बढ्दो अपराध, घट्दो विश्वास

अन‌ि यो पनि

पछिल्लो समय नेपाली समाजमा विभिन्न प्रकारका आपराधिक घटना घट्दै गएका छन् । हरेक दिनजसो हत्या, बलात्कार, यौनजन्य हिंसा, घरेलु यातनाजस्ता अन्यायबाट महिलाहरु प्रताडित हुँदै आएका छन् । कतिपय पीडित महिलाहरु आफूमाथि भएको अन्यायको विरूद्धमा आवाज उठाउन नसकी अन्याय र अत्याचार सहेरै बस्न बाध्य छन् । समाजका तथाकथित ठालुहरु, हुनेखानेहरुबाटै यस्ता घटना बढी भएका पाइन्छन् भने कतिपय घटनाहरु स्रोत र शक्तिको आडमा दबाइने कारण सतहमा आउन पाएका छैनन् । जसका कारण अपराधीहरुको मनोबल बढ्नुका साथै समाज नै अपराधमय बन्दै गएको छ । समाजमा अपराध बढ्दै गएका कारण मानिसहरुबीच विश्वासको सङ्कट हुन थालेको छ । कतिपय घटनामा परिवारका सदस्य, विश्वासपात्र मानिएका र संरक्षकबाटै अपराधकर्म भएका दृष्टान्त छन् । हिजो यसै दैनिकमा प्रकाशित हेटौँडामा ‘ससुराको अनैतिक कार्य लुकाउन बुहारीको हत्या, बिमाको लोभले परिवार नै अपराधमा’ शीर्षकको समाचारले अभिभावकीय जिम्मेवारी बोकेका व्यक्ति नै आपराधिक मनोवृत्तिमा लागेका देखिन्छन् भने परिवारभित्रै विश्वासको सङ्कट भएको देखिन्छ । सुस्मिता क्षेत्री थापाको क्रूरतापूर्वक हत्या हुनुका पछाडि मृतकका ससुराले गरेको जबर्जस्ती करणी प्रयास र उनका नाममा आउने बिमा रकमको कारण रहेको मकवानपुर प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

हेटौँडामा एउटी एकल महिलामाथि भएको निरन्तरको मानसिक तनाव, यौन हिंसा र अन्ततः हत्यासम्मको श्रृङ्खलाले महिलाहरु असुरक्षित रहेको देखाएको छ । नेपालमा लकडाउनको एक सय दिनको अवधिमा मात्रै दुई हजारभन्दा बढी आपराधिक घटना भएका प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ । देशभरका प्रहरी कार्यालयमा दर्ता भएका उजुरीका अधिकांश घटना पनि हत्या, बलात्कार तथा यौनजन्य हिंसाकै रहेका छन् । जसमा अबोध बालिकादेखि वृद्धा, असहाय, अपाङ्गता भएकादेखि एकल महिलासम्म रहेका छन् । कतिपय बलात्कारपश्चात् हत्या गरिएका घटनाका दोषीको पहिचान गरी कानुनी कठघरामा उभ्याउन नसक्दा, शक्तिको आडमा जघन्य अपराधमा संलग्न भएकालाई उन्मुक्ति दिइँदा अपराधीले प्रश्रय पाइरहेका छन् । लोभ, लालच र डरत्रास देखाएर घटना सामसुम बनाउने, पीडकलाई उन्मुक्ति दिने क्रम अझै पनि रोकिएका छैनन् । राजनीति गर्ने भनिएका व्यक्तिबाटै अपराधीलाई जोगाउने, लुकाउने र घटना दबाउने काम भइरहेका छन् । जसका कारण नेपालको राजनीति नै अपराधीकरणको दिशातर्फ अघि बढिराखेको छ भन्न कन्जुस्याइँ गर्न पर्दैन । आवाजविहीन अर्थात् समाजमा बोल्न नसक्ने, राजनीतिक पहुँच र प्रभाव नभएका, निमुखा जनता सधैँ अन्यायमा परिरहेका हुन्छन् । तिनको आवाज न कुनै राजनीतिक दलले सुन्छन् न प्रशासनले । जसका कारण सरकार र प्रहरी प्रशासनप्रति जनताको विश्वसनीयतामा सवाल खडा गरेको छ ।

जघन्य घटनाका अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा सरकार र प्रहरी प्रशासनप्रति जनताको विश्वास टुटेको हो । राजनीतिकर्मीको ध्यान पनि आफ्ना कार्यकर्ता, आफन्त र सहयोगीमाथि भएको अन्यायमा मात्रै पुग्ने गरेका कारण राजनीतिक दलप्रति जनताको आकर्षण बढ्न नसकेको हुनुपर्छ । बर्सेनि हजारौँ महिला बलात्कृत हुनुका पछाडि बलात्कारीमाथि सरकार कडारुपमा प्रस्तुत हुन नसक्नुको परिणति हो । यसैको निरन्तरताको क्रममा कञ्चनपुरकी निर्मला पन्तमाथि बलात्कार गरी बीभत्स हत्यासमेत भयो । तर, दुई वर्ष बित्दासमेत एउटी अबोध बालिकामाथि भएको बलात्कारपछिको हत्या प्रकरणमा दोषी किटान गर्न नसक्नुले धेरै प्रश्नहरु उजागर गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएपश्चात् पनि सयौँ छोरीचेलीहरुमाथि बलात्कार र हत्या भइरहेका छन् । देशभित्र यतिधेरै आपराधिक घटनाको पुनरावृत्ति भइरहँदा हाम्रा राजनीतिकर्मीमा कुनै प्रकारको पीडाबोध नहुनु विडम्बनाको विषय हो । देशमा आपराधिक घटनाको पुनरावृत्ति हुनुमा शान्ति सुरक्षाको स्थिति कमजोर हुनु हो । राजनीतिले समाजमा रुपान्तरण गरी सुधार ल्याउन सक्नुपर्छ, अपराधमा राजनीतीकरण गर्ने होइन ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया