डिस्चार्ज भएको महिनादिनसम्म पनि देखियो कोरोना

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर–६ का पूर्णबहादुर खाँड जेठ ३२ गते कोरोना उपचार गराई डिस्चार्ज भए । उनी डिस्चार्ज भएर घर त गए, तर अहिलेसम्म पनि कोरोना पोजेटिभ नै देखिएको छ ।

‘घर आएर १५ दिनपछि जाँच गर्दा पनि पोजेटिभ नै देखायो’, खाँडले भने, ‘अब एक–दुई दिनमा देखाउने तयारी गरेको छु, हेरौँ केकस्तो रिपोर्ट आउँछ ।’ निको भनिएको अवस्था अर्थात् अरुमा संक्रमण नसर्ने भनेपछि उनी डिस्चार्ज भएका थिए ।

आफूहरुमा संक्रमण रहिरहे पनि कुनै समस्या भने नदेखिएको खाँडले बताए । जेठ ९ गते पोजेटिभ देखिनासाथ अस्पताल भर्ना भएका उनी २३ दिनको बसाइँपछि पोजेटिभ अवस्थामै डिस्चार्ज भएका थिए ।

कोरोना पोजेटिभ रिपोर्ट हुँदा पनि संक्रमणको जोखिम नभएको भन्दै उनलाई अस्पतालले घर पठाएको थियो । घर गएपछि पनि हालसम्म आफू होम क्वारेन्टाइनमै बसेको उनले बताए । उनका आमा र बाबु भने रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए । अहिले उनीहरु गाउँघरमा निष्फिक्री हिँड्डुल गर्ने गरेको पूर्णबहादुरले बताए ।

उनीसँगै डिस्चार्ज भएका नवलपुर देवचुलीका कमल सापकोटामा पनि अहिलेसम्म कोरोना पोजेटिभ नै देखिएको छ । ‘दस दिनअघि देखाउँदा पोजेटिभ देखियो, अस्ति फेरि जाँच्न दिएको छु, हेरौँ कस्तो रिपोर्ट आउँछ’, उनले भने । जाँच गर्ने प्रयोगशालाप्रति नै आफूलाई शंका लागेको उनले बताए । नेगेटिभ रिपोर्ट नआउँदासम्म अस्पतालले डिस्चार्ज गर्न नहुने उनी बताउँछन् ।

कोरोना विशेष अस्पतालकी इन्चार्ज डा. शान्ति भूर्तेलले रिपोर्ट पोजेटिभ आए पनि संक्रमणको जोखिम नभएकाले घर पठाइएको बताएकी थिइन् । अस्पतालले उनीहरुलाई सावधानीका साथ घरमै बस्नका लागि आग्रह गरेको थियो । तर, चिकित्सकहरु भने कोरोना नयाँ रोग भएको र यसका सबै तथ्य र प्रमाणहरु निरन्तर जाँचको प्रक्रियामा रहेकाले ठोस जवाफ दिन नसकिने बताउँछन् ।

भरतपुर अस्पतालका फिजिसियन डा. कालिदास अधिकारीले संक्रमणको १४ दिनपछि कोरोना भाइरस निष्क्रिय हुँदै जाने भएकाले यसको जोखिम कमभन्दा कम हुने बताए । ‘नसर्ने भन्ने कुरा शतप्रतिशत होइन, तर सम्भावना अत्यन्तै कम भन्ने हो’, डा. अधिकारीले भने, ‘तीन महिनासम्म पनि यसको संक्रमण देखिएको छ ।’

संक्रमणबाट निको हुँदै जाने अवस्थामा मृत भाइरसको रुपमा रहने र त्यसको जोखिम नहुने उनले बताए । कोरोना संक्रमणबाट बच्नका लागि सजगता भने आवश्यक रहेको उनले बताए । पोजेटिभ भएकाहरुसँगसँगै नसुत्ने, एकै ठाउँमा नखाने गर्नुपर्छ’, उनले भने, ‘न्यून जोखिम छ भनेर मनपरी गर्नुचाहिँ हुन्न ।’

 

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया