सुखका सात सूत्र (लक्ष्मणरेखा)

अन‌ि यो पनि

आचार्य लक्ष्मण भण्डारी

हरेक व्यक्ति खुसी हुन चाहन्छ । खुसी हुने विधि फरक होलान्, त्यो भिन्न कुरा होे तर प्रत्येकले रमाउनकै लागि वा भनौँ खुसी हुनकै लागि प्रयास गरिरहेको छ भन्ने कुरामा दुईमत छैन । कोही पैसा कमाउँदै छ, कोही खाना खाँदै छ, कोही निदाउँदै छ, कोही आराम गर्दै छ, कोही हिँड्दै छ, कोही बोल्दै छ त कोही मौनमा छ । कोही रक्सी खान चाहन्छ भने कसैले चाहन्न । जसले जे गरे पनि आत्मसन्तुष्टि, प्रसन्नता र खुसीकै लागि गरेको छ भन्ने कुरा स्पष्ट छ । समग्रमा हामी सबैको प्रयास खुसीकै लागि छ । सारा प्रयासहरु खुसी हुनकै लागि भइरहेका छन्, तापनि किन मानिस खुसी हुन सकेको छैन त ? यो प्रश्न अत्यन्त विचारणीय छ । त्यसोभए खुसी हुने उपाय के हो त ? कसरी रमाउने वा प्रसन्न हुने त ? यहाँ खुसी हुने त्यस्तै विभिन्न सात सूत्रहरुका बारेमा चर्चा गरिँदै छ । आउनुस्, तिनै सूत्रहरुमाथि चिन्तन गरौँ ।

१. वर्तमानमा बाँच्नु

हामीलाई दुःख दिने मुख्यतया मनले हो । मन प्रायः हिजो र भोलिका विषयमा दौडिरहन चाहन्छ । हिजो कति मानिससित झगडा भएको हुन सक्छ, अभावका अवस्था हुन सक्छन्, कति गल्ती र अपराध गरिएको हुन सक्छ, कति नमीठा अनुभूति हुन सक्छन्, कसैको निधन भएको हुन सक्छ । यदि ती बितेका दुःखद अनुभूति सम्झने हो भने त्यसै दुःखी हुन्छ । जब मन दुःखी हुन्छ तब गर्न लागेको काम पनि गर्न सकिँदैन । कुनै विषयमा पनि रमाइलो लाग्दैन ।

त्यस्तै, ‘म मरेँ भने के होला ? मलाई क्यान्सर लाग्यो भने के होला ? मैले जागिर खान सकिनँ भने के होला ? दुर्घटना भयो भने के होला ? मैले गरेका नराम्रा कुरा अरुले थाहा पाए भने के होला ? मेरो घरमा कुनै सदस्यको निधन भयो भने के होला ?’ भन्ने जस्ता भोलिका कुरा सम्झनासाथ पनि मनमा छटपटी र बेचैनी पैदा हुन्छ । जब मनले नमीठो अनुभूति गर्दछ, तब आँखाअगाडिका सबै सुन्दर दृश्य नमीठा हुन्छन्, काम गर्न मन लाग्दैन ।

वर्तमानमा कहिल्यै पनि दुःख हुँदैन । मान्छेलाई दुःखद स्मृति र कल्पनाले नै दुःख दिने हुन् । घरमा कसैको निधन भयो भने पनि मानिस मृतकसितको सम्बन्धका अनुभूति र उसको अनुपस्थितिका कारण आउँदा दिनमा हुने दुःख र पीडालाई सम्झिएर दुःखी हुन्छ । वर्तमानमा त कुनै दुःख नै हुँदैन । एकपटक विचार गरेर हेर्नुस् । कोही मरेको छ भने त्यो मान्छेसितको विगत र आगतको हाम्रो सम्बन्धलाई बिर्सनुस् त, कहाँनेर दुःखी हुनुहुन्छ तपाईं ? वर्तमानमा त कुनै पनि दुःख हुँदैन । दुःख भनेकै हिजो र भोलिको स्मृति र कल्पना हो ।

यदि तपाईं यी दुवै कुरालाई छोडेर आजको अवस्था, आजको काम, आजको भूमिका, आजको उपलब्धि, आजको साथलाई मात्रै ध्यान दिनुभयो भने कहिल्यै दुःखी हुनुपर्दैन । आजको समय भनेको हाम्रो दायित्वको समय हो, कामको समय हो । दुःख, आलस्य, पीडा, चिन्ता र तनाव भनेकै दायित्वभन्दा कल्पनामा बाँच्ने अभ्यास हो । जुन काम गरिरहनुभएको छ, यदि तपाईं त्यही काममा लागिरहनुभएको छ र मन हिजो र भोलिका कुरामा खेलिरहेको छैन भने तपाईंलाई कुनै दुःख हुँदैन । मनको स्वभाव नै काममा, कर्तव्यमा भन्दा कल्पना र सम्झनामा उड्न चाहन्छ, जसले हामीलाई सुखभन्दा धेरै दुःख नै दिन्छ ।

यदि घरको कुनै मानिस मरेको छ, तपाईं उसलाई जलाउँदै हुनुहुन्छ, कसरी खरानी बनाउने भनेर लागिरहनुभएको छ, यताउता छरिएका मासु र हाडका टुक्राहरुलाई चितामा घोच्दै, ठोक्दै गरिरहनुभएको छ र मन पूरै त्यही काममा लागिरहेको छ भने कुनै दुःख हुँदैन । तर, अब म भोलि एक्लो हुन्छु, म कसरी भोलि बाँचूला ? मलाई उहाँले कस्तो माया गर्नुहुन्थ्यो हिजो, भोलि कसले गर्ला ?’ भन्ने मात्रै सोच्नुभयो भने रून, छाती पिट्न, चिच्याउन थाल्नुहुन्छ । यसो विचार गर्नुस् त, हिजो र भोलिका कुरा छोड्नेबित्तिकै हामी दुःखी हुन्छौँ कि हुँदैनौँ ?
यो संसार विनासशील छ । कुनै पनि कुरा स्थायी छैनन्, तर हामी ती स्थायी वस्तुलाई हुँदाका दिनसम्म प्रयोग गरेर खुसी हुने हो । यी चीज भोलि होलान् कि नहोलान् भनेर चिन्ता लिने होइन । आज भएका विषय भोलि नहोलान्, तर भोलिका विषय त अवश्य हुन्छन् नि । समयअनुसार विषय, व्यक्ति र वस्तु फेरिन्छन् भन्ने सत्यको बोध गरी हरेक विषयको क्षणभङ्गुरतामा पनि दुःखी नहुने व्यक्ति खुसी हुन्छ । परिवर्तन प्रकृतिको देन हो । परिवर्तनलाई स्वीकार्नु नै वर्तमानमा बाँच्नु हो । हामीसित जे छ, जस्तो छ, हामी जहाँ छौँ, सबै ठीक छ । यसरी वर्तमानमा बाँच्ने व्यक्ति सधैँ खुसी हुन्छ । खुसी हुने यो पहिलो सूत्र हो ।

२. अन्तस्करणको आवाज सुन्नु

हामीले कुनै काम गरिरहेका हुन्छौँ । कुनै व्यक्ति आउँछ र राम्रो भएन भनिदिन्छ । केही समयपछि अर्को व्यक्ति आउँछ र अति राम्रो भयो भनिदिन्छ । राम्रो भन्दा तपाईं खुसी, नराम्रो भन्दा तपाईं दुःखी । ठीक छ, प्रतिक्रिया गर्नेलाई गर्न दिनुस् । राम्रो गरे पनि वा नराम्रो गरे पनि उनीहरुलाई धन्यवाद दिनुस्, यो सोचेर कि तपाईंले मलाई ध्यान दिनुभयो, चासो दिनुभयो, मेरो बारेमा चिन्ता लिनुभयो । निर्णय स्वयम् तपाईंले गर्ने हो ।

तपाईं कति क्षमतावान् हुनुहुन्छ, कति शक्तिशाली हुनुहुन्छ, तपाईंका केकस्ता कमजोरी छन्, दोष छन्, यी सबै कुराको ज्ञान बाहिरको कुनै मान्छेलाई भन्दा धेरै तपाईंलाई हुन्छ । तपाईंसित एकछिन भेटिने वा दुई–चार वर्ष सङ्गत गर्ने मानसिले जति तपाईंलाई चिनेजानेका छन्, त्यसभन्दा धेरै त आफ्नो बारेमा स्वयम् तपाईंलाई थाहा छ नि ! तपाईंको बारेमा तपाईंले भन्दा धेरै कसले भन्न सक्छ ? त्यसैले, आफ्नो अन्तरतमलाई सोध्नु वा उसले भनेअनुसार जीवन बिताउनु नै सुखी हुने उपाय हो । हाम्रो ब्रह्म अर्थात् अन्तस्करण कहिल्यै खराब हुँदैन । ऊ जहिले पनि तटस्थ हुन्छ । तटस्थले भनेका कुरा नै स्वीकार्य हुन्छन् । बाहिरका कुनै पनि मानिस तटस्थ हुन सक्दैनन्, किनकि तिनको पनि आफ्नो आग्रह हुन सक्छ, तिनको पनि आफ्नो विचार वा वर्ग हुन सक्छ । उनीहरु पनि कुनै सम्प्रदाय वा संस्कारबाट दीक्षित हुन सक्छन् । ठीक छ, तिनले भनेका कुरालाई रेफरेन्समा राख्न सकिन्छ, तर निर्णय जहिले पनि तटस्थ विवेक, ब्रह्म, अन्तस्करण वा अन्तरहृदय जे भन्नुस्, त्यसले भनेअनुसार नै गर्नुपर्दछ र मात्रै खुसी हुन सकिन्छ ।

यदाकदा हामीभित्र दुर्भाव पलाउँछ । कसैको सामान लुकाउन मन लाग्छ । कसैलाई ठगी गर्न मन लाग्छ । त्यतिखेर हामीभित्रको ब्रह्मले यो ठीक होइन भनेर भनिरहेको हुन्छ । यो चोरी हो, यो व्यभिचार हो, यो भ्रष्टाचार हो, यो खराब हो भन्ने कुरा स्पष्टसित हरेक व्यक्तिलाई उसको अन्तस्करणले भनिरहेको हुन्छ, तर त्यसो गर्दा बाहिरका मानिसले राम्रो मान्ने, मनले इन्द्रिय वा मनले आनन्द मान्ने कारणले हामीले उल्टो निर्णय गरिदिन्छौँ । अन्ततः परिणाम दुःखद हुन्छ ।

हामीले हामी स्वयम्माथि ठूलो अन्याय गरेका छौँ । अरुकै इसारामा बाँच्ने, हिँड्ने गरेका छौँ, त्यसैले दुःखी छौँ । तसर्थ, जहिले पनि अन्तस्करणको आवाज सुन्नु र तदनुसार काम गर्नु पनि खुसी हुने उपाय हो । जुन काम गर्दा तपाईंको अन्तरात्माले धन्यवाद दिन्छ, गाली गर्दैन, त्यही काम ठीक हो भन्ने कुरा कहिल्यै नबिर्सनुस् । तपाईंको वास्तविक खुसी भनेकै आन्तरात्माको खुसी हो, मन र शरीरको मात्रै खुसी होइन, बाहिरी मानिसको मात्रै खुसी होइन । यो खुसी हुने दोस्रो सूत्र हो ।

३. सधैैँ सकारात्मक हुनु

जीवनमा चुनौती र अवसर सँगसँगै आउँछन् । ‘फूलको आँखामा फूलै संसार’ भनेझैँ हुने हुनामी र घट्ने घटनालाई सप्रेम स्वीकार्नु नै सकारात्मकता हो । कसैले गाली गरोस्, कसैले प्रशंसा गरोस्, दुवैप्रति सकारात्मक हुनुस् । गाली गर्ने पनि तपाईंको साथी हो, प्रशंसा गर्ने पनि साथी हो । यी दुवैमा एउटै समानता छ । त्यो हो, ती दुवै हाम्रा नजिक छन्, किनकि गाली गर्न पनि त मान्छेले चिन्नुपर्छ, जान्नुपर्छ । नचिनेका, नजानेका मानिस संसारमा कति छन्, कति ! तर, हामी सबैलाई गाली गर्दै त हिँड्दैनौँ । यसको अर्थ के घृणा वा निन्दा हाम्रै मान्छेबाट हुन्छ, टाढाको मान्छेसित हुँदैन । गाली गर्ने पनि हाम्रै हुन् भनेर करूणा देखाउनुस्, कहिल्यै दुःखी हुनुपर्दैन ।

आफूप्रति अहित सोच्ने, गल्ती गरेको व्यक्तिलाई पनि क्षमा गर्नुस् । आफूले गरेका दोषहरु चिन्नुस् । कोही पनि सर्वज्ञ छैनन्, सबैबाट गल्ती हुन्छ भन्ने ठान्नुुस् । मानिससित कुनै पनि प्रतिशोध नलिनुस् । प्रतिशोधले सबैभन्दा पहिला आफैँलाई खान्छ । बिर्सन सक्नुपर्दछ । कसैसित झगडा भयो, झगडा गरेको मानिस कता गएर हाँस्न थालिसक्यो, हामी भने उसको अनुहार सम्झँदै, उसका कुरा सम्झँदै दुःखी हुने वा आवेशमा आउने काम गर्दछौँ । तसर्थ, ‘जे भयो राम्रो भयो, जो हुन्छ वा हुनेछ, त्यो पनि राम्रै हुनेछ’ भन्ने दर्शन नै सुखको दर्शन हो । कोही दायाँ जाओस्, कोही बायाँ जाओस्, कोही बसोस् वा उठोस्, सबैको आआफ्नो शैली वा दर्शन हो । ती सबै शैली र दर्शनप्रति कुनै पनि आग्रह वा पूर्वाग्रह राखिएन भने कहिल्यै दुःखी हुनुपर्दैन । सधैँ सकारात्मक हुने मान्छे सदा सुखी हुन्छ । यो सुखी हुने तेस्रो सूत्र हो ।

४. स्वस्थ जीवनशैली अपनाउनु

कसैको चाहिनेभन्दा ठूलो भुँडी छ । कसैको आँखाको दृष्टि गुमेको छ । कसैको खुट्टा पोल्छ । कसैको पत्थरी छ । कसैलाई सुगर भएको छ । कसैलाई प्रेसर छ । यी विभिन्न कारणले गर्दा रातदिन चिन्ता परिरहन्छ । निद्रा मीठो र गहिरो लाग्दैन । यो सबै हाम्रो अस्वस्थ जीवनशैलीको परिणाम हो । कहिले हामी बिहान सबैरै खान्छौँ, कहिले अबेर । कहिले धेरै खान्छौँ, कहिले खाँदै खाँदैनौँ । खानाको मात्रा पनि एकनास छैन । कहिल्यै समयमा सुत्ने र समयमै उठ्ने बानी छैन । खाना खाँदा पनि कुनै नियन्त्रण छैन । पानी प्रशस्त पिउनु छैन । यी विभिन्न अनियमित र अनियन्त्रित जीवनशैलीका कारण शारीरिक र मानसिक समस्या पैदा भएका छन् । तसर्थ खानपान, निद्रा, शयनलगायत सबै विषयलाई स्वस्थ बनाउनु सुखी हुनु हो । स्वस्थ जीवनशैलीभित्र गहिरो विश्राम, नियमित दिनचर्या, लामो र गहिरो श्वासप्रश्वास, सन्तुलित भोजन, योगध्यान, व्यायाम, मुस्कुराहट र समयतालिकाअनुसारको काम पर्दछन् । समयतालिकाअनुसार काम गर्दा कहिल्यै तनाव हुँदैन । यसप्रकार, स्वस्थ जीवनशैली हाम्रो खुसीको चौँथो सूत्र हो ।

५. दया, सेवा र परोपकार गर्नुु

हामी जागिर खान्छौँ, व्यवसाय गर्छौं वा आयआर्जनका अन्य विभिन्न काम गर्छौं । ती कामको उद्देश्य अर्थ आर्जन गर्नु हो, पैसा कमाउनु नै हो । हामीले कमाएको पैसा सबै हाम्रो व्यक्तिगत खानपान, लवाइखवाइ, खर्चपर्च र हिँड्डुलको लागिमात्रै त होइन नि ! हाम्रो कमाइको अधिकतर हिस्सा परिवारको लागि खर्च हुन्छ । श्रीमती, श्रीमान्, छोराछोरी, बाबुआमाको लागि खर्च गरिन्छ । उनीहरुलाई खर्च गर्दा नै हामीलाई आनन्द लाग्छ । यसको अर्थ के भने हाम्रो कमाइ वा आर्जन अरुकै लागि हो, हाम्रालागि मात्रै होइन । अरुका लागि गरिने काम दया, सेवा, जिम्मेवारी वा परोपकारभित्र पर्दछ ।

सेवा र परोपकार नै खुसीको कारण हो । अर्काका भावनाको सम्मान गर्नु हाम्रो कर्तव्य हो, किनकि हाम्रा भावनाको पनि सम्मान जरूरी छ । अरुलाई विश्वास गर्नुपर्छ । सबैसित सप्रेम व्यवहार गर्नुपर्दछ । आफूलाई पूर्णको एउटा अंश ठान्नुपर्दछ । घरमा माग्न आएको मान्छेलाई आफूसित भएको दुई–चार पैसा दान गर्दा उसको अनुहारमा खुसीको उज्यालो देखा पर्दछ । त्यही उज्यालोको आलोकमा हामी पनि आलोकित हुन पुग्दछौँ । आखिर जीवन पनि त अर्कैको कल्याण गर्नु हो । परोपकार गर्नुको अर्थ अरुलाई आफूप्रति कृतज्ञ र धन्य बनाउनु पनि हो । यसले हामीलाई सम्मान, सुरक्षा र सन्तुष्टि सबै दिन्छ । तसर्थ, सेवा र परोपकार खुसी हुने पाँचौँ सूत्र हो ।

६. प्रकृतिसित जोडिनु

कहिलेकाहीँ एकोहोