विपद्सँगै रोगको जोखिम

अन‌ि यो पनि

असारको चौँथो सातासम्म देशका विभिन्न भागमा बर्सादका कारण बाढीपहिरो, नदी कटान, डुबानजस्ता समस्याले जनजीवन प्रभावित बनेको छ । मौसम विज्ञान विभागले प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा अत्यधिक वर्षा हुने अनुमान गरी चार दिनसम्म सतर्कता अपनाउन आग्रह गरेसँगै बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएको खबर सार्वजनिक भएको छ । पहिरोले डेढ दर्जन बढी घरसहित जम्मु बजार नै बगाएको छ । बाढीले वितण्डा मच्चाउँदा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौं रूपैयाँबराबरको क्षति पुगेको छ भने एक जना चिनियाँ प्राविधिकसमेत बेपत्ता भएका छन् । मनसुन सक्रिय हुँदा देशभरका नदीखोलामा पानीको बहाव बढेको छ । अविरल वर्षाका कारण बाढीपहिरोमा परेका मानिसको उद्धारमा समस्या भएको छ । देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण सयौँ व्यक्ति विस्थापित भएका छन् । विपद्सँगै विभिन्न जिल्लामा टाइफाइड र झाडापखालाका बिरामी बढ्दै गएका छन् । वर्षाको भेलले पानीको मुहान प्रदूषित हुन गई दूषित पानी र खानाका कारण ज्वरो र टाइफाइडका बिरामी बढेका हुन् ।

यसवर्षको वर्षायाममा कोरोना भाइरसको संक्रमणसँगै टाइफाइड, निमोनिया र झाडापखालाका बिरामी ह्वात्तै बढ्न थालेका छन् । सुदूरपश्चिम तथा तराईका क्वारेन्टाइनहरुबाटै कोरोना संक्रमण फैलिएको खबर आइरहेका बेला बाढीको पनि उच्च जोखिममा रहेको पाइएको छ । कर्णाली र बबई नदीको बाढी प्रभावित क्षेत्रका विद्यालयहरुमा सञ्चालित क्वारेन्टाइनहरु बाढीको उच्च जोखिममा रहेका छन् । यतिखेर सरकार सत्तारुढ दलभित्रको आन्तरिक कलहका कारण देशको मूल समस्या र आवश्यकता ओझेलमा परेको छ । यतिखेर जनताका समस्या समाधान गर्न र विपद्को सामना गर्न संसद् अधिवेशन सुचारू गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली नै दलगत र व्यक्तिगत स्वार्थका लागि संवैधानिक प्रावधान मिचेर संसद् अधिवेशन नै अन्त्य गरेर गैरजिम्मेवार बनेका छन् । जनताप्रति उत्तरदायी भएर संसदीय सर्वोच्चता स्वीकार गर्नुपर्नेमा सरकारकै अग्रसरतामा सडकमा नारा घन्किन थालेको छ । कोरोना महामारीको समयमा सडकमा नाराबाजीमा उत्रिँदा संक्रमणको जोखिमसमेत बढाएको छ । संविधानको धारा ९३ (३) मा प्रतिनिधिसभा बैठक बोलाउन आवश्यक भएमा सरकारले नचाहे पनि बहालवाला सदस्य संख्याको २५ प्रतिशतले लिखित माग गरे राष्ट्रपतिले बोलाउनुपर्ने व्यवस्था छ । कोरोना प्रकोप र प्राकृतिक विपद्को यस विषम परिस्थितिमा संसद् अधिवेशन खुलाउन सांसद्हरु अग्रसर हुनुपर्छ । अहिले हठात् संसद् अधिवेशन अन्त्य गर्नु भनेको जनताप्रतिको दायित्वबाट भाग्न खोज्नु हो । जिम्मेवार सरकारले जनअपेक्षाको सधैँ कदर गर्नैपर्छ ।

बर्सादका बेला सरूवा रोगका बिरामी बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाएर स्वच्छ पानी र खानेकुरामा विशेष ख्याल राख्नुपर्ने चिकित्सकहरुले सुझाव दिइरहेका छन् । दूषित पानीका कारण हेपाटाइटिस ए, सी र ई तथा झाडापखालाका बिरामी बढ्नुका साथै निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम पनि उत्तिकै बढाएको छ । वर्षायाममा पानीका मुहान दूषित हुने हुँदा पानी उमालेरमात्रै पिउन चिकित्सकले सुझाव दिइरहेका छन् । दूषित पानीको सेवन र सरसफाइको कमीले गर्दा भाइरस र ब्याक्टेरिया संक्रमणबाट टाइफाइडका बिरामी बढ्ने गर्छन् । टाइफाइड, हैजा, आउँ, झाडापखाला र रूखाखोकीजस्ता सरूवा रोग पनि दूषित पानी, हावा र खानाको माध्यमबाटै सर्ने गर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने रोग भएकाले यसको समयमा उपचार हुन नसके बिरामीको ज्यानसमेत जान सक्ने जोखिम रहन्छ । ब्याक्टेरियाबाट सर्ने सरूवा रोगबाट बच्न सर्वप्रथम पिउने पानीमै ध्यान दिनुपर्छ । सरसफाइका साथै सफा शौचालयको प्रयोग गर्ने, ताजा खानेकुराको सेवन गर्ने, साबुनपानीले हात धुने, वातावरण सफा राख्नेजस्ता आधारभूत कुराहरुमा ध्यान दिन सके हैजा र झाडापखालाबाट जोगिन सकिन्छ । बर्सादमा एकैसाथ विभिन्न रोगको महामारी फैलन सक्ने जोखिम भएकाले सरकारले सरूवा रोगको प्रकोप बढ्न नदिन सबै निकायमार्फत उच्च सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया