पञ्चपाण्डवको महाप्रस्थान [महाभारत चिन्तन]

अन‌ि यो पनि

डा. मतिप्रसाद ढकाल

वृष्णिवंशीहरुको श्राद्ध गरेर प्रजाजनको अनुमति लिई द्रौपदीसहित पञ्चपाण्डवहरु महाप्रस्थान गर्छन् । वृष्णिवंशीहरुमात्र होइन आफ्ना अनन्य मार्गदर्शक श्रीकृष्णसमेत परमधाम गएपछि पाण्डवहरुले महाप्रस्थानको मार्ग रोजेका हुन् । कालले नै सम्पूर्ण प्राणीहरुलाई पकाइरहेको वा विनाशतर्पm लगिरहेको छ भन्दै युधिष्ठिरले कालको बन्धनलाई स्वीकार गर्छु भन्ने कुरा व्यक्त गरेर अर्जुनलाई पनि यसतर्पm दृष्टिपात गर्न निर्देशन दिएका हुन् । काल त काल नै हो यसलाई टार्न सकिँदैन भनेर अर्जुनले युधिष्ठिरको भनाइलाई अनुमोदन गरे भने भीमसेन, नकुल र सहदेवले पनि त्यस विचारलाई स्वीकार गरे ।

धर्मको इच्छाले राज्य छाड्न खोजेका युधिष्ठिरले वैश्यापुत्र युयुत्सुलाई बोलाएर उसैलाई सम्पूर्ण राज्यको रेखदेख गर्ने भार सुम्पिए भने आफ्नो राज्यमा राजा परीक्षित्लाई अभिषेक गरी सुभद्रासँग केही कुराहरु व्यक्त गरे । त्यस क्रममा उनले यो तिम्रो नाति परीक्षित् कुरूदेश तथा कौरवका राजा हुनेछन्, यादवहरुमध्ये जो बचेका छन् उनीहरुका राजा श्रीकृष्णका नाति वज्र हुनेछन्, परीक्षित्ले हस्तिनापुरमा राज्य गर्नेछन् भने यदुवंशीले वज्र इन्द्रप्रस्थमा राज्य गर्नेछन्, तिमीले राजा वज्रको पनि रक्षा गर्नुपर्छ र आफ्नो मनलाई कहिल्यै अधर्मतर्पm जान दिनु हुँदैन भनेर सुभद्रालाई सम्झाए । त्यसपछि धर्मराज युधिष्ठिरले आलस्य छाडेर भगवान् श्रीकृष्ण, बूढा मामा वसुदेव, बलराम आदिका लागि जलाञ्जलि दिएर ती सबैको विधिपूर्वक श्राद्ध गरे भने व्यास, मार्कण्डेय, भारद्वाज, याज्ञवल्क्य आदिलाई स्वादिष्ट भोजन गराए ।

गुरूवर कृपाचार्यको पूजा गरेर युधिष्ठिरले मन्त्रीसहित प्रजाहरुसँग आपूmले राज्य छाडेर महाप्रस्थान गर्न लागेको कुरा सुनाए । उनका कुरा सुनेर सबैजना मनमनै अत्यन्त दुःखी भए । उनीहरुले तपाईंले यस्तो गर्नु हुँदैन भनी युधिष्ठिरको प्रस्तावलाई स्वीकार गरेनन् तर धर्मराज युधिष्ठिर कालको बाध्यतानुसार जुन धर्म वा कर्तव्य प्राप्त भएको थियो त्यसलाई जान्दथे । तसर्थ उनले प्रजाजनको अनुरोधलाई स्वीकार गर्न सकेनन् । उनले प्रजाजनलाई सम्झाइबुझाइ गरेर महाप्रस्थानका लागि अनुमति प्राप्त गरे । त्यसपछि भाइहरुसहित आपूmले पनि आफ्ना शरीरमा लगाएका सारा वस्त्र र आभूषणहरु निकालेर वल्कलवस्त्र धारण गरे । तत्पश्चात् ब्राह्मणहरुबाट विधिपूर्वक उत्सर्गकालिक यज्ञ गराएर उनीहरुले अग्निलाई जलमा विसर्जन गरी महायात्राका लागि प्रस्थान गरे ।

पहिला जुवामा परास्त भएर वनवास जानु पञ्चपाण्डवहरुको बाध्यता थियो भने अहिले यसरी महाप्रस्थान गर्नु स्वेच्छिक थियो । पाण्डवहरु महाप्रस्थानमा निस्किएको देखेर नगरका सारा स्त्रीहरु रून थाले तर सबै भाइहरु भने हर्षित भए । युधिष्ठिरको अभिप्राय बुझेर अनि वृष्णिवंशीको संहार देखेर पञ्चपाण्डव, द्रौपदी र एउटा कुकुर सँगसँगै महाप्रस्थानमा निस्किएका थिए । उनीहरु सबैले योगयुक्त महात्मा र त्यागधर्मको पालन गर्दै अनेकौँ देश, नदी र समुद्रको यात्रा गरे । यात्रा गर्दै जाँदा उनीहरु लालसागरको तटमा पुगे । अग्निदेवले उनीहरुलाई अघि बढ्न रोकेर मैले नै अर्जुन एवं श्रीकृष्णका प्रभावले खाण्डव वनलाई जलाएको हुँ र आपूmले नै पहिला वरूणसँग मागेर अर्जुनलाई दिएको गाण्डीव धनुष अब वरूणलाई फिर्ता गर्नुपर्ने भएकाले त्यसलाई त्याग्न आग्रह गरे । तदनुसार अर्जुनले गाण्डीव धनुष त्यहीँ पानीमा फ्याँकिदिए भने अग्निदेव पनि त्यहीँ अन्तर्धान भए । त्यसपछि उनीहरु पृथ्वीको परिक्रमा गर्ने इच्छाले उत्तर दिशातर्पm अग्रसर भए ।

