साइबर अपराधको अवस्था र सजगता

अन‌ि यो पनि

–सन्तोष पन्त

परिचय
विश्वभर फैलिएको कोरोना संक्रमणलाई नेपालमा फैलिन नदिन अन्य देशहरुमा जस्तै नेपालमा पनि नेपाल सरकारले गत वर्ष चैत्र ११ गतेदेखि करिब ३ महिना बन्दाबन्दीको आदेश जारी तथा कार्यान्वयन गरी यही आषाढ १ गतेदेखि केही खुल्ला गरेको अवस्था छ । बन्दाबन्दीको समयमा हामी सबैले एकआपसमा घरमै बस्न, सामाजिक दूरी (भौतिक दूरी) कायम गर्न एकआपसमा सुझाव दियौँ भने सरकारले विभिन्न माध्यमको प्रयोग गरी घरमै रहन उत्प्रेरित ग¥यो ।

यसै सन्दर्भमा इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई शुल्क नबुझाएको अवस्थामा पनि लाइन नकाट्न अनुरोधसमेत भयो र इन्टरनेटको प्रयोग कार्यालय नचलेको अवस्थामा पनि ५० प्रतिशतले वृद्धि भएकोले ब्यान्डविथको माग धान्न हम्मेहम्मे परेको तथ्यसमेत बाहिर आयो । पूर्ण लकडाउनको अवधिमा करिब करिब १२ घन्टा मानिसहरुले इन्टरनेट प्रयोग गरेको समेत पाइयो । लकडाउन खुकुलो गर्ने आदेशसँगै विद्यार्थीहरुलाई वैकल्पिक विधिको प्रयोग गरी अध्ययन अध्यापन गराउने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण निर्देशिका २०७७ स्वीकृति तथा जारी गरेपछि सामुदायिक तथा संस्थागत विद्यालयहरुले सबैभन्दा सहज र उत्तम विकल्पको रुपमा इन्टरनेटको प्रयोगलाई लिएको पाइयो । जसका कारण अभिभावकहरुले विद्यार्थीहरुलाई इन्टरनेट सुविधा उपलब्ध गराएकोले पनि इन्टरनेटका प्रयोगकर्ताहरु झनै बढेको देखिन्छ भने प्रयोग बढेसँगै साइबर क्राइम (विद्युतीय अपराध)समेत बढेको देखिएको छ । साइबर अपराधसम्बन्धमा नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ मा १४९६ उजुरी परेको थियो भने २०७६/०७७ को आषाढको दोस्रो हप्तासम्ममा २०४८ भन्दा बढी उजुरी परेको देखिन्छ । लकडाउनको अवधिको कुरा गर्दा पनि चैत्र महिनामा १५३, वैशाखमा २३२ र जेठ महिनामा २३४ उजुरी दर्ता भएको देखिन्छ । दिन प्रतिदिन बढ्दै गरेको साइबर क्राइमका सम्बन्धमा बेलैमा प्रयोगकर्ता तथा राज्य सजग हुन सकेन भने भावी दिनहरु असुरक्षित हुने कुरामा दुईमत देखिँदैन ।

साइबर क्राइम के हो ?

सामान्यतया विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर क्राइम भन्न सकिन्छ । विद्युतीय कारोबार ऐन २०६३ ले कम्प्युटरको स्रोत संकेतको चोरी गर्ने, नष्ट वा परिवर्तन गर्ने, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच, कम्प्युटर र सूचना प्रणालीमा क्षति पु¥याउने, विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने, गोपनीयता भङ्ग गर्ने, झूटा व्यहोराको सूचना दिने, झूटा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने, तोकिएको विवरण वा कागजात पेश नगर्ने, कम्प्युटर जालसाजी गर्ने, कम्प्युटरसम्बन्धी कसुर गर्न दुरूत्साहन गर्ने, मतियार भई कार्य गर्ने आदिलाई विद्युतीय अपराध मानेको छ भने मुलुकी अपराध संहिता २०७४ ले अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्ने वा तस्बिरको स्वरुप बिगार्ने कार्यलाई समेत विद्युतीय अपराध मानेको छ ।

आपराधिक कार्यविधि कस्तो छ ?

सामान्यतः अपराधीले अपराध गर्दा अपनाएको विधिलाई अपराध कार्यविधि भनिन्छ । हुन त, अपराधीले आफू सुरक्षित हुन नयाँ–नयाँ कार्यशैली अपनाई अपराध गर्ने गर्दछ । अनुसन्धान गर्ने निकायहरुलाई पर्याप्त साधनस्रोतको व्यवस्थापन गर्न नसकेको वर्तमान अवस्थामा प्रायः सबै अपराधमा अपराधी अनुसन्धानकर्ताभन्दा एक कदम अगाडि रहेको देखिन्छ भने साइबर अपराधको हकमा त अपराधी २ कदम अगाडि छ भन्दा पनि अत्युक्ति नहोला । तैपनि, हालसम्म भए गरेका अपराधलाई अध्ययन गर्दा अपराधीले विशेषगरी सामाजिक सञ्जाल (फेसबुक, भाइबर, ह्वाट्सएप, इमो आदि )को प्रयोग गरी ठगी, धम्की, चरित्र हत्या, मानव बेचबिखन, तस्करी, फिरौतीलगायत हिंसा तथा शोषण गर्ने गरेका छन् भने कार्यविधि यस्तो देखिन्छ :

— इन्टरनेट प्रयोगको अन्य विधिका साथै प्रायः सामाजिक सञ्जालको माध्यमबाट निगरानी गर्ने, म्यासेज गरी धम्की दिने, हैरानी दिने, चरित्र हत्या गर्ने उद्देश्यले दुष्प्रचार गर्ने ।

— सामाजिक सञ्जालमार्फत साथी बन्ने, विश्वासमा पार्ने, च्याट गर्ने, फोटो र भिडियो शेयर गर्ने, विभिन्न आवश्यकताहरु दर्शाउँदै पैसा माग्ने, आन्तरिक कुराकानीहरुको स्क्रिनसट गर्ने, बिस्तारै ब्ल्याकमेलिङ गर्ने, अश्लीलतातिर मोड्ने, बाध्य पार्ने ।

— कुनै प्रतिष्ठित व्यक्तिको, महिलाको नाममा एकाउन्ट खोलेर आपराधिक काम गर्ने वा गर्न बाध्य पार्ने, धोका दिएर, छलेर वा आधिकारिक व्यक्ति हुँ, प्रहरी हुँ भनेर अर्काको गोप्य सूचना, पासवर्ड, बैंक डिटेल्स, क्रेडिट कार्ड नम्बर आदि लिने र ठगी गर्ने, आफू प्रतिष्ठित तथा विशिष्ट व्यक्ति भएको आभाष दिलाउने र लोभ तथा प्रभावमा पारी यौनलगायत आर्थिक शोषण गर्ने ।

— आफू विकसित देशको नागरिक हुँ भनी साथी बन्ने, केही समयको राम्रो र विश्वसनीय व्यवहारपछि उपहार पठाएको छु, घुम्न नेपाल आउदा फसेँ आदि आदि भनी राजस्व तिर्न भन्दै पैसा हात पार्ने ।

— धेरै पैसा वा उपहार तपाईंलाई हात लाग्यो, तपाईंलाई भिसा लाग्यो, तपाईंलाई चिट्ठा प¥यो, बधाई छ भनी लोभ्याउने र प्रलोभनमा परेको थाहा पाएपछि सोको प्रक्रिया पूरा गर्न भनी बिस्तारै बिस्तारै विभिन्न तहका धेरै व्यक्तिहरुको सहभागितामा विश्वासमा लिँदै पैसा असुल्ने ।

— बैंकमा रहेको अर्काको खाताबाट अनलाइन पैसा ट्रान्सफर गर्ने, सम्बन्धित व्यक्तिलाई लोभ तथा विश्वासमा पारी अन्य व्यक्तिको खातामा ठगी गरेको पैसा हाल्न लगाउने र सम्बन्धितलाई समेत केही रकम दिई अरु पैसा लिने । पैसा लिँदा विभिन्न व्यक्तिलाई लोभ देखाउँदै, प्रयोग गर्दै, केही दिँदै आफ्नोमा ल्याउने, बैंकका धेरै खाताहरुबाट थोरै थोरै पैसा निकाल्ने ।

— अनलाइनमा जुवा, सेक्स, विज्ञापन, पोर्नोग्राफी वा अन्य सेक्स व्यापार गर्ने र अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने, प्रतिबन्धित लागू पदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अंग, छालाहरु जस्ता सामग्रीहरुको खरिद–बिक्री वा विज्ञापन गर्ने, आतङ्क फैलाउने ।

— रुप वा चित्र परिवर्तन गर्ने, सफ्टवेयरको अनधिकृतरुपमा प्रतिलिपि बनाउने, अर्काको ट्रेडमार्क चोरी गर्ने, अर्काको इन्टरनेटको युजर नेम र पासवर्ड पत्ता लगाई अनधिकृतरुपमा प्रयोग गर्ने, अनधिकृत प्रवेश गर्ने, ह्याक गर्ने, अश्लील भिडियो, फोटो प्रदर्शन गर्ने ।

— अरुको कम्प्युटरमा इमेलमार्फत भाइरस पठाइदिने र अरुको इमेल ठेगानामा ठूलो संख्यामा इमेलहरु पठाई पीडितको इमेल खाता वा इमेल सर्भरमा नै अवरोध खडा गर्ने, त्यसैलाई हटाउन ब्ल्याकमेल गर्ने ।

— जाली नोट छाप्न, जाली मार्कसिट वा प्रमाणपत्र बनाउन अत्याधुनिक उपकरणको प्रयोग गर्ने आदि ।

सुरक्षा सजगताका उपायहरु

इन्टरनेट खुल्ला प्रविधि हो, यसमा राखिएका, लेखिएका कुनै पनि चीजहरु गोप्य हुँदैनन्, एकपटक लेखिएको, पोस्ट गरेको चीज मेटाएको भनिए पनि मेटिँदैन, फेला पर्दछ र पुनः आवश्यकताअनुसार प्रयोग हुन्छ । तसर्थ, गोप्य र व्यक्तिगत विवरणहरु यसमा राख्नु नै जोखिम हुन्छ । तर, प्रविधिको प्रयोग गर्नैपर्ने भएकोले साइबर अपराधबाट बच्न सबै प्रयोगकर्ताहरु निम्नानुसार सजग हुन जरूरी छ :

— इन्टरनेटमा कुनै पनि एकाउन्ट प्रयोग गरेपछि साइन आउट वा लग आउट गर्न कहिल्यै बिर्सन हुँदैन, पासवर्ड गोप्य राख्नुपर्दछ, अंक/अक्षर सम्मिलित र अनुमान गर्न कठिन पासवर्ड राख्नुपर्दछ, समय–समयमा परिवर्तन गर्नुपर्दछ भने पासवर्ड कसैलाई पनि शेयर गर्नुहुँदैन, व्यक्तिगत कम्प्युटरबाहेक अन्यत्रबाट इन्टरनेट बैंकिङ कारोबारहरु गर्नुहुँदैन ।

— नचिनेको व्यक्तिलाई कदापि साथी बनाउन हुँदैन, अपरिचितबाट आएका सूचनाहरुलाई एक्सेप्ट नै नगर्ने, खोल्दै नखोल्ने, कुराकानी नै नगर्ने गर्नुपर्दछ । कुनै लोभ देखाएर भिडियो, भ्वाइस म्यासेज पठाएमा विश्वास र स्वीकार गर्नुहुँदैन । इन्टरनेट प्रयोग गर्दा आउने अप्सनहरु जस्तैः अलवेज रिमेम्बर माई पासवर्ड, कीप मी लग्ड इन आदिलाई टिक लगाउने, स्वीकार गर्ने गर्नुहुँदैन तथा पासवर्ड, क्रेडिट कार्ड नम्बर र पिनकोड आदि मागिएका इमेलहरुको प्रत्युत्तरसमेत दिनुहुँदैन ।

— सामाजिक सञ्जालहरुमा लाइक गर्ने, कमेन्ट गर्ने, पोस्ट गर्ने र शेयर गर्ने कुराहरुमा पटकपटक अध्ययन गरेर, विचार गरेरमात्रै गर्नुपर्दछ । आफ्नो गोपनीयता, सुरक्षा र कानुनको पालनालाई सधैँ ख्याल राख्नुपर्दछ ।

— सामाजिक सञ्जालको अत्यधिक प्रयोगको कुलतबाट आफू पनि टाढा रहनुपर्दछ भने परिवारलाई पनि टाढा राख्नुपर्दछ ।

बालबालिकाहरुलाई एकान्तमा, ढोका थुनेर नेटको प्रयोग नगर्ने, सामाजिक सञ्जालमा आफूलाई आएका अशोभनीय व्यवहारसम्बन्धमा परिवारमा भन्ने खुल्ला वातावरण तयार गर्नुपर्दछ । यथासम्भव समय तालिका बनाएर सामाजिक सञ्जालको प्रयोग गर्ने र अन्य अवस्थामा लग आउट गर्न सके सुरक्षित भइन्छ ।

— महिला तथा बालबालिकाहरु साइबर अपराधीहरुको आक्रमणमा परेको, फसेको पाइएको छ । साइबर सचेतनाका सम्बन्धमा घरपरिवार, विद्यालय र समाजमा बहस, छलफललगायत साइबर शिक्षा दिन आवश्यक छ ।

— कसैबाट अस्वाभाविक कल, म्यासेज आदि आएमा, पटकपटक अनुरोध वा सूचना आएमा, गोप्य राख्नुस् तपाईंलाई मात्र हो भन्ने गरेमा, कसैले आफूलाई झुक्याउन, फसाउन खोजेको आभाष भएमा त्यस्ता कुरालाई गोप्य नराखी तत्कालै नजिकको प्रहरीसँग सम्पर्क गर्नुपर्दछ भने पीडित नै भएमा पनि ३५ दिनभित्र उजुरी गरिसक्नुपर्छ ।

निष्कर्ष

इन्टरनेटलगायतका प्रविधिको प्रयोगमा भारतलगायत तेस्रो मुलुकको भर पर्नुपर्ने बाध्यता, हामी सबैले प्रयोग गर्न जानी नसकेको अवस्था, नजानी नजानी प्रयोग गरेको र जानेकाले प्रयोग गर्दा पनि सावधानी अपनाउन नसकेको कारणले अहिले साइबर अपराध भयानक बन्दै गएको छ । त्यसमा पनि लामो समयको लकडाउनका कारण इन्टरनेटको प्रयोगमा भएको समयावधि वृद्धिले मानिसहरु कुलतमा पर्ने, अपराधको सिकार बन्न सक्नेसमेत देखिएको छ । तसर्थ, इन्टरनेट प्रविधिको सुरक्षित र नियमसंगत प्रयोगबारे पर्याप्त जानकारी लिने, जानकारी लिएअनुसार सुरक्षितसाथ इन्टरनेटको आवश्यकमात्रै प्रयोग गर्ने र इन्टरनेटको माध्यमबाट आउने कुनै पनि लोभ, माया, डरत्रास आदिमा नपरी तत्कालै विधिसम्मत प्रतिकार र साइबर अपराधको व्यापक प्रचारप्रसार गर्न सके साइबर अपराध नियन्त्रण हुने कुरामा विश्वास गर्न सकिन्छ । आजको आवश्यकता पनि यही हो ।

(लेखक सेवानिवृत्त प्रहरी अधिकृत तथा लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक हुन् ।)

[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया