नेपालमा पछिल्ला वर्ष लोकतन्त्र दिवसको औचित्यमाथि नै प्रश्न गर्ने गरिएको छ । २६ जना होनाहार नेपालीले जीवन बलिदान दिएको र हजारौँ घाइतेहरुले रगत बगाएको यो दिवस आठौँ वर्ष प्रवेश गर्र्दासम्म उत्साहपूर्वक मनाउने गरिएको छैन । पछिल्लो जनआन्दोलनको बलमा स्थापित लोकतन्त्र दिवसको आफ्नै मह¤व छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि लोकतन्त्र दिवसको उपेक्षा गर्नु मनासिव हुन सक्दैन । तत्कालीन संसद्वादी सात दल र नेकपा (माओवादी) बीच बाह्र बुँदे सहमतिपश्चात् सुरू भएको ०६२÷०६३ को उन्नाइस दिने अभूतपूर्व आन्दोलनबाट लोकतन्त्र स्थापना भएको हो । राजा ज्ञानेन्द्रको निरङ्कुश शासनबाट आजित भएका जनता विश्व समुदायलाई चकित तुल्याउने गरी सडकमा उत्रेपछि त्यही आन्दोलनको आँधीबेहरीले राजतन्त्रलाई जरैदेखि उन्मूलन गरेको थियो ।
यस्तो ऐतिहासिक दिवस भव्य रुपमा मनाउनु पर्नेमा दलहरुले औपचारिकतामा मात्रै सीमित गर्ने गरेका छन् । जनआन्दोलनको प्रभावले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो भन्ने कुरा बिर्सनु अन्याय हुन जान्छ । लोकले रूचाएको शासनव्यवस्थाका रुपमा लोकतन्त्र स्थापना भई अघि बढेको यतिका वर्षसम्म पनि यस दिनलाई विशेष दिनका रुपमा स्मरण नगर्नु दुःखको विषय हो । मुलुकमा २००७ साल, २०१७ साल, २०४६ साल, माओवादी विद्रोह वा मधेस आन्दोलनका बलबाट प्राप्त उपलब्धिहरु संस्थागत हुने क्रममै छ । नेपाली जनताको अभूतपूर्व सहभागितामा भएको उन्नाइस दिने आन्दोलनको सफलताबाट बीजारोपण भएको लोकतन्त्र दिवसको आठौँ वर्षगाँठ मनाइरहँदा पनि आन्दोलनका उपलब्धिहरु जगेर्ना हुन नसक्नु विडम्बना नै मान्नुपर्छ ।
बाह्र बुँदे सहमतिबाट हुर्किएको आन्दोलनको सफलता, सशस्त्र युद्धमा होमिएको माओवादी शान्तिपूर्ण राजनीतिमा आगमन, त्यसपछिको विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, मधेस आन्दोलन तथा संविधानसभाको निर्वाचनजस्ता घटनाक्रमबाट मुलुकले गति लिएको थियो । छ दशकपछि जनताले अपेक्षा गरेको निर्वाचनबाट संविधानसभा गठन भए पनि परिणाममुखी नतिजा नआएपछि २०६९ जेठमा संविधानसभाको असामयिक विघटन हुन पुग्यो । त्यसपछि राजनीतिक गतिरोधका कारण मुलुकमा संक्रमणकाल लम्बियो । गैरदलीय प्रधानन्यायाधीश नेतृत्वको सरकारमार्फत पुनः ०७० मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन भयो । र, मुलुकमा थोरै भए पनि त्यसले आशाको सञ्चार गराएको छ ।
ताजा जनादेशबाट संविधान बनाउने दायित्वसहित दलको नेतृत्वमै चुनावी सरकार बनेपछि लोकतान्त्रिक आन्दोलनले परिकल्पना गरेको शान्त, समुन्नत र समृद्ध नयाँ नेपाल बनाउने अभियानमा मुलुक अघि बढेको छ । सरकारले आगामी माघ ८ गते संविधान जारी गर्ने घोषणा गरेको छ । स्थानीय निर्वाचनसमेत गर्ने प्रतिबद्धता जनाएकोे छ । मुलुकमा मह¤वपूर्ण उपलब्धिहरु पनि भएका छन् । सेना समायोजन तार्किक निष्कर्षमा पुगेको छ । सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक र सहभागितामूलक लोकतान्त्रिक मूल्यमान्यताजस्ता अवधारणाले नेपाली भूमिमा बलियो जग बसेको छ । द्वन्द्वकालीन घटनाको छिनोफानो गर्न बेपत्ता खोजी तथा छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया सुरू भएको छ । यस्ता धेरै उपलब्धिहरु लोकतन्त्रबाटै प्राप्त भएको हो । यो दिवस मनाउन कसैले कन्जुस्याइँ गर्न आवश्यक छैन ।
Discussion about this post