रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने अमल्टारी मध्यवर्ती क्षेत्रमा सञ्चालित थारू होमस्टे पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
घरेलु वातावरण र थारूको परिकारमा रमाउनका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् । अग्यौलीको बाघखोरमा सञ्चालित २१ होमस्टेमा विभिन्न जिल्ला तथा नेपाल बाहिरबाट समेत पर्यटकहरू आउने गरेको होमस्टे व्यवस्थापन समितिका सचिव छन्नुराम महतोले बताउनुभयो ।
चितवनको तराई भूपरिधि (ताल) कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टेले एक वर्ष नपुग्दै करिब आठ हजार पर्यटक भित्र्याउन सफल भएको महतोले बताउनुभयो । होमस्टेबाट अहिलेसम्म रु २४ लाख रकम आम्दानी भएको र सो रकमको १० प्रतिशत होमस्टे सञ्चालनका लागि खर्च गर्ने गरिएको महतोको भनाइ छ ।
अतिविपन्न समुदाय जङ्गलमा आश्रित हुन नपरोस् र वनजङ्गल र वन्यजन्तुको संरक्षण होस् भन्ने उद्देश्यले होमस्टे सञ्चालनका लागि सहयोग गरेको ताल कार्यक्रमका प्रतिनिधि तथा चितवन निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादवले बताउनुभयो ।
होमस्टेमा बस्ने पर्यटकहरूलाई जङ्गल सफारी, गैँडा अवलोकन तथा नारायणीमा डुङ्गा सफारीसमेत गराइने गरिएको छ । यहाँको बोटे र थारू सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेर थारूहरूले पर्यटकलाई लोभ्याउने गरेका छन् ।
विगतमा आयआर्जन नहुँदा जङ्गल मासिने गरेकामा अहिले संरक्षण भई नजिकैको सामुदायिक वनमा समेत गैँडा खेल्ने गरेकाले पर्यटकहरूको आकर्षण थपिएको होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताउनुभयो ।
Discussion about this post