–केशव अधिकारी
धादिङ । बिहीबार धादिङको चरौंदीस्थित तरकारी संकलन केन्द्रमा ३० रुपैयाँ प्रतिकेजीमा बिक्री भएको काँक्रो त्यही दिन काठमाडौँको बजारमा ८० रुपैयाँ केजीमा बिक्री भइरहेको थियो । यसैगरी सोही दिन २५ रुपैयाँ केजीमा किसानले बेचेको गोलभेंडा कालीमाटीको तरकारी बजारमा पुग्दा ८० रुपैयाँ केजीमा धमाधम बिक्री भइरहेको थियो ।
काँक्रो र गोलभेंडामात्रै होइन, चरौंदीमा ९० रुपैयाँ प्रतिकेजी बिक्री भएको तिते करेला काठमाडौँमा प्रतिपाउ ४० रुपैयाँमा बिक्री हुँदै
थियो । तरकारी तथा फलफूलको बजार र मूल्य नियन्त्रण गर्ने सरकारी तथा अन्य संयन्त्र नहुँदा तरकारी बजारमा विचौलियाहरुको चलखेलले उत्पादक र उपभोक्ता ठगिनेक्रम बढ्दै गएको छ ।
तरकारी उत्पादक किसानहरुले खोजेको बेला उत्पादन सामग्री (बीउ, मल, विषादी, भिटामिन) नपाउनु, उपभोक्तामुखी बजारसम्बन्धी जानकारी नहुनु, गाउँसम्म बाह्रै महिना चल्ने सडक सञ्जालको अभाव, उत्पादक कृषकहरु असंगठित हुनु, कृषि उपज वस्तुको न्यूनतम मूल्य निर्धारण नतोकिनुजस्ता कारणले किसानहरुलाई बिचौलियाले प्रत्येक दिन ठग्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।
यसैगरी तरकारी उत्पादक किसानले पाउने अनुदान स्पष्ट नहुनु, प्रभावकारी बीमाको अभाव, आफूले उत्पादन गरेको तरकारी कालीमाटी तथा अन्य तरकारी तथा फलफूल बजारमा लगेर विचौलियालाई सुम्पिनुपर्ने वाध्यताका कारणले पनि किसानहरुमाथि स्थानीय व्यापारी र बिचौलियाहरुको हावी बढ्दै गएर ठगिनेक्रम पनि बढ्न पुगेको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्ट बताउँछन ।
तरकारी तथा फलफूलको बजार र मूल्य नियन्त्रण गर्ने सरकारी तथा अन्य संयन्त्र प्रभावकारी नहुँदा धादिङमा प्रतिकेजी ४५ रुपैयाँमा बिक्री हुने तनेबोडी काठमाडौँमा पुग्दा प्रतिपाउ ४५ रुपैयाँमा उपभोक्ताले किन्नु परेको छ । गाउँमा बाबुआमाले किलोमा बेचेर लिएको पैसाले काठमाडौँलगायत शहरमा छोराछोरीले पाउमा तरकारी किन्नुपर्ने बाध्यता रहेकोे बेनिघाट गाविस– ५ किटिनीका दिवस उप्रेती बताउँछन् ।
किटिनी गाउँका अगुवा तरकारी तथा फलफूल उत्पादक कृषक शिव उप्रेतीका छोरा दिवस बाबुले तरकारी खेती गरेर कमाएको रकमले काठमाडौँको सामाखुसीमा रहेको आर्शिवाद कलेजमा बीबीएस तेस्रो वर्षमा र छोरी देवकी सोही कलेजमा बीबीएस दोस्रो वर्षमा पढ्दै छन् । बेनिघाट गाविसको विकटमा रहेर पनि १५ वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका उप्रेती परिवारसँग आफूले बेचेको तरकारी काठमाडौँ पुग्दा छोराछोरीले चौबर मूल्य तिरेर किन्नु परेको
अनुभव छ ।
विचौलिया प्रथा अन्त्य नभएसम्म कृषक उकासिन नसक्ने धारणा कृषि क्षेत्रका अगुवाहरुको छ । नेपालको सबैभन्दा धेरै तरकारी तथा फलफूल बिक्री हुने कालीमाटी फलफूल तथा तरकारी बजारलाई सहकारीकरण गरेर मूल्य निर्धारण गर्न सकेमात्र किसानहरु ठगिनबाट बचाउन सकिने धादिङकै सबैभन्दा धेरै किसानहरु सदस्य रहेको कृषकसुधार फलफूल तथा तरकारी उत्पादक सहकारी संस्थाका कोषाध्यक्ष रमेश उप्रेतीको भनाइ छ ।
कृषकहरुको सहकारीलाई देशका विभिन्न शहरहरुमा सहकारी पसल सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माण गरी सहजरुपमा उत्पादक कृषक आफै वा सहकारीले कृषि उपज वस्तु बेच्ने व्यवस्था गरिनुपर्ने उप्रेती बताउँछन् । कृषक सहकारीमार्फत् तरकारी बिक्री गर्न सके बजार सञ्चालनका समस्या पहिचान गर्ने, बजार सञ्चालन गर्दाका अनुभव आदानप्रदान गर्ने र मूल्य श्रृंखलाबारे उपभोक्तालाई समयमै जानकारी गराउन सकिने सहकारीकर्मीको भनाइ छ । धादिङ जिल्लाबाट वार्षिक एक अरबभन्दा बढीको तरकारी काठमाडौँको बजारमा बिक्री हुने गरेको छ । जिल्लामा व्यवसायिक तरकारी उत्पादक किसानको संख्या बढेसँगै किसानले भोग्नु परेको समस्या, फलफूल तथा तरकारी संकलन केन्द्र र उपभोक्ताले भोग्नु परेको समस्या तथा समाधान गर्नुपर्ने पहलहरुको विषयमा जिल्ला स्तरमा छलफल भए पनि कार्यान्वयन भने हुन नसकेको किसानहरुको भनाइ रहेको छ ।
Discussion about this post