यात्राका क्रममा द्रौपदी, सहदेव, नकुल, अर्जुन र भीमसेन भुइँमा पल्टन्छन् । युधिष्ठिरले प्रत्येक व्यक्ति भुइँमा पल्टनुको कारण बताउँदै जान्छन् । अर्जुनप्रति विशेष पक्षपात भएकाले द्रौपदी पल्टेकी हुन् । कसैलाई पनि आपूmजस्तो विद्वान् या बुद्धिमान् नसम्झने दोष रहेका कारण सहदेव पल्टिएका हुन् । रुपमा मसमान अर्को कोही छैन, एकमात्र म नै सबैभन्दा बढ्ता रुपवान् छु भन्ने घमन्ड भएका कारण नकुल भुइँमा लडेका हुन् । म एकैदिनमा शत्रुहरुलाई भस्म गर्नेछु भन्ने आफ्नो शूरताको अभिमान रहेका कारण अर्जुन भुइँमा पल्टिएका हुन् । त्यसैगरी बढ्ता खाने गरेका र अर्कालाई कत्ति पनि वास्ता नगरी आफ्नै बलको बढ्ता बखान गर्ने भएका कारण भीमसेन भुइँमा लडेका हुन् ।

महाप्रस्थानिक पर्वको तेस्रो तथा अन्तिम अध्यायमा युधिष्ठिरले इन्द्र, धर्म आदिका साथमा वार्तालाप गरेको, उनी आफ्नो धर्ममा दृढ रहेको र सशरीर स्वर्ग गएको चर्चा गरिएको छ । देवराज इन्द्र आएर युधिष्ठिरलाई आफ्नो रथमा चढी स्वर्ग जान अनुरोध गर्छन् तर युधिष्ठिरले द्रौपदी र भाइहरु पनि भुइँमा अचेत अवस्थामा लडिरहेका छन् र उनीहरुलाई साथमै नलिईकन आपूm एक्लै स्वर्ग जान नसक्ने बताउँछन् । त्यसको प्रत्युत्तरमा इन्द्रले तिमीभन्दा पहिल्यै द्रौपदी र तिम्रा सबै भाइले आफ्नो मानव शरीर त्याग गरेर स्वर्गमा गइसकेका छन् तर तिमी सशरीर स्वर्ग जानेछौ भन्ने कुरामा शङ्का छैन भन्ने कुरा व्यक्त गर्दछन् ।

युधिष्ठिरले आफ्नो बुद्धिमा निष्ठुरताको अभाव रहेका कारण आफ्नो भक्त कुकुरलाई पनि सँगै लैजाने आज्ञा दिन इन्द्रसँग अनुरोध गर्छन् तर स्वर्गमा कुकुरलाई राख्ने ठाउँ नभएकाले उनलाई इन्द्रले अनुमति दिँदैनन् । यति हुँदाहुँदै पनि कुकुरलाई छाडेर एक्लै स्वर्गलोक जान युधिष्ठिर उपयुक्त ठान्दैनन् । मान्छेले गर्ने दान, यज्ञ, स्वाध्याय, हवन आदि पुण्य कर्ममा कुकुरको दृष्टिमात्र परे पनि त्यसको फललाई क्रोधवश नामक राक्षसहरुले हरण गर्छन् । तसर्थ कुकुरलाई छाडेर स्वर्गलोक जान इन्द्रले युधिष्ठिरलाई आग्रह गर्छन् तर युधिष्ठिरले आफ्नो परमभक्त कुकुरलाई त्याग्न सक्तैनन् । धर्मराज युधिष्ठिरको यस्तो दृढता देखेर कुकुरको भेषमा आएका धर्मस्वरुपी भगवान्ले युधिष्ठिरको अत्यन्त प्रशंसा गर्छन् ।

आफ्नो भक्तस्वरुपको कुकरलाई पनि त्याग्न नसकेका कारण युधिष्ठिरलाई सशरीर स्वर्गलोक जाने अवसर प्राप्त भएको हो । निर्दोष भएका कारण उनका अन्य भाइहरुले मर्दा उनलाई उत्तम लोक प्राप्त भएको हो । स्वर्गलोक पुगेर पनि युधिष्ठिरले आफ्ना भाइहरुले जुन लोक प्राप्त गरेका छन् त्यही लोक प्राप्त गर्न सकूँ भन्ने चाहन्छन् । यस दृष्टिले युधिष्ठिर आफ्ना भाइहरुलाई कत्तिको स्नेह प्रदान गर्दा रहेछन् भन्ने कुराको पुष्टि हुन्छ । यस लोकमा रहेका हरेक व्यक्तिले एक न एकदिन त अवश्य प्रस्थान गर्छन् तर युधिष्ठिरलाई जस्तो महाप्रस्थान गर्ने अवसर कमै व्यक्तिलाई मात्र प्राप्त हुन्छ ।

(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर)

[email protected]

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया