भरतपुर । पूर्वराजा ज्ञानेन्द्र साह राजसंस्था फर्काएर सक्रिय शासन गर्ने पक्षमा नरहेका उनका एक निकटस्थले जनाएका छन् । नारायणगढको होटल सेन्टर पम्पको सभाहलमा कांग्रेसले लोकतन्त्र दिवस मनाइ रहँदा बिहीबार त्यही होटलकै रेष्टुरेन्ट कक्षमा पत्रकार सम्मेलन गरेर राजाका निकटस्थहरुले सक्रिय राजसंस्था फर्काउने पक्षमा पूर्वराजा साह नरहेको स्पष्ट पारेका छन् ।
आज शुक्रबारबाट पूर्वराजा ज्ञानेन्द्रको चितवन भ्रमणका बारेमा जानकारी दिन अघिल्लो दिन बिहीबार सो पत्रकार सम्मेलन आयोजना गरिएको हो । पूर्वराजा ज्ञानेन्द्रको चितवन भ्रमणको स्वागतका लागि गठित राष्ट्रवादी मूल आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गरेको हो । सो अवसरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै साहका संवाद सचिव डा. फडिन्द्र पाठकले पूर्वराजा ज्ञानेन्द्र अहिले पनि देश शान्ति र सम्वृद्धि होस् भन्ने पक्षमा रहेका बताए ।
‘देश शान्ति र सम्वृद्ध होस्, देश सुखमय तरिकाले अगाडि बढोस् भनेर नै पूर्वराजा देशव्यापी मठमन्दिर तथा गुम्बाहरुको पूजा आरधानामा जुट्नु भएको हो’, पाठकले भने ।
२०६२÷६३ को आन्दोलनपछि भएको संविधानसभाको निर्वाचनको पहिलो वैठकले २०६४ जेठ १५ गते देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको घोषणा गरेको हो । यो घोषणालाई पूर्वराजा ज्ञानेन्द्रले स्वीकार गरेर गद्दि त्याग गरेका हुन् ।
केही पूर्वराजावादीहरुले सेरमोनियल भएपनि राजसंस्था फर्काउनुपर्ने वा राजसंस्थाका बारेमा निर्णय गर्न जनमतसंग्रह गर्नुपर्ने माग गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र देशभरका विभिन्न मठमन्दिरहरुमा पूजा आराधनामा हिँड्ने गरेका छन् । यसलाई केही विश्लेषकहरुले पूर्वराजाको जनतासँगको प्रत्यक्ष भेटघाटका रुपमा लिने गरेका छन् । उनका निकटस्थहरु यस्ता भ्रमणलाई देश शान्ति र सम्वृद्धिका लागि भनेर जवाफ दिने गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शुक्रबार सिमराबाट चितवन आउने कार्यक्रम रहेका पनि सो अवसरमा जानकारी दिइयो । दुई दिनसम्म चितवन रहँदा पूर्वराजा साह शुक्रबार टाँडी बजारमा स्वागतपछि रत्ननगरकै हरिहर मन्दिरमा पूजा अर्चनामा सहभागी हुनेछन् ।
सोही दिन उनले पदमपुरको बौद्ध गुम्वामा पूजा गरेपछि जुटपानीमा सर्वसाधरणसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । शुक्रवार नै पूर्वराजा साहको पश्चिम चितवनको मेघौलीमा पनि कार्यक्रम रहेको छ ।
Discussion about this post