीतिलाई देश परिवर्तनको दिशामा लगाउँछु ।’’
उसले बोल्दाबोल्दै रिचार्ज वाला लाइट मधुरो हुँदै निभ्यो । उसले मोबाइलको घडी हे¥यो, सवा १० बजेको थियो ।
उसले भन्यो “लाइट त पूरा चार्ज नै भएको रहेनछ । तिमीलाई थकाइ पनि लागेको होला, सुतौँ है अब । मैले हुँदैन, रातभरि कुरा गर्ने भनेर हाँसेँ । ऊ पनि हाँस्न थाल्यो । हामी हाँस्दै आँखा चिम्लिँयौँ, तर म निदाउन नै सकिनँ । उसका कुराहरु मनमा खेलिरह्यो ।
(सभापति, स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पस)
Discussion about this post