जातीय विभेदको घटना हुन दिने छैनौँ : मुख्यमन्त्री

अन‌ि यो पनि

भरतपुर । संयुक्त दलित संघर्ष समिति चितवनले रूकुम हत्याकाण्डको ध्यानाकर्षण गर्दै मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समिति चितवनका सदस्य सचिव यमबहादुर विश्वकर्माले १३ बुँदे मागसहितको ज्ञापनपत्र मुख्यमन्त्री पौडेललाई बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दैँ मुख्यमन्त्री पौडेलले रूकुम घटनाको सवालमा बागमती प्रदेश सरकार सदैव दलित समुदाय सँगसँगै रहेको बताएका छन् । उनले बागमती प्रदेशभित्र जातीय विभेदको घटना कतै पनि घट्न नदिने बताएका छन् । जातीय विभेद न्यूनीकरणका लागि प्रदेश सरकार अग्रपंक्तिमा रहने उनले जानकारी दिए ।

संविधान संशोधन गरी जातीय विभेदका जुनसुकै मुद्दामा राज्यले अनिवार्य निःशुल्क मुद्दा दर्ता गर्ने व्यवस्था गर्नुपर्ने संघर्ष समिति चितवनले माग गरेको छ । त्यस्तै जातीय विभेदका मुद्दामा हद म्याद नलाग्ने, मुद्दा लड्नका लागि तत्काल कम्तीमा एक लाख नगद राज्यले उपलब्ध गराउनुपर्ने समितिले माग गरेको छ ।

जातीय विभेदका कारण मृत्यु भएका पीडित परिवारलाई पीडकबाट कम्तीमा दस लाख क्षतिपूर्ति दिने, राज्यले व्यवस्थापन गर्नुपर्ने र पीडकलाई आजीवन जन्मकैदको व्यवस्था हुने कानुनी प्रावधान मिलाउन संघर्ष समिति चितवनले माग गरेको छ ।

संयुक्त दलित संघर्ष समिति चितवनले जातीय विभेदका घटनाहरु उजागर गर्ने तथा मिडियामा ल्याउने पत्रकारहरुलाई प्रोत्साहन स्वरुप कम्तीमा २५ हजार राज्यले उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

संयुक्त दलित संघर्ष समिति चितवनले रूकुममा भएको बीभत्सपूर्ण घटनाको अध्ययन प्रतिवेदन मंगलबारै बागमती प्रदेशको नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई पनि बुझाएको छ । नेपाल दलित संघका केन्द्रीय सदस्य एवम् रूकुम घटना अध्ययन टोलीका सदस्य विपेन्द्र रामुदामुले उक्त प्रतिवेदन नेता बानियाँलाई बुझाएका हुन् ।

घटनाको प्रतिवेदन बुझ्दैँ नेता बानियाँले जातीय विभेद तथा छुवाछूत जघन्य अपराध रहेको तर्क गरेका छन् । उनले रूकुम घटना निन्दनीय घटना रहेको समेत बताएका छन् । मानव सभ्यताभित्र छुवाछूतको घटना एक्काइसौँ शताब्दीमा हुनु दुःखद् रहेको उनले जिकिर गरे ।

संयुक्त दलित संघर्ष समिति चितवनले रूकुम घटनाको विरोधमा मंगलबार भरतपुरमा एक घन्टा चक्काजामसमेत गरेको छ । समितिले बिहान ८ः३० बजेदेखि ९ः३० बजेसम्म चक्काजाम गरेको हो । दलित समुदायमाथि बढ्दै गइरहेको विभेद अन्त्यको माग गर्दै सो चक्काजाम गरिएको दलित अधिकारकर्मी एवम् संघर्ष समितिका सचिवालय सदस्य खेमबहादुर दर्जीले बताए ।

(पत्रकार अमिर रामुदामुबाट)

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया