फोहोरको मान्छे (कथा)

अन‌ि यो पनि

–देवकी केसी

‘फोहोरको मान्छे आयो’, मणिरामलाई देख्नासाथ एउटै आवाज हुन्थ्यो सबैको । मणिराम हेर्दा पनि साँच्चै फोहोरको थुप्रोझैँ देखिन्थ्यो ।

उसको भित्री पाटोलाई चिरफार नगरी सर्सती बाहिरी आवरणलाई मात्र नियाल्ने हो भने ऊ साँच्चै फोहोरको मान्छे नै थियो । उसको बाहिरी आवरण नियाल्दा यस्तो लाग्थ्यो, बिसौँ वर्ष भयो होला उसको शरीरले साबुनपानीको स्पर्श पाएकै छैन, अब त उसको कपडाको गन्ध पखाल्न पनि एक ट्याङ्कर पानीले पनि पुग्दैन होला ! उसले लगाएको ज्याकेट कसैले काम नलाग्ने भएर उसको शरीरमा परेको थियो कि त फोहोरले खाएर झुत्रो भएको सीधै अड्कल गर्न सकिन्थ्यो ।

ज्याकेटभित्रको हाफ गन्जी जीउको मयल टाँसिएर सेतो हो वा कालो छुट्टयाउनै मुस्किल पथ्र्यो आँखालाई । नीलो क्वाटर पाइन्टको पनि हालत उस्तै मयलले कालो हो कि नीलो छुट्टयाउनै मुस्किल । कपडाले छोपिएका ठाउँमा मयल नदेखिए पनि मणिरामको गोडामा हेर्ने हो भने मयलको खानीझैँ लाग्थ्यो ।

उसका गोडामा एक जोडी च्यातिएका बिजोडी चप्पल त्यो कहाँबाट आयो थाहा छैन । तर अनुमान सजिलै गर्न सकिन्छ, कसैले फालेको ठाउँबाट टिपेर मणिरामको गोडामा एक जोडा बेजोडा चप्पल परेको थियो । उसका टाउकोमा ठाउँ नभएर होला, जुम्राहरु निधारदेखि गालातिरसम्म यात्रा गर्दै थिए ।

शरीरका मयल, जुम्रा र फोहोरले खान लाग्दा पनि मणिरामलाई मतलब छैन । फाटेका बोरामा भेटिएका कागज, लुगाफाटा सबै कोचेर हिँडेको मणिरामलाई बोराको प्वाल परेको भागबाट लुगाफाटा र कागज खस्न लाग्दा पनि पत्तो छैन । एक हातले बोरा काँधमा राखेको छ र अर्को हातमा कसैको फालेको मिनरल वाटरको बोतल टिपेर बेताल र बेढङ्गसँग हिँडेको मणिरामलाई देख्दा पागलको संज्ञा नदिने मान्छे को होला र ! उसको नजिक जाने आँट गर्ने भेटिँदैन थिए । भूलवश उसको नजिक कोही परिहाले भने पनि छ्या भन्दै नाक समातेर तुफानसरी दौडन्थे ।

मणिराम आफ्नै दुनियाँमा मस्त थियो । दुनियाँले उसलाई कुन नजरले हेर्छ त्यो त उसको मस्तिष्कले विश्लेषण गर्न सक्तैन, तर टुङ्गो नभएको आफ्नो गन्तव्यमा पुग्न संघर्षरत थिए उसका पाइलाहरु । हिँड्दाहिँड्दै थाकेर होला, नाउँ चलेको कलेजको गेटअगाडि नै पुगेर ऊ आफ्नो बोरा बिसाएर थचक्क भुइँमा बस्यो । अल्लि पर कागजको टुक्रो र डटपेन देखेर ऊ छिटो पाइला लम्काउँदै त्यो कागजको टुक्रो र डटपेन टिपेर ल्याउँछ । आफ्नो हातबाट बोतल भुइँमा राख्छ । बोतलको पिँधमा थोरै पानी देखिन्छ । त्यसपछि मणिराम आफूले भेटेको थोत्रो कागज र डटपेनलाई सदुपयोग गर्दै त्यहीँ केही लेख्न थाल्छ ।

कागज र कलम थोत्रो किन नहोस्, त्यसमा अथाह शक्ति हुन्छ । कागज र कलम त अजम्बरी हुन् भन्ने बुझेर नै हुन सक्छ ऊ बाटोमा भेटिएको एक टुक्रो कागजलाई पनि सदुपयोग गर्दै थियो, तर के लेख्दैछ मणिराम त्यो कागजको टुक्रामा त्यो त सायद उसैको मनलाई थाहा होला ! कयौँ सम्बन्ध कागजमै बन्छ र सम्बन्धको अन्त्येष्टि पनि कागजमै हुन्छ । कागजमा नै जीवन हुन्छ र मृत्यु पनि । मन, मुटु जोड्ने सन्धिदेखि नाता तोड्ने सन्धि, साँध–सिमानाको दायरा तोक्ने सन्धि पनि कागजमै हुन्छ । त्यसैले त कागजको अथाह शक्तिमा मणिराम पनि आफ्नो मनको कुनै कुण्ठा पोख्दै होला । त्यो त पागलको नजरले हेर्ने यो समाजलाई के थाहा र !

देशकै चर्चित कलेजको अगाडि एउटा फोहोरको मान्छेको उपाधि पाएको मणिराम एकसुरले कागजमा लेखिरह्यो । कलेजबाट सुकिलामुकिला पहिरनमा गलामा टाई ढल्काएर निस्कनेहरु मणिरामलाई गिज्याउँछन्, छ्या ! छ्या ! कस्तो गन्हाउने मान्छे, थुक्क भुइँमा थुके उसलाई हेर्दै । लात्ताले हिर्काएर उसको बोरा र मिनरल वाटरको बोतल पर हुत्याइदिए, तैपनि ऊ आफ्नै तालमा कागजमा लेखिरह्यो आफ्ना मनका कुण्ठा । उसका मनका कुण्ठा पोख्ने असल साथी हो त्यो निर्जीव कागज ।

शिक्षकहरुसँग रिस उठेको झोँकमा कापी, किताब च्यात्दै हावामा उडाउनेहरुको एक हुलले च्यातेर धुजाधुजा कागज मणिरामको जीउमा वर्षियो पुष्पवर्षा गरेझैँ, तर पनि उसले कागजमा एकचित्त लगाएर आफ्ना कुण्ठा खोप्ने काम रोकेन ।

सभ्यता, आचरण र भविष्यको असल बाटो कोर्ने कलेजबाट निस्केका ती सुकिलामुकिला जीवनहरुले देखाएको आचरणभन्दा त सयौँ गुणा सभ्य थियो त्यो पागल मणिरामको आचरण । गुरूभक्ति र नैतिकतालाई भुलेर कागजमा रिस पोखिरहेका तिनीहरुलाई एक टुक्रो कागजमा मेहनत पोखिरहेको मणिरामले ठूलो शिक्षा दिएझैँ लाग्थ्यो । आधुनिकताको होडबाजी र केवल पैसा सोर्ने बाटो अर्थात् कलेजहरुलाई लैनो भैँसी सम्झनेहरुले सभ्यता, आचरण र नैतिकता भन्ने सिकाउन नसकेकोमा पनि कुनै पश्चात्तापको बोध गरेजस्तो पनि भान हुँदैन । सभ्यता र संस्कारमा अ‍ैजेँरू पलाएर के भयो त, पैसा कमाएर सम्पन्नताको शिखरमा पुग्न सक्ने होडबाजीमा दौडिरहेका देखिन्थे कलेजहरु ।

मणिराम आफ्नो मनको गम्भीर पीडा ओकल्दै थियो, फोहोरमै भेटेको त्यो फोहोरी र बेवारिसे कागजमा । कलेजबाट निस्केका सुकिलामुकिला दिमागमा मणिरामजस्तो फोहोरको मान्छेको पीडा अटाएन । कलेजको गेटबाट हल्लाखल्ला गर्दै बाहिरिएका कतिका कागजहरु च्यातिएर हावामा उडे । कतिलाई चुरोटको धूवाँमा डुब्ने लतले हतारिँदै पसलसम्म दौडायो । सबैको बेग्लै संसार छ । उनीहरुलाई देख्दा यस्तो लाग्थ्यो, शिक्षा भन्ने शब्दभित्र संस्कार विलीन हुँदैछ । आधुनिकताको बिल्ला ओढेर शिक्षाले सभ्यता र संस्कारमाथि लात्ता बजारिरहेछ ।

मणिरामको विगतलाई कोट्टयाउँदै जाने हो भने रहर र क्षमता दुवै अथाह हुँदा पनि कलेजको सिमाना छुन नसकेको एउटा उपेक्षित मणि हो ऊ । वास्तविक मणिलाई चिन्न नसकेर मिल्काएको एउटा मणि ऊ । मान्छे मान्छेमा जातीयताको बन्धनको घेरामा कैद गर्ने यो समाजले ‘द’ जोडेर दलित कहलाएको परिवारमा हुर्केको एउटा मणि थियो मणिराम ।

आमाबुबाको मायामा चुर्लुम्म डुब्न नपाउँदै टुहुरो बनेको मणिरामको एउटै सहारा थिइन् डाँडामाथिको घाम उसकै बूढी हजुरआमा, उनकै सहारामा संसार नियाल्दै थियो ऊ । कमजोर पारिवारिक पृष्ठभूमिमा हुर्केको मणिरामको क्षमतालाई विश्लेषण गर्ने हो भने निकै अब्बल थियो हरेक कुरामा, त्यसैले त ऊ स्कुलमा समेत सबैको प्रिय थियो । जातमा सम्पूर्णता देख्ने र उच्चता खोज्ने वर्ग पनि उसको क्षमताको तारिफ गर्न पछि पर्दैनथ्यो ।

स्कुलमै सबैभन्दा राम्रो विद्यार्थीका रुपमा गनिन्थ्यो मणिराम । हेडमास्टरका छोरा सञ्जीव र ऊ एउटै क्लासमा पढ्दथे । सञ्जीव जहिले पनि पछाडि बेन्चमा बस्न मन पराउँथ्यो । हेडमास्टरको छोरा भएकाले मात्र सबैले माया देखाउँथे, तर ऊ पढाइमा सधैँ लद्दु र व्यवहारमा एक नम्बरकै उटपट्याङ्मा पर्दथ्यो । त्यसको बिल्कुल भिन्न स्वभावको थियो मणिराम । पढाइ, नैतिकता, आचरणमा सधैँ उच्च मणिरामजस्तै बनाउन सके त कस्तो हुन्थ्यो होला भन्ने चाहनाभन्दा पनि पहिले आफ्नो छोरालाई मात्र मणिरामजस्तो बनाउन पाए हुन्थ्यो भन्ने स्वार्थमा लिप्त थिए हेडमास्टर । त्यसैले त, सञ्जीवलाई मणिरामसँगै राख्ने र घुलमिल हुन निकै उत्साहित पार्दथे आफ्नो छोरालाई हेडमास्टर नै ।

मान्छेभित्र स्वार्थ पनि कति लिप्त हुँदोरैछ, एउटा संगठनको मुख्य तहमा रहेपछि संगठनभित्रका सबैलाई एउटै नजरमा राख्नुपर्नेमा विभेदपूर्ण नजरमा राखेर तौलन थाल्छ संगठनका मुख्य भन्नेहरुका आँखा नै । तर, ऊ अत्यन्तै मिलनसार र सहृदयी बन्यो सबैका माझ ।
समयको चक्र घुमिरहन्छ, पृथ्वीले सूर्यलाई परिक्रमा गरेझैँ । यसरी समयको घुमिरहने चक्रमा घुम्दैफिर्दै मणिराम पनि स्कुलको अन्तिम तहसम्म आइपुग्यो । स्कुलको अन्तिम तहमा पनि विशिष्ट श्रेणी हासिल गरेर आफ्नो विशिष्टतालाई कायम राखेको मणिरामको वाहवाही गर्न कसैले छाडेनन् । मणिरामले स्कुलकै नभएर जिल्लाकै नाउँ राखेकोमा हेडमास्टरको नाक निकै चुलियो, त्यसमाथि आफ्नो लद्दु छोरा सञ्जीवले पनि मणिरामकै सहयोगमा द्वितीय श्रेणीमा स्कुल जीवन पार गर्दा हेडमास्टरको भुइँमा खुट्टै थिएन एक हिसाबले । जीवनमा सायद आफ्नो छोरा यतिसम्म सफल होला भन्ने कल्पनासमेत गरेका थिएनन् हेडमास्टरले ।

