परासी । मापदण्ड विपरीत सञ्चालनमा आएका नवलपरासीमा रहेका क्रसर उद्योगहरू बन्द भएको एक हप्तापछि पुनः सञ्चालनमा आएका छन् ।
सरकारी मापदण्ड विपरीत भएको भन्दै जिल्लामा रहेका ११ मध्ये चारवटा क्रसर उद्योगमा गत हप्ता चितवन राष्ट्रिय निकुञ्जले एक्कासि बन्द गराएका क्रसर उद्योग सञ्चालनमा आएका हुन् ।
जिल्लामा रहेका क्रसर उद्योगमध्ये कालिका क्रसर उद्योग, नवलपुर क्रसर उद्योग, क्रिशक्ति क्रसर उद्योग र महालक्ष्मी क्रसर उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक हप्ताअघि तालाबन्दी गर्नुका साथै बाँकी सात क्रसर उद्योग पनि बन्द गर्न स्थानीय प्रशासनले समय दिएका थिए ।
वन मन्त्रालयको ठाडो हस्तक्षेपमा बन्द भएका क्रसर उद्योग खुल्नका साथै बाँकी क्रसर उद्योगसमेत बन्द नगर्न प्रशासनलाई समय दिएपछि क्रसर उद्योग सञ्चालनमा आएका हुन् ।
निकुञ्जभित्र रहेका चार क्रसर उद्योग बन्द भएपछि व्यवसायीहरू काठमाडौँ पुगेर आन्दोलन थालेपछि बाध्य भएर असार मसान्तसम्म सञ्चालन गर्न अनुमति दिइएको र त्यसपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न सहमति भएको नवलपुर क्रसर उद्योगका सञ्चालक संजयगोविन्द श्रेष्ठले बताउनुभयो ।
नवलपरासीमा रहेका ११ वटा नै क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा आएका र ती सबैलाई असार मसान्तभित्र बन्द गरिने जिल्ला प्रशासनले जनाएको छ ।
Discussion about this post