देवघाट । गलेश्वर आश्रमबाट सञ्चालन भएको देवघाटधाम धर्मार्थ अस्पताल अव नयाँ व्यवस्थापनका साथ सञ्चालन हुने भएको छ ।
देवधाम क्षेत्रभित्रका गरिब तथा विपन्न परिवार एवम् वृद्ववृद्वालाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्धेश्यले आगामी जेठ २ गतेदेखि अस्पताल नयाँ ढंगले सञ्चालन गर्न लागिएको अस्पताल व्ववस्थापन समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिए ।
अस्पताल सञ्चालनका लागि चितवन मेडिकल कलेजसँग १९ बुँदे सम्झौतासमेत भइसकेको छ । देवघाटक्षेत्रभित्रका गरिब तथा स्वास्थ्य सेवाबाट बञ्चित जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न र चितवन मेडिकल कलेजसँग आवद्ध विद्यार्थी तथा रेजिमेन्टहरुलाई फिल्ड प्रशिक्षण एवम् अनुसन्धान गर्ने थलोको रुपमा अस्पताल रहने सम्झौतामा उल्लेख छ । सम्झौता–पत्रमा चितवन मेडिकल कलेजका तर्फबाट अस्पतालका निर्देशक डा. दयाराम लम्साल र अस्पताल समितिका तर्फबाट सदस्य टंकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।
डाक्टर र ल्यावको अभावमा सेवा दिन नसकेको सो अस्पताल १५ शैयाको रहनेछ । अस्पतालमा ल्याब, एक्सरे, दन्त परीक्षणलगायत सम्पूर्ण सुविधा दिइने बताइएको छ ।
देवघाट धर्मार्थ अस्पतालका अध्यक्ष स्वामी आत्मानन्द गिरी महाराजको परिकल्पनामा निर्मित सो अस्पताललाई पुनः व्यवस्थित रुपमा सञ्चालन गर्न टंकनाथ पौडेललाई अन्य अस्पतालसँग समन्वय गर्ने जिम्मा दिइएको थियो । पौडेलले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएपछि स्वास्थ्य सचिव प्रविण मिश्रमार्फत मन्त्रालयबाट अस्पतालका लागि १० लाख रुपैयाँ प्राप्त भएको छ ।
Discussion about this post