जिल्ला प्रशासन कार्यालय चितवनमा सेवाग्राहीहरुले ठूलो राहत महसुस गर्न थालेका छन् । अहिले सेवाग्राहीले समयमै सेवा नपाएको, बिचौलियाबाट ठगिनु परेको र एक दिनमै बन्ने काम दुई दिनसम्म कुर्नुपर्नेजस्ता समस्या सिसी क्यामेरा जडान भएपछि टरेको छ । प्रशासन कार्यालयमा नागरिकता र राहदानी निर्माणका क्रममा करोडौँ अनियमितता हुने गरेको गुनासो सुनिँदै आएको थियो । विकट गाउँबाट नागरिकता र राहदानी बनाउन आउनेहरुसँग बिचौलिया र प्रशासनका कर्मचारीहरुको मिलेमतोमा रकम असुल्ने गरेको जनगुनासो प्रशासनले खेप्दै आएको थियो । तर, प्रत्यक्ष प्रमाणको अभावमा कर्मचारीलाई कारबाही र बिचौलियालाई नियन्त्रण गर्न सम्भव भएको थिएन । तीव्र जनगुनासोकै कारण जिल्ला प्रशासनले त्यस्ता अनियमितता नियन्त्रण गर्न सिसी क्यामेरा जडान गरेपछि अहिले यो प्रविधि प्रभावकारी बनेको छ ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष तथा जिल्ला प्रहरी कार्यालयबाटै निगरानी गर्न सकिने गरी बाह्रवटा सिसी क्यामेरा जडान भएको छ । यो प्रविधि जडान भएपछि कार्यालयको कामसमेत छिटोछरितो हुने गरेको छ । नागरिकताको प्रमाणपत्र र राहदानीबाटै वार्षिक ६ करोड राजस्व जिल्ला प्रशासन कार्यालयबाट संकलन हुँदै आएको छ । पहिले प्रशासन गेटबाहिर बस्ने बिचौलिया कर्मचारीका रुपमा नागरिकता तथा राहदानी फाँटमा पसेर अनियमितता गर्दै आएको गुनासो थियो । बिचौलियाबाट रकम असुल्न कर्मचारीहरुसमेत राहदानीका फाइल बाहिरका टेबल र पसलसम्म पु¥याउँदै आएका थिए । प्रशासन कार्यालयमा सुधार आउन नसकेपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले सिसी क्यामेरा जडान गर्ने अभियान सुरू गरेका हुन् । शर्माको अनुपस्थितिमा पनि क्यामेराले कार्यालयभित्रको गतिविधि रेकर्ड गर्ने भएपछि कर्मचारीहरु नियमित हुन थालेका हुन् ।
दैनिक करिब ६० वटा राहदानी र ८० देखि सयसम्म नागरिकता प्रशासनबाट वितरण हुने गर्दछ । सामान्य रुपमा पाँच हजारमा बन्ने राहदानी छिट्टै बनाइदिने प्रलोभन दिएर बिचौलियाहरुले दोब्बर रकम असुल्दै आएका थिए । त्यस्तै, द्रुत सेवाअन्तर्गत दस हजार शुल्क लाग्ने राहदानीका लागि त्योभन्दा बढी भ्रष्टाचार हुने गरेको थियो । अहिले कर्मचारीहरु कार्यालय समयमै आउने र पाँच बजेसम्म आफ्नो फाँटमा बसेर सेवाग्राहीको सेवामा जुट्छन् । कार्यालयलाई व्यवस्थित बनाउन विद्युतीय हाजिरी मेसिनको पनि सुरूवात गरिएको छ । सेवाग्राहीलाई तुरून्त सेवा प्रदान गर्न नागरिकता तथा राहदानी वितरणमा इलेक्ट्रोनिक्स टोकन प्रणाली लागू भएको छ । कार्यालयले विद्युतीय नागरिक बडापत्रसमेत सुरू गरेको छ । सिसी क्यामेरा जडान हुनासाथै झन्झटिलो कामसमेत सहज रुपमा सम्पादन हुन थालेपछि सेवाग्राही खुसी भएका छन् । प्रशासन कार्यालयमा देखिएको यो उदाहरणीय कामको थालनी अन्य कार्यालयमा पनि हुनसके सेवाग्राहीलाई ठूलो राहत मिल्ने अपेक्षा गर्न सकिन्छ ।
Discussion about this post