अब कलेजको ढोकासम्म पुग्ने अवसर आयो, साँच्चै आफ्नो डाक्टर बन्ने सपना साकार पार्ने दिन आयो भन्ने खुसीमा मणिरामको गोडा उफ्रन थाले । धेरै मीठा सपनाहरु बुनेको थियो उसले आफ्नो जीवन उज्ज्वल भविष्यको । विशिष्ट श्रेणीको उसको सफलतामा लोभिएर उसलाई आफ्नो कलेजमा आकर्षित गर्न होडबाजी गर्न थाले । यस्तै होडबाजीमा कुनै कलेजको ढोकासम्म त ऊ पुग्यो । सुरूमा आकर्षित गर्न बिनालगानी कलेजको ढोकासम्म पु¥याए पनि अनेकौँ बहानामा उठाइने मोटो शुल्क तिर्न नसकेकै कारण मणिरामको कलेजयात्रा बीचमै अलपत्र प¥यो । नेपाल सरकारले आफ्नो नाउँमा छुट्टयाउने छात्रवृत्ति कोटामा समेत निकै भनसुन चल्ने र घोटाला हुने गरेको तीतो यथार्थलाई उसले आफ्नै आँखाले देख्यो र भोग्यो पनि । जातमा नाक खुम्च्याउनेहरु पनि आफ्नो नाउँको अनुदानमा मोज गर्न र घोटाला गर्न पछि हट्दा रहेनछन् भन्ने वास्तविकता बुझेपछि जातमा दम्भ राखेर आफूमाथि शोषण गर्ने ती वर्गसँग साह्रै रिस उठ्थ्यो उसलाई ।

गरिबीकै रापमा पिल्सिएको टुहुरो मणिरामले कलेजको यात्रालाई पूर्णता दिन सकेन । अन्ततः अभावले उसलाई कलेजबाट बाहिर गलहत्याएर उसका सारा सपनाका तुइनहरु नदी पार नगर्दै चुँडिए । सहारा र साथ दिने कोही भएन । सहाराको नाउँमा रहेकी एउटै बूढी हजुरआमाले पनि यो संसारबाट बिदा लिइन् । त्यसपछि मणिराम नितान्त एक्लो भयो । ऊ लक्ष्य चुम्न भौँतारिँदै हिँड्थ्यो, जता पनि गरिबीले उसलाई ठेस लगाउँदै लडाउँथ्यो मात्र । अधुरो लक्ष्यलाई पूरा गर्न सबैसँग साथ माग्यो, तर कसैले साथ दिन तयार भएनन् । त्यसैले, जीवन विक्षिप्त बनेपछि ऊ निराशामा डुब्न थाल्यो । त्यही निराशा र तनावले डिप्रेसन हुँदै अन्तमा पागलको दर्जासम्म पु¥याएको मणिरामको जीवनलाई गरिबीले एउटा मणिजस्तो जीवनलाई धूलोजस्तो तुच्छ बनाएरै छाड्यो । अभावले धेरै मणिहरु साँच्चै मणि बनेर चम्कन नसकेको हाम्रो समाजमा मणिराम पनि त्यस्तै मणि थियो, जसलाई मणिबाट यही समाजले फोहोर बनायो । सायद, अभावमा पनि साथ र सहयोग दिने हात भइदिएका भए मणिले सूर्यझैँ तेजिलो भएर करोडौँमाझ आफ्नो ज्योति छथ्र्यो होला, तर विडम्बना ! फोहोरलाई मणि बनाउन पर्ने, अर्थात् फोहोरमा मणि खोज्नुपर्नेमा जबर्जस्ती मणिलाई फोहोरमा मिल्काउँदै थियो हाम्रो समाज । योग्यता र क्षमतालाई धनको तराजुमा तौलन हाम्रो समाजले मणिरामलाई मणि बन्न दिएन जसको निकै ठूलो मूल्य चुकाउनुपर्छ समाजले, तर समाजले यो कुरा बुझ्नै सकेन वा त पैसामा बिकेर बुझ्नै चाहेन ।

कक्षामा सधैँ लद्दुको उपनाम पाएको सञ्जीव जसलाई आफ्नो योग्यता र क्षमता कति छ नै थाहा छैन, उसका न त कुनै लक्ष्य थिए न भविष्यको सुन्दरताको कल्पना नै । ऊ पुर्खाको सम्पत्ति मोजमस्तीमा उडाउनु आफ्नो लक्ष्य ठान्थ्यो र त्यसैमा रमाउनु नै एउटा सुखद भविष्य सम्झन्थ्यो । ऊ आफ्नो योग्यता, क्षमता र इच्छाले भन्दा पनि हेडमास्टर बाउको इज्जत राख्न जसोतसो पैसाको पहुँचमा डाक्टर बन्यो । उसलाई न त डाक्टरी पेसासँग कुनै रहर थियो, न त कुनै लगाव नै । इच्छा, पेसा, शक्ति र लगावबिनाको डाक्टरले कस्तो सेवा दिन्छ होला त बिरामीलाई !

कसैको रहरमा नाउँको अगाडि डाक्टर जोडिँदैमा सञ्जीवको क्षमतामा अभिवृद्धि कदापि हुने कुरा भएन । डाक्टर सञ्जीव भनेर नाउँ लिँदा हेडमास्टर बाउको नाक चुलिएर सगरमाथा हुन खोज्थ्यो । डाक्टर सञ्जीव नाउँको पैसाले बनाएको डाक्टरले सदरमुकामको हस्पिटलमा काम गर्न थालेदेखि हेडमास्टरको शान र फुर्ती निकै बढ्न थालेको थियो भने सोझा गाउँलेहरुले त डाक्टर सञ्जीव भनेर नढोग्ने कुरै भएन, किनकी उनीहरुको बुझाइमा डाक्टर भगवान् हो, ठूलो व्यक्ति हो, मर्न आँटेकाहरुको सञ्जीवनी बुटी हो डाक्टर ।

आफ्नो योग्यता र लगावले डाक्टर भएको भए पो काम पनि राम्रो हुन्थ्यो र भगवान्झैँ रोगीको सेवामा एकचित्त भएर लाग्थ्यो । कसैको करकापमा बनेको डाक्टरलाई केको भगवान बन्नु थियो र ! बिरामीको अप्रेसन गर्दा कयौँपटक शरीरभित्रै कैँची बिर्संदा बिरामीले रोगबाट मुक्ति पाउनुको साटो सास्ती पाउँदा पनि डाक्टर सञ्जीवलाई गल्तीको महसुस भएन । टाउकोको रोग लाग्दा पेटको उपचार गरे पनि, हातको अप्रेसन गर्नुपर्नेमा पाठेघरको अप्रेसन गरे पनि उसको पदलाई जोगाइराख्यो, हेडमास्टर बाउको पैसा र शक्तिले । जो मणि नै होइन, जसमा मणिमा हुनुपर्ने गुण नै छैन उसलाई मणि बनाउन खोजेजस्तै जसमा डाक्टरमा हुनुपर्ने गुण नै छैन ऊ डाक्टर बनेर अडिराखेको छ यो समाजमा । वास्तवमै क्षमता भएका व्यक्ति भने पिल्सिएर तनाव र डिप्रेसनको बाटोमा पुगेका छन् ।

डाक्टर भगवान् हो रे ! त्यही भगवान्को उपाधि पाएको डाक्टर सञ्जीवको हेलचेक्र्याइँले कयौँ मानिसले अकालमै संसार छाड्नुप¥यो भने त्यो पैसाले खरिद गरेको डाक्टर नाउँको पुच्छर जोडेको भगवान्को के अर्थ भो र यो समाजमा ! तर, यस्ता कुरालाई केलाएर छुट्टयाउने समाज आफैँ फोहोर के हो ? मणि के हो ? छुट्टयाउन नसक्ने अवस्थामा छ ।

सायद, यस्तै दुःखान्त जीवनगाथा कोर्दै होला त्यो फोहोरको थुप्रोमा फेला पारेको कागजको टुक्रोमा मणिराम ! त्यसलाई केलाएर यथार्थता छुट्टयाउन सक्ने क्षमता त यो समाजसँग छ वा छैन त्यो त थाहा छैन । तर, मणिराम एउटा यस्तो मणि हो जो फोहोरमा परिणत भएको थियो भने फोहोर र दुर्गन्ध लतपतिएका धेरै मानिसहरु छन्, फोहोरमा मणि खोज्ने वा मणिलाई फोहोर सम्झेर मिल्काएको टुलटुल हेरेर बस्ने भन्ने कुरामा आँखा नै अन्योलमा छन् । धेरैलाई मणि बनाउने मणिरामलाई फोहोरको डल्लो बनाउन खोज्ने यो समाजले कहिले वास्तविक मणि र फोहोरलाई छुट्टयाउन सक्ला भन्ने प्रश्नले बारम्बार सताउन थाल्छ ।

मणिरामको मनको बह निर्जीव कागजमा कोरिएर सकिएछ क्यारे, उसले जुरूक्क उठेर ती कागजमा कोरिएका मनका विरहलाई निकैबेर सम्म हे¥यो र त्यसैमा तप्प आँसु चुहायो अनि हावामा उडायो । सायद उसको त्यो अभाव, पीडा, टुहुरो र जातको घेराभित्र भोगेका दमनका कथा लेखिएको कागजको टुक्रा हावाले उडाएर भगवान्को अदालतमा पेश गर्ने र त्यहाँबाट आफूले न्याय पाउनेमा ऊ विश्वस्त थियो । फोहोरको मान्छेबाट मणि बन्न न्याय पाउने आशमा मणिरामका आँखा हावामा उडेको कागजलाई हेरिरह्यो ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया