कोरोनासँगै खसीबोका चोरको डर : चोरीमा स्थानीयकै सक्रियता रहेको आशङ्का

अन‌ि यो पनि

भरतपुर । चितवनमा केही दिनयता खसीबोका चोरको बिगबिगी बढ्दै गएको छ । कोरोनाको डरमा बसिरहेका बेला खसीबोका चोरीका घटनाले भरतपुर महानगरपालिकाका वडा नं–१४, २२, २४ र २५ नं का किसान थप त्रसित बनेका छन् । सबैभन्दा धेरै वडा नं–२२ मा यो समस्या देखिएको छ ।

वडा अध्यक्ष विष्णुराज महतोका अनुसार वडा नं–२२ मा मात्रै चार जनाको ९ वटा खसीबोका हराएको मौखिक जानकारी आएको छ । ‘रातको समयमा बोलेरो गाडी नै लिएर खसीबोका चोर्न आएका भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘त्यसैले लिखित जानकारी नआए पनि मौखिक सूचनाकै आधारमा वडाको चासो भएको छ ।’

वडामा चोरको बिगबिगी बढेपछि इलाका प्रहरी कार्यालय गीतानगर र जिल्ला प्रहरी कार्यालय चितवनलाई शान्ति सुरक्षा र अनुसन्धानका लागि जानकारी गराइसकेको उनले बताए । ‘घटनाको प्रकृति हेर्दा स्थानीय नै चोरीमा संलग्न भएको आशङ्का गर्न सकिन्छ’, उनले भने, ‘बाहिरको मान्छे आएर नागरिक समाजलाई नै चुनौती दिने गरी यस्तो घटना गर्न सक्दैन ।’

वडा नं–१४ मा पनि अनौपचारिक जानकारी आएको वडा अध्यक्ष ओमप्रसाद पोखरेलले बताए । ‘सुन्दर बस्ती साइटमा खसीबोका चोरी भएको छ भन्ने सूचना पाएको छु’, उनले भने, ‘पीडितबाट लिखित जानकारी आएको भए अनुसन्धान गर्न सजिलो हुनेथियो ।’

वडा नं–२४ मा भने खसीबोका चोर्नेको सक्रियता बढ्दै गएपछि स्थानीय युवाहरुले गस्ती थालेका छन् । वडा अध्यक्ष कान्छा मल्लका अनुसार रातको समयमा युवाहरुले गस्ती थालेपछि समस्या दोहोरिएको छैन । ‘करिब १५ दिनअघि खसीबाख्रा चोर, कुखुरा चोरको कुरा आएको थियो, युवाहरुले गस्ती थालेपछि यो समस्या आएको छैन’, उनले भने । त्यतिबेला हराएको खसी पनि खोसेर ल्याएको उनले बताए ।

वडा नं–२५ मा पनि करिब एक महिनाअघि यस्तो चोरीका घटना बढ्दै गएपछि टोल विकास संस्था तथा बौद्धिक वर्गमा वडाबाटै सचेत गराएको वडा अध्यक्ष विजयकुमार भुजेलले जानकारी दिए । ‘अल्लि अगाडि चोरीका गतिविधि बढ्न थालेको थियो, टोल विकास संस्था र बौद्धिक व्यक्तित्वसँग छलफल गरेर सचेत गराएपछि आजभोलि समस्या देखिएको छैन’, उनले भने । लकडाउनका कारण दैनिक जीवनयापनमा असहज भएपछि तल्लोस्तरका सोच भएका बेरोजगार युवाहरु विकृतितर्फ मोडिएको हुन सक्ने उनले अनुमान लगाए ।

गएको १ महिनामा मात्रै करिब पाँच लाख मूल्यबराबरका खसीबोका हराएको स्थानीयको भनाइ उद्धृत गर्दै स्थानीय पत्रकार अपिल घिमिरेले बताए । असार ५, ६ र ११ गते राति भरतपुर–१४ का भुवन भण्डारीको घरबाट दुईवटा ब्याउने बाख्रा र भरतपुर–२२ का बलबहादुर परियारका दुईवटा खसी हराएको उनले बताए ।

जेठ १६ गते राति भरतपुर–२५ की तिलकुमारीको खोरबाट करिब ३० किलोबराबरका दुईवटा खसी, असार १४ गते राति सोही वडाका बुधनी थारु र शान्ति बोटेको एक–एकवटा माउ बाख्रा चोरी भएको उनले बताए ।

असार १९ गते भरतपुर–२२ का सञ्जीव सिंहको घरबाट दुईवटा ब्याउने बाख्रा र ३५ किलोबराबरको एउटा खसी, रामकृष्ण ढकालको खोरबाट दुईवटा खसी र शोभा रिजालको घरबाट एउटा खसी र ब्याउने माउ बाख्रा हराएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनले पीडितबाट गुनासो आएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । इलाका प्रहरी गीतानगर र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी परिचालन गरिने प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

‘इलाका प्रहरीबाट हामीले टोली खटाइसकेका छौँ’, उनले भने, ‘थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पनि टोली गठन गरेर त्यसतर्फ पठाउँछौँ ।’ केही दिनअघि पीडितको गुनासोकै आधारमा एउटा म्याजिक भ्यानलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।

आवश्यक प्रमाण नपुगेपछि त्यसलाई छाडिएको उनले बताए । शनिबार पनि प्रहरीमा घटनाबारे खबर आएकोले त्यसबारे थप ध्यानाकर्षण भएको उनको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया