भरतपुर । चितवनमा पेट्रोलको हाहाकार यथावत् नै रहेको छ । एक सातादेखि पेट्रोलको अभाव भएकाले सहजरुपमा उपभोक्ताले पेट्रोल पाएका छैनन् । बिहान लाइनमा बसेर केही पेट्रोल पम्पले पेट्रोल वितरण गरेका छन् । चितवनका पेट्रोल पम्पले एक साथ तेल वितरण गरिरहेको छैनन् ।
पम्पले पालैपालो समय हेरफेर गरेर तेल वितरण गर्नाले मानिसहरू झमेला व्यहोरिरहेका छन् । तेल लिन मोटरसाइकल चालकहरू घण्टौँसम्म लाम बस्नुपर्ने अवस्था सिर्जना भएको छ । आंशिक रूपमा मात्र भारतीय आयल निगमले तेल नेपाल पठाइरहेकाले यो अभाव देखिएको हो ।
मंगलबार ११ वटा ट्याङ्कर नेपाल भित्रिने र तेल आपूर्तिमा सहज हुने भनिए पनि ट्याङ्कर अहिलेसम्म नेपाल नभित्रिएको पेट्रोल डिलर एसोसिएसन मोरङका अध्यक्ष केशरमान खड्काले जानकारी दिनुभयो ।
भारतको बिहार राज्यमा २४ अप्रिल अर्थात् वैशाख ११ गते हुने आम निर्वाचनका क्रममा नेपाल नाका मंगलबार बेलुकादेखि तीन दिनसम्म भारतीय प्रशासनले बन्द गर्ने भएकाले नेपालमा तेलको हाहाकार झन बढ्ने देखिन्छ ।
Discussion about this post