–केशव भट्टराई
नेपालीहरुले धुमधामले नयाँ वर्ष मनाए होलान् । होलान् भन्नुप¥यो, कसरी मनाए भनेर देखिएन । आफूले चाहिँ बेग्लै ढंगबाट मनाइयो । नयाँ वर्ष मनाउने सोच त साताअघि नै बनेको हो । साथीहरु मिनेट–मिनेटमा ‘अपडेट’ भइरहेका थिए । चैत्र मसान्तको दिउँसैदेखि गेट–टुगेदर भएको थियो । सफ्ट ड्रिङ्कको चुस्कीसँगै साँझसम्म अर्कै दुनियाँमा प्रवेश गरिएकोे थियो । खुट्टा लर्खराउँदै मापसे चेकिङ छल्दै आफ्नै दरबार आइएको थियो । त्यहाँ महारानीले केहीबेर प्रवचन दिनु भो । भोजन ग्रहण गरेपश्चात् केहीबेर गीतसङ्गीतको दुनियाँमा उडान भरियो । जहाँ उदाएकी थिइन् हलिउड अभिनेत्री इभा लंगोरिया, अमेरिकी अभिनेत्री क्यामरन डियाज, अस्ट्रेलियाली अभिनेत्री निकोल किडम्यान, स्वप्न किन्नरी साकिरा र अरु थुप्रै मायालु मोरीहरु…।
निद्राले सताए पनि पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्न अरु थुप्रै स्वप्न सुन्दरीहरुले भरपूर रमाइलो थपेका थिए । १२ बजेर १ मिनेट जाँदा महारानी मस्त निद्रामा हुनुहुन्थ्यो । ‘ह्याप्पी न्यू इयर’ भनेर उठाउन खोज्दा एक मिटर पर सर्नु भो । त्यसपछि साथीहरुसँग ‘वीस’ गर्न खोज्दा मोबाइल नै स्वीच अफ भैदियो । साथीहरु जाग्रामै थिए कि थिएनन् कुन्नि ? आफैँले आफैँलाई शुभकामना दिएर लागेँ मेरी ‘न्यू गर्लफ्रेन्ड’ समीरालाई भेट्न । पूर्वनिर्धारित कार्यक्रमअनुसार मेरो उडान भयो– बलिउड अभिनेत्री समीरा रेड्डीलाई भेट्न अन्तर्राष्ट्रिय जेट एअरको ७२७ नम्बरको पहिलो फ्लाइटमा ।
विमानको यात्रा सुखद रह्यो । विमानमा रातभर रमाइलो भएको थियो, रङ्गीन नयाँ वर्षको । संयोग पनि कस्तो भने ‘एअर होस्टेज’ नेपाली नै परेछिन् । उनले आत्मीयताका साथ सर्भ गरिरहिन्, घन्टौँसम्म । उनको नाम पल्पसा रहेछ । अहा, कति राम्रो नाम ! मैले उसलाई न्यू इअर वीस गर्दै भनेको थिएँ, म स्वीट्जरल्यान्डमा भेट्न जाँदैछु समीरालाई । समीराको नाम लिएपछि उसले जिब्रो टोकेकी थिई । विदेशीमै के छ त्यस्तो स्वदेशी पनि कम छैनन् है, पल्पसाले जिस्क्याएकी थिई । आकासमै हिँड्ने आकासमै सुत्ने र आकासमै मर्नेसँग के माया लगाउनु र ? मैले थपेको मात्रै के थिएँ, स्वदेशीसँगै माया गाँस्ने भए धर्तीमै बसौँला नि ? भनेर मलाई मख्ख बनाइदिई । आँखा अनिँदो भएको थियो, त्यसमाथि उसले माया मिसाएर भरिदिएकी थिई केही पेग ।
एकछिन झकाएछु कि क्या हो, आँखा खोल्दा पल्पसा मुसुक्क मुस्कुराउँदै केही सर्भ गरुँ कि भनिरहेकी थिई । मैले उसको आग्रहलाई कसरी अस्वीकार गर्न सक्थेँ र ? त्यतिबेला बिहानको ४ बजेको हुँदो हो । आकास चमचम चम्किरहेको थियो । नौ लाखे ताराहरुले अझै उज्यालो थपेका थिए । मानौँ, नयाँ वर्षको उत्साहले पड्काइएको ठूलो पटाका विस्तारित भएर आकास पूरै ढाकेको थियो । र, त्यसैमा लेखिएको थियो– नयाँ वर्ष–२०७१ को शुभकामना । अनि फर्फराइरहेको रातो चन्द्रसूर्य अंकित झन्डाले गरेको थियो स्वागत । केही समयपछि नै विमान ल्यान्ड भयो । पल्पसाले स्वीट्जरल्यान्डको नियोन एअरपोर्ट आइपुगेको संकेत गरी । ऊसँग पुनः नयाँ वर्षको शुभकामना साटेपछि एउटा लालीगुराँसको पूmल उपहारस्वरुप दिएकी थिई । उही समीराको केश राशीमा लगाइदिनका लागि ।
नियोन एअरपोर्टको दक्षिणतर्फको भव्य लबीमा प्रतीक्षारत थिई समीरा । चारैतिर फूलको सुगन्ध फैलिरहेको थियो । भुइँमा आकर्षक ढंगले ओछ्याइएको थियो रातो कार्पेट । मेरा दुवैतर्फ थिए बडीगार्डहरु । भीआईपी कक्षमा प्रस्थान गर्नुअघि हातमा बुफे फूलको गुच्छा लिएर अघि बढेकी थिई समीरा । उसले न्यानो स्वागत गर्दै ‘हग’ गर्दा म रातोपिरो भएको थिएँ । हाम्रा अघि फोटोग्राफरहरु फोटो खिच्न मग्न थिए । त्यसैबेला मन्द गतिमा चुम्बन गरेकी थिई समीराले । यतिबेला समीरालाई उचालेर तीन फन्का नाँचुजस्तै लागेको थियो मलाई । तर, भीआईपी कक्षमा ‘मास’को पनि हेक्का राख्नुपर्ने भएकोले त्यसो गर्न सकिनँ । त्यसलगत्तै हामी एयरपोर्टबाट बाहिरिऔँ । उसले बिएमडब्लु कार ‘हायर’ गरेकी रहिछ । स्वीट्जरल्यान्डका एक से एक पत्रकार बलिउड अभिनेत्री र कलिउड पत्रकारको रोमान्सबारे ‘स्कूप’ मार्न चाहिरहेका थिए । विडम्बना, ती पत्रकारहरुलाई समय दिनै भ्याइएन ।
म अघिल्लै दिनदेखि अनिँदो थिएँ । त्यसमा पनि पल्पसाको मायाले भरिएका पेगहरुको ‘ह्याङ ओभर’ सकिएको थिएन । रियल म्याड्रिड क्लबको उत्तरी छेउमा अवस्थित ग्रीन पास्को इन रिजर्टमा स्वीट रूम बुक गरेर हामीले स्न्याक्स लियौँ । केहीबेर भलाकुसारी पनि ग¥यौँ । समीराले स्वीमिङ कस्टम लगाउँदै गर्दा म झन्डै–झन्डै बेहोस भएको थिएँ । भगवान्ले कति सुन्दर बनाउन सकेका हुन् भनेर । ‘डाइफ’ हान्नुअघि मैले उसको खैरो मिश्रित केशराशीमा लालीगुराँस फूल सिउरिदिएको थिएँ, उसले मुस्कुराउँदै भनेकी थिई, ‘थ्याङ्क यू डियर ।’ मैले पनि ‘बेलकम माई हनी’ को न्यानो अभिवादनसहित अँगालो मार्न भ्याएको थिएँ । अनि भ्याएको थिएँ, मायाले भरिएको चुम्बन गर्न । अनि झ्वाम्म हामी हाम फालेका थियौँ– नीलो कञ्चन स्वीमिङ पुलमा । पौडी खेल्दाखेल्दै हाम्रो दुई मुटु एक भइसकेको थियो । जे हुनु नहुनु सबै भइसकेको थियो ।
यति राम्रो रोमान्स चलिरहेकै बेला मलाई पछाडिबाट कसैले भकुर्दै थियो । ममाथि कुचैकुचोको निर्मम प्रहार गरिरहेको थियो । त्यो पनि आफ्नै दरबारकी महारानीबाट । जसले पहिलो दिनमै कोशेलीस्वरुप कुचोको वर्षा गराएर उद्घाटन गर्नु भो, नयाँ वर्षको । म एकातिर थिएँ, सिरक अर्कोतिर थियो अनि सिरानी मेरो काखैमा थियो….। हत्तपत्त उठेर भनेँ– ‘सरी, समीरा म्याम…।’
समीराको अप्रत्याशित नाम सुनेर उहाँ झनै आक्रोशित हुनु भो । को समीरा ? कहाँकी समीरा ?? महारानी एकाएक आगो हुनु भो ।
‘ह्याप्पी न्यू इअर महारानीज्यू ।’ यति भनेर म उठेँ । ज्यान मक्किएको थियो । अधुरो सपनालाई पूर्ण बनाउन कल्पनाको सागरमा डुबुल्की मार्दै निस्किएँ मर्निङवाकमा । केही समयपछि भेटिए, एक मित्र दाहिने हात झुन्ड्याउँदै । नयाँ वर्ष मनाउने क्रममा बिचराको हातै मर्किएको रहेछ । अन्तर्राष्ट्रिय राइनो चोकमा ट्राफिकको चेकिङ चलिरहेको रहेछ । ट्राफिकलाई छलेर भाग्ने क्रममा बाइक घिस्रिएछ । नयाँ घर बनाउने महापुरूषले सडकमै थुपारेको बालुवामा चिप्लिएर । अनि ‘ब्यान्डेज’ बानेर मर्निङवाकमा निस्किएका रहेछन् ।
समीरासँग स्वीट्जरल्यान्डमा डेटिङ गएर भर्खर आएको खबर सुनेपछि ती साथी झन्डै ‘सेन्टिफ्ल्याट’ भएका थिए । उनले एक जना ‘डेन्टिस’ साथी हस्पिटलमा भर्ना भएकोे ताजा खबर सुनाए । र, गइयो भेट्न डी एण्ड डी कम्युनिटी हस्पिटलमा । उनलाई हस्पिटलको क्याविन नम्बर १ मा भर्ना गरिएको थियो । हाम्रो उपस्थितिले मात्र उनलाई आधा सञ्चो भएको थियो । र, सकी–नसकी हाँस्न खोजिरहेका थिए । सिस्टरहरु उनलाई धेरै नबोल्न सुझाइरहेका थिए । बिचराको अगाडिको दाँतै भाँचिएको रहेछ । दुईवटा त उनैको डेन्टलमा फेरेको हो । बाँकी दुईवटासमेत नमज्जाले भाँचिएको थियो । नयाँ वर्ष मनाएर फर्किने बेला दुई ग्याङबीच हानाहान हुँदा बिचराले छुट्याउने प्रयत्न गरेका रहेछन् । दुवैतर्फको आक्रमणबाट शरीर थिलथिलो भएको थियो भने दाँत गन्नुपर्ने अवस्था सिर्जना भएको थियो । ग्याङवालाहरुले केही घन्टामै ‘कम्प्रोमाइज’ गरे । उनले कम्पनसेसनसमेत पाएनन् । बिचराले बिनासित्तिमा गोदाइ खाए । उनलाई आफ्नो दाँतको मायाभन्दा पनि दाँत बनाउँदा पैसा नआउने भएकोमा बढी चिन्ता थियो । भन्दै थिए– ‘यति दाँत अरुको भरिदिएको भए १५ हजार कमाइ हुनेथियो ।’
हस्पिटलमा अर्को एक जना उस्तै प्रकृतिका बिरामी थिए । उनीे बोल्न सकिरहेका थिएनन् । घटना नयाँ वर्षकै अवसरमा भएको रहेछ । नयाँ वर्षको नयाँ बिहानीसँगै पाँचै बजे उनको जोडी मौलाकालिका मन्दिर पुगेको रहेछ । भक्तिपूर्वक पूजाआजा गरेर फर्किंदा बाटोमा ‘लभर पार्क’ देखेछन् । त्यस पार्कमा बसेर फोटो खिच्नेको लर्को देखेर उनीहरुको मन पनि लोभिएछ । उनकी गर्लफ्रेन्डले दुवै जनालाई सम्मुख बनाएर फ्रन्ट क्यामेराले फोटो खिच्ने क्रममा ‘एक्सिडेन्ट’ परेको रहेछ ।
सिँढी उक्लिँदै गर्दा लभरपार्कमा जम्काभेट भएपछि केटीको दाजुले केटोलाई तोरीको फूल देख्ने गरी मुक्का प्रहार गरेको रहेछ । त्यसपछि दुवै जना बित्तातोड भागेर ज्यान बचाएका रहेछन् । मन्दिर दर्शन गर्न जाँदै गरेका कारण घटना गम्भीर हुन पाएको थिएन । एक्कासि बर्सिएको मुक्काबाट केटोको च्यापु फुटेको थियो । मुख सुन्निएको थियो । उसकी प्रेमिकाले ‘आइस’ले सेक्दै थिई, प्रेमीको सुन्निएको च्यापु । उसलाई भेट्न जूस लिएर आएका थिए साथीसँगीहरु । उसले जूसको डिब्बा हेरेर घुटुक्क थुक निलेको थियो । उसकी गर्लफ्रेन्ड तप्पतप्प रातो आँसु झारेर विलाप गरिरहेकी थिई । निधारको रातो टीका पग्लिएर आँखामा मिसिइरहेको थियो ।
केही घन्टाको हस्पिटल बसाइँपछि केटीको दाजुको प्रवेश भएको थियो, ग्याङ स्टारकै शैलीमा । त्यसपछि त वातावरण नै स्तब्ध भयो । ड्युटीमा खटिएका सिस्टरहरुको सातो गएको थियो । हाम्रो मनसमेत अशान्त बनेको थियो । घाइते प्रेमी बेडबाट उठ्न खोजेजस्तो गरेको थियो । त्रासले आत्तिएकी उसकी गर्लफ्रेन्ड कालोनीलो भएकी थिई । आकासमा कालो बादल मडारिएझैँ । तर, उसको दाजु सोचेजस्तो डरलाग्दो रहेनछ । उसले संयोगवश हुन गएको घटनाको प्रायश्चित् गर्दै घाइतेसँग माफी माग्दा सबैले ‘सरप्राइज’ महसुस गरेका थिए । उतिबेलै उसले बहिनीको हात थमाइदिँदै भनेको थियो– ‘तिमीहरुको प्रेम युगौँसम्म बाँचिरहोस् ।’
उसले त्यसो भन्दा सबै खुसी भएका थिए । सबैभन्दा खुसी भएकी थिई उसकी बहिनी । एकैछिनमा पानी परेपछिको आकासजस्तो चम्किलो भएको थियो उसको अनुहार ।
नयाँ वर्षमा यस्ता घटनाहरु नै बढी भए । कति घटना त सुन्नै नहुने र सुनाउनै नहुने पनि भए होलान् । नयाँ वर्ष मनाउने नेपालीहरुको शैली देखेर विदेशीसमेत तीनछक परे होलान् । यस मानेमा भने नेपालीहरु आधुनिक कहलिएका छन् । अहिले नेपालीले जति खर्च गरेर नयाँ वर्ष मनाउन हत्तपत्त विदेशीहरुले आँट गर्दैैनन् । हाम्रा होनाहार युवाले मोबाइल हाफ मूल्यमा बेचेर भए पनि रमाइलो गर्न जानेका छन् । २ लाखमा किनेको बाइक ७५ हजारमा बिक्री गर्ने हिम्मत राख्छन् । स्वयंवरको औँठीसमेत नोटमा साटेर डान्स पार्टीमा रमाउन सक्छन् । कार बेचेर क्यासिनोको हिरो हुने सामथ्र्य राख्छन् । एक घन्टाको बसाइँमै हजारौँ बिल पेमेन्ट गर्ने हैसियत राख्छन् ।
पर्यटकीय क्षेत्रको खोलाछेउ प्रकृतिपान गर्ने क्रममा एक जना होटल व्यवसायीसँग साक्षात्कार भएको थियो । उसले सगर्व भन्दै थियो, ‘आन्तरिक पर्यटक नआउने हो भने त हाम्रा होटलहरुको भविष्य नै छैन । विदेशीले एक बोतल ड्रिंक गर्न दुई घन्टा समय लगाउँछ । नेपालीहरुले घन्टामै एक कार्टुनको बिजनेस दिन्छन् । मरून्जेल खाने, बिरामी परून्जेलसम्म पिउने नगरे त नयाँ वर्ष मनाएको मज्जै नहुने धारणा छ नेपालीहरुको ।’ एक भलाद्मीले त रेस्टुरेन्टमा कक्टेल्स पार्टीका लागि सामसुङ ग्यालेक्सी नोट थ्री नै ‘डिग’ राख्यो रे ।
यस्तै गरी नयाँ वर्ष मनाउने कति भए कुन्नि ? मापसेमा समातिएकाहरुले चाहिँ प्रहरी कार्यालयभित्रै शुभकामना आदान–प्रदान गरेर मनाए भन्ने सुनियो । कोही दिनभरि सुतेर नयाँ वर्ष मनाउने भेटिए । कसैले जीवनसँगिनीलाई माइत पठाएर दिनभरि नयाँ वर्ष मनाए । एक जना प्रेमीले नयाँ वर्षको पूर्वसन्ध्यामा प्रेम विनिमय गर्दा १८० सीसीको पल्सर नै गुमाउनु परेको थियो । त्यसपछि जोडी नाम नै ‘१८०–पल्सर प्रेमी’ हुन गएछ । प्रेममा परेपछि बाइक÷कार हराए पनि मतलब हुँदोरहेनछ ।
नयाँ वर्ष जसरी मनाए पनि हुन्छ । परिवारमै खुसी साटेर आ–आफ्नै तरिकाले नयाँ वर्ष मनाउन सकिन्छ । ‘एक गतेपछि पनि अर्को दिन आउँछ’ भन्ने कुरा हेक्का राख्न सके अरु धेरै–धेरै नयाँ वर्ष मनाउने सुअवसर पाइने छ । नेपालीका हरेक दिन उत्तिकै मह¤वपूर्ण बन्न सकून् । सुख, शान्ति र समृद्धि ल्याउन सकोस्, नयाँ वर्षले । ढिलै भए पनि सबैलाई शुभकामना ! उसो त, नेपालमा चाडपर्वहरु महिनैपिच्छे आउँछन्, जान्छन् । नेपाली नयाँ वर्ष ख्यालख्यालमा मनाउने हो । स्पेसल त पुससम्म पर्खनै पर्छ । म पनि समीरासँग होइन, आफ्नै महारानीसँग नयाँ वर्ष मनाउने प्रयास गर्दैछु । तपाईं नि ?
Discussion about this post