चितवनमा विद्युतीय मेसिनको प्रयोग गरी उपनिर्वाचनको तयारी भइरहेको छ । क्षेत्र नंं. ४ का मतदाताहरुले पहिलो पटक विद्युतीय मतदान गर्ने अवसर प्राप्त गर्दैछन् । यो आफैँमा सुखद संयोग हो । जिल्ला निर्वाचन कार्यालयले आगामी असार ८ गते हुने उपनिर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गरी मतदान गर्ने तयारीमा जुटिरहेको छ । क्षेत्र नंं. ४ मा नेपाली कांग्रेसका सभापति सुशील कोइराला आठ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनी बाँके क्षेत्र नं. ३ बाट पनि विजयी भएपछि चितवन छाडेपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचनका लागि निर्वाचन कार्यालयले ३१ स्थानमा ८१ मतदान केन्द्र तोकेको छ, जसमा २३४ वटा मतदान इकाइ र १५३ वटा नियन्त्रण इकाइ रहने छन् । हरेक इकाइमा विद्युतीय मेसिन रहने व्यवस्था मिलाइने भएको छ । नियन्त्रण इकाइको संकेतका आधारमा मतदाताले मतदान गर्न पाउने छन् । मतदान अधिकृतले बटम थिचेपछि साइरन बजेसँगै मतदाताले भोट हाल्न पाउने छन् ।
चितवनमा विद्युतीय मेसिनबाट मतदान गर्न पाउने भएपछि मतदाता पनि उत्साहित भएका छन् । चितवनमा यो बिलकुलै नयाँ प्रयोग हुनेछ । उपनिर्वाचनमा वैशाख २० गतेसम्म १८ पुगेका नागरिकले मतदानमा सहभागी हुन पाउने भएका छन्् । यसका लागि थप मतदाता नामावली संकलन पनि भइरहेको छ । गत मंसिर ४ को निर्वाचनयता जिल्लामा पछिल्लो पटक एक हजार नयाँ मतदाता थपिएका छन् । वैशाख १४ गतेदेखि २० गतेसम्म सो क्षेत्रअन्तर्गतका सात गाविस र भरतपुर नगरपालिकाका पाँचवटा वडाहरुमा फोटोसहितको मतदाता नामावली संकलनको तयारी भइरहेको छ । आयोगले नेपाली नागरिकता लिएका सबैलाई मतदाता नामावलीमा नाम लेखाउन आग्रह गर्दै आएको छ ।
क्षेत्र नंं. ४ मा हरेक मतदान केन्द्रमा नामावली संकलनका लागि टोली खटिने छ । टोलीले विद्युतीय मतदानबारे जानकारीसमेत प्रदान गर्ने भएको छ । दोस्रो संविधानसभा निर्वाचनमा चितवनमा दुई लाख ७३ हजार ८०३ मतदाता रहेका थिए, जसमध्ये ५९ हजार ६९३ मतदाता क्षेत्र नं. ४ मा थिए । चितवनका मतदाताले पहिलो पटक विद्युतीय मतदानको प्रयोग गर्ने अवसर पाउने भएका छन् । यसअघि कांग्रेस–एमालेको संसदीय दलको निर्वाचनमा पनि विद्युतीय मतदान गरिएको थियो । यो विश्वभर धेरै वर्षअघि प्रयोगमा आइसकेको प्रविधि हो । यस प्रविधिबाट मतदान हुँदा मत बदर हुने समस्या हट्छ भने मतदान प्रक्रिया विश्वासिलो र छिटोछरितो हुन्छ । संविधानसभामा यो प्रविधिबाट मतदान हुने भनिए पनि धेरै चुनाव चिन्ह भएका कारण रोकिएको थियो । विद्युतीय मतदानबाट फर्जी मत खस्ने, भोटको दुरूपयोग हुनेजस्ता समस्या पनि निराकरण हुने देखिएको छ ।
Discussion about this post