–होमनाथ सापकोटा
रत्ननगर । धार्मिक क्षेत्रहरुको अवलोकन गर्न चितवन आउनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार चितवनवासीले स्वागत गरेका छन् । सिमरा हुँदै चितवन आउनु भएका उहाँलाई रत्ननगर, खोलेसिमल, जुटपानी र पदमपुरमा स्वागत गरिएको थियो । पूर्वराजाका निकटस्थ र समर्थकहरुले उहाँलाई स्वागत गरेका हुन् । पूर्वी चितवनका गुम्बा र मन्दिरमा पूजा गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाहले जनताले चाहे राजसंस्था फर्कन सक्ने संकेत गर्नुभएको हो ।
उहाँले देशमा अन्योलको वातावरण कायमै रहे राजसंस्था फर्कन सक्ने दावी गर्नुभएको हो । ‘जनताले हाम्रो भूमिका चाहे भने हामी कहिँ पनि गएका छैनौं’, उहाँले प्रष्ट पार्नुभयो । शाहले नयाँ बन्ने संविधानमा आफनो भूमिका स्पष्ट पार्नसमेत आग्रह गर्नुभएको छ । उहाँले संविधानले सबैको अधिकार स्थापित हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नयाँ आउने संवैधानिक दस्तावेजमा हाम्रो पनि भूमिका उल्लेख गरियोस् भन्ने हामीले चाहेका छौँ, उहाँले थप्नुुभयो, सबैले चाहेको संविधान बनोस् हाम्रो कामना छ । संविधानमा आफूलाई निषेध गरे त्यो बुद्धिमानी नहुने उहाँको ठहर थियो । उहाँले देशमा शान्ति र अमनचयन स्थापना गर्न दलहरु असफल भएको बताउनुभयो । ‘जति हुनुपर्ने हो, त्यो भएन’ उहाँले थप्नुभयो, ‘यसरी जनतालाई दुःख दिनु भएन । शान्ति स्थापनाको लागि दलहरुले प्रयास गरिरहेको भए पनि पर्याप्त नभएको उहाँको ठम्याइ थियो ।
‘शान्ति स्थापनाको लागि प्रयास भएजस्तो देखिन्छ, तर जनताले अनुभूति गर्न पाएनन्’ उहाँको गुनासो थियो । शान्ति र जनतामा अमनचयन दिन के मिलेको छैन्, त्यो नमिलेका कुरा छिट्टै मिलोस् उहाँले कामना गर्नुभयो । देश अन्योलको स्थितिमा गुज्रिएकाले जनताले दुःख पाएको भन्दै उहाँले देशलाई अन्योलको भुँमरीमा नपार्नसमेत आग्रह गर्नुभयो । देशको समृद्धिका लागि आफूले खेल्नुपर्ने भूमिकामा रहेर काम गर्न तयार रहेको भन्दै उहाँले जनताले आवश्यकता महसुस गरे अगाडि सरेर काम गर्न तयार रहेको बताउनुभयो ।
बिहान साढे ११ बजे रत्ननगर आउनुभएका शाहलाई हजारौँ शुभेच्छुक, विभिन्न दलका कार्यकर्ताहरुले न्यानो स्वागत गरेका थिए । पूर्वराजा पैदलै हिँडेर हरिहर मन्दिरसम्म पुग्नु भएको थियो । सोही क्रममा जनताले पूर्वराजाको जय गान गाएका थिए ।
हरिहर मन्दिरमा पूजा सम्पन्न गरेपछि जुटपानीको खोलेसिमल बजारमा आयोजना गरिएको स्वागतमा सहभागी हुनुभएको थियो । सो कार्यक्रममा उहाँले जनतासँग भेट गर्नुको साथै उनीहरुको गुनासो पनि सुन्नुभएको पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो ।
शाहले स्वागत ग्रहण गर्नुको साथै जनतालाई अंकमालसकेत गर्नुभएको थियो । पूर्वराजासँग कुरा गर्ने अवसर पाएकी खोलेसिमलकी वर्षा पुलामीले देश र जनताको समस्या सामधानको लागि काम गरिदिन आग्रह गरेको बताउनुभयो । यस क्षेत्रको विकास निर्माण र देश र जनताको लागि काम गर्न आग्रह गरेकी छु, उहाँले भन्नुभयो । शाहले जुटपानी–६ कमलचोकमा रहको ढोकुवा थावालिङ गुम्बामा पूजाआजा गर्नुभएको थियो । उहाँले गुम्बामा बसेर प्रार्थनासमेत गर्नुभएको थियो । सबैभन्दा धेरै समय गुम्बामा खर्चिनुभएका उहाँले गुम्बा परिसरमा पनि जनतासँग भेट गर्नुभएको थियो ।
त्यस्तै पदमपुरमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले जनतासँग भेट गर्नुभएको थियो । मन्दिरमा पूजा गर्ने भनिए पनि उहाँलाई जनतासँग भेट गर्न भ्याइ–नभ्याइ थियो । पूर्वराजाले शुक्रबार पूर्वी चितवनका धार्मिक क्षेत्र तथा जनतासँग भेट गर्ने र आज शनिबार नारायणगढमा आयोजना गरिएका कार्यक्रम र मठ मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको राष्ट्रवादी मुल समारोह समितिका सहसचिव हरि अधिकारीले जानकारी दिनुभयो ।
शनिबार शाह नारायणी कला मन्दिरमा पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा सहभागी भई नारायणगढकै पशुपतिनाथ गौरेश्वर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव रामराज सिंहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
Discussion about this post