श्यामजी अतिथि सेढाईं
काठमाडौँबाट बिहान प्रसारण हुने कान्तिपुर एफएमको धार्मिक कार्यक्रमबाट मैले चतराधाम सुनसरीमा हुन लागेको दोस्रो कुम्भमेलाका बारेमा सुनेको हुँ । पहिलो कुम्भमेला प्रथम पिण्डेश्वर कुम्भ महोत्सवका रुपमा २०५९ साल चैत्र ६ गतेदेखि १ महिनासम्म प्राचीन हरिद्वार चतराधाममा लागेको थियो । परापूर्वकालदेखि नै भारतको प्रयाग, हरिद्वार, उज्जैन, नासिकमा कुम्भमेला लाग्दै आएको छ । करोडौँ मानिस भेला भएर त्यहाँ कुम्भस्नान गर्दछन् । भारतीय धर्मसंस्कृति र पर्यटन व्यवसायमा यस पर्वले विशेष मह¤व राख्दछ । पृथ्वीमा मानवसागरका रुपमा यस मेलालाई लिइन्छ । हिमवत्खण्ड ऋषिमुनिहरुको तपोस्थल हो । यो नै हिन्दु धर्मसंस्कृतिको उद्गमस्थल पनि हो । नेपाल यसै पुण्यस्थलभित्र पर्दछ । त्यसैले यहाँका नदीनाला, तालतलैया, हिमश्रृंखलाहरु प्राचीन मह¤व बोकेर बसेका छन् । ऋषिमुनिहरुले प्राचीन ग्रन्थहरु, पुराणहरु यिनै ठाउँमा बसेर लेखेका हुन् ।
भारतवर्षको प्राचीन सभ्यता र संस्कृति हिमवत्खण्डबाटै निसृत भएको पाइन्छ । स्कन्ध पुराणमा लेखिएअनुसार नेपालमा अमृत कुम्भ उत्पन्न भएको हो । यो पाँचौँ कुम्भ हो र यो स्थान सुनसरी जिल्लाको सप्तकोशी नदीको किनार चतराधाममा पर्दछ । यसैलाई शास्त्रसम्मत रुपमा पाँचौँ कुम्भस्थल मानिएको छ । जगद्गुरू श्री मोहनशरण देवाचार्यज्यूले शास्त्रीय प्रमाणका आधारमा कुम्भमेलाको सुरूवात गराउनुभएको छ । यो मेला २०७० साल चैत्र शुक्ल प्रतिपदा, १७ गते सुरू भएर २०७१ साल वैशाख १९ गते समापन हुँदैछ ।
पूर्वाञ्चलको चतराधाममा करिब एक महिनासम्म चल्ने कुम्भमेला हेर्न दर्शनार्थीका रुपमा म र मेरा केही साथीहरु त्यसतर्फ प्रस्थान गर्छौं । म सानो छँदा विराटनगर गोश्वरामा जागिर खान पुग्नुभएका मेरा पिताजीबाट सप्तकोशी र कोका नदी तटमा अवस्थित बराह क्षेत्र, चतरामा रहेको औलिया मठ र कोशी टप्पुनजिकैको जंगलभित्रको रामधुनीका बारेमा सुनेको थिएँ । सुनेको आधारमा ती धार्मिक तीर्थको चित्र मेरो मानसपटलमा कोरिएर बसेको थियो । सौभाग्यवश यस पटक ती पुराना स्मरणलाई साकार रुप दिने मौका मिल्यो । हाम्रो गन्तव्य कुम्भमेलातिर भए पनि हामी इटहरीस्थित मुक्तिधाममा आश्रय लिन पुग्यौँ । त्यहाँ पनि विशेष प्रकारको धार्मिक एवं सामाजिक पर्व चलिरहेको थियो । श्री १०८ भागवत् र १०८ तारतमसागरको पाठ परायण, विद्वान् तथा विदूषीहरुबाट आध्यात्मिक प्रवचनका साथमा बुढी गंगाजमुना मुक्तिघाटको स्थापना र सो घाटको प्रधानमन्त्री सुशील कोइरालाबाट समुद्घाटन हुने कार्यक्रम थाहा भयो । दूरदर्शी सन्त श्री मंगलदास गुरूजीको धर्म र समाजसेवालाई एकैसाथ अगाडि बढाउनुपर्छ भन्ने सद्मुक्तिबमोजिम यहाँ धर्म र समाजसेवाका विभिन्न कार्यहरु भएका छन् । सरकारका तर्फबाट हुनुपर्ने यस्ता कार्यहरु एक जना सन्तको प्रयासमा हुन गइरहेको देख्दा हामी तीन छक्क प¥यौँ । चैत्र २३ गतेका दिन उक्त धार्मिक एवं बृहद् सामाजिक अनुष्ठानको समुद्घाटन विशाल जनसभाका माझ सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाको करकमलबाट सम्पन्न भयो । हाम्रो यात्रामा यो क्षण पनि ज्यादै मह¤वपूर्ण उपलब्धिका रुपमा रहेको हामीले स्वीका¥यौँ ।
२०७० सालको रामनवमीका दिन सबेरै हामी इटहरीबाट कुम्भमेलातिर प्रस्थान गर्छौं । मेरा आत्मीय मित्र कस्तुरी कलेजका प्राचार्य प्रेमप्रसाद न्यौपाने र उहाँका परिवार, कलेजकै अध्यक्ष मोहन बस्नेत र कलेजका प्रध्यापकहरुको साथ पायौँ हामीले । कलेजकै बसमा बसेर बाटोमा रमाइलो गर्दै नयाँनयाँ स्थानको दृश्यावलोकन गर्दै झुम्का बजारबाट कोशी नहरको डिलडिलै करिब एक घन्टाको बसको यात्राबाट प्राचीन हरिद्वार चतराधाम पुग्यौँ । बसपार्कमा बस अडियो । झोला र खाने चीजहरु बसमै छोडेर बाटोका दायाँबायाँको मन्दिर, धर्मशाला, निर्माणाधीन आजसम्मकै अग्लो हनुमानजीको मूर्ति, प्रथम पिण्डेश्वर कुम्भ महोत्सव २०५९ को प्रतीक कुम्भ स्तम्भ, श्री राधा सर्वेश्वर युगल सरकारको मन्दिर, राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान, जगद्गुरू पीठ, निःशुल्क भोजन पण्डाल हेर्दैहेर्दै करिब आधा घन्टा पैदल हिँडेर सप्तकोशी तटमा निर्मित कुम्भ स्नान घाटमा पुगेर विधिवत् स्नान ग¥यौँ । अगाडिदेखि नै मनले चिताएको व्यक्ति, वस्तु वा स्थानविशेषको समागम हुँदा जस्तो आनन्द प्राप्त हुन्छ, त्यस्तै अपार आनन्दको अनुभूति भयो बाह्र वर्षपछि आउने कुम्भमेलामा कोशीको निर्मल पानीमा चुर्लुम्म डुबेर कुम्भ स्नान गर्दा । एक क्षण भए पनि सबै विषय वासनाहरु बिर्सिइयो, दैवी ऊर्जा प्राप्त भएको आभास भयो । मैले आफ्नो यात्रा सफल भएको महसुस गरेँ । यस अलौकिक क्षणको सम्झनालाई बचाएर राख्न सकेँ भनेँ जीवन सुखमय हुनेछ जस्तो लाग्यो । धन्य पुण्यभूमि चतराधाम, धन्य औलिया बाबा, वनसखण्डी बाबा र सन्तहरुको शक्ति, धन्य सप्तकोशीको निर्मल जल !
कुम्भ स्नानपश्चात् हामी चतराधामतिरै फक्र्यौं । प्राप्त भएसम्मका संरचनाहरु संकलन गर्न लागेँ म । कोही भगवान्लाई जल चढाउन लागे भने कोही भजन–कीर्तन र प्रवचन कक्षमा पलेँटी मारेर दर्शक र स्रोता बने । कतिपय साथीहरुले निःशुल्क भोजन पण्डालतिर पसेर भोक–तिर्खा मेटाए । चतराधामको छोटो बसाइँ र अध्ययनबाट मैले के बुझेँ भने अध्यात्मपथका पथिक एवं अन्वेषक श्री कविमान बज्राचार्यको पहलमा वि.सं. २०४५ मा भूतपूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालबाट समुद्घाटन गराई कुम्भ महोत्सवको निरन्तरताको उठान प्रयास भएपश्चात् २०५९ मा जगद्गुरू बालसन्त श्री मोहनशरण देवाचार्यजी महाराजको प्रयासमा पूर्ण कुम्भ महोत्सव र २०६५ मा पूज्य महायोगी सिद्धबाबा श्री १००८ डा. वैष्णव कृष्णदासज्यूका सत्प्रयासमा अर्धकुम्भोत्सव सम्पन्न भएको थियो । यस पटकको कुम्भमेलामा भने दुवै महापुरूषहरुको पूर्ण सक्रियता र विभिन्न धार्मिक संघसंस्था र धर्मसंस्कृति मर्मज्ञ सर्वसाधारण जनताको उत्साहका साथै नेपाल सरकारको पूर्ण सहयोग रहेको पाइयो । धार्मिक पर्यटन उत्थान र व्यवस्थापनका लागि सरकारबाट १ करोड, गुठी संस्थानबाट पाँच लाख आर्थिक सहयोग प्रदान गरिएको र उच्चस्तरीय समिति निर्माण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाइएको थियो । कुम्भमेलामा सरकारको उपस्थिति जनाउन २०७० साल चैत्र १७ गते सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाबाट मेला उद्घाटन भयो र चैत्र २६ गतेका दिन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मेलाको निरीक्षण गरी कुम्भ स्नान गर्नुभयो । उक्त मेला हेर्न र कुम्भ स्नान गर्न नेपालका विभिन्न स्थान, भारत, भुटान, सिक्किमका तीर्थयात्रीहरु र इन्डोनेसियाका हिन्दुहरुको बाक्लो उपस्थिति थियो ।
कुम्भमेलामा महायोगी सिद्धबाबा डा. वैष्णव कृष्णदासजी महाराजको योग शिक्षा विशेष आकर्षणको केन्द्र रहेको छ । भौतिक विज्ञानअन्तरगत वनस्पति शास्त्रमा विद्यावारिधि गर्नुभएका उहाँ भौतिक सुखको उपलब्धिलाई परित्याग गरी आत्ममार्गमा प्रविष्ट भएका सिद्धि प्राप्त महायोगी हुनुहुन्छ । उहाँले २०६५ सालमा रामनवमी विशेष पर्वका अवसरमा प्राचीन हरिद्वार चतराधाममा लिनुभएको ९ दिने भूसमाधिबाट पनि स्पष्ट भइसकेको छ । हरेक मानवमा हुने दिव्य कुण्डलिनी शक्तिलाई समाधिस्थ योगीले मात्र उध्वरित गराउन सक्छन् । परम पूज्य महायोगी सिद्धबाबाले आर्जन गर्नुभएको पाशुपत महायोगको सिद्धिले उहाँबाट स्पर्शद्वारा वा दृष्टिपात मात्रले वा मन्त्रद्वारा वा संकल्पमात्रले पनि हरेक व्यक्तिमा रहेको त्यो दिव्य कुण्डलिनी शक्ति जागृत हुन्छ भन्ने शास्त्रोक्ति रहेको छ ।
बराहा क्षेत्र, चतराधाम, रामधुनी यी तीनै धार्मिक पर्यटकीय स्थल हुन् । सप्तकोशीको तटमा रहेका यी स्थानहरुको आ–आफ्नो धार्मिक एवं पौराणिक मह¤व छ । एकै क्षेत्रका प्रकृतिको काखमा अवस्थित यी स्थानहरुमा पुग्दा मनमा आनन्दको बाढी त चल्छ नै, यसले पूर्वी नेपालको भौगोलिक अवस्था र पर्यावरणीय अध्ययन गराउन पनि मद्दत पु¥याउँछ । पहाड र मधेशको दोसाँध, कोशी वन्यजन्तु आरक्षणको नजिक, जैविक विविधताहरु हेर्ने, बुझ्ने थलो हो यो । त्यस्तै, सप्तकोशीको मनोरम वहावको परिदृश्यबाट जोकोही पनि मन्त्रमुग्ध हुन्छन् । चतराधामको भ्रमणपछि आफ्नो बस समातेर हामीहरु रामधुनीतिर अघि बढ्यौँ । घना जंगल, कहीँ–कहीँ स–साना बस्ती, नहर, कुलेसाहरु पार गर्दै शीतल छहारी खोजेर भोक मेटाउने कर्मतिर लाग्यौँ । आ–आफ्नो घरमा बनाएर ल्याएका अचार, तरकारी, मिठाईले फरक–फरक स्वादको परिचय दियो भने फलफूल, दही, च्यूरा, केराले टन्नै भोक शान्त पारिहाल्यो । यात्रा रमाइलो भयो, खाना मीठो भयो, मेरो र कस्तुरी कलेज परिवारसँगको मिलन सुमधुर रहिरहने भयो ।
रामनवमी २०७० का दिन घनघोर जंगलका बीचमा प्राचीन रामधुनी, मन्दिर, प्रतीक्षालय, धुनी, तलाउ, जोगी सन्न्यासी र धुनीका कामदारहरु बस्ने धर्मशाला, भोजनघर– यी हुन् रामधुनीका भौतिक संरचनाहरु । अयोध्याका राम–लक्ष्मण र सीता वनवास बसेको स्थान भनिँदोरहेछ यस ठाउँलाई । श्रीरामले आफ्नै हातले मुढा बालेर आगो तापेर धुनी जगाएको थलो रहेछ यो । त्यसबेलादेखिको धुनीको आगो आजसम्म निभेको छैन, मुढा थपिँइदै गएको छ, आगो सल्कँदै छ धुनीमा । यो मैले सानो छँदा सुनेको किम्वदन्ती हो । आज सशरीर त्यहाँ उपस्थित भएँ । हाम्रो यात्रा रामधुनीबाटै टुंगिने भयो । धेरै यात्रुहरु रामधुनीको परिक्रमा गरिरहेका छन् । विशाल जनसमूह धुनीको दर्शन गर्न र विगुती थाप्न लामबद्ध छन् । मैले पनि एक मुठी खरानी पाएँ, निधारमा लगाएँ र बाँकी रहेको घरमा लैजानका लागि प्लास्टिकमा पोको पारेर झोलामा हालेँ । हाम्रा सबै साथीहरु रामधुनीको परिभ्रमण गरेर बस चढ्न तयार हुनुभो । म र मेरी नातिनी अुनषा पनि हरियो जंगलभित्रको पौराणिक थलो रामधुनीतर्फ एक नजर लगाउँदै बसको सिटमा बसेर झुम्कातिर लाग्यौँ । बराह क्षेत्र, चतराधाम र रामधुनीको रमाइलो यात्रा समाप्त गरी सप्तकोशीको पवित्र जलमा डुबुल्की मारेर कुम्भ स्नान गरेको सम्झना मनभरि बोकेर २७ गते चैत्र भरतपुर आइपुग्यौँ ।
Discussion about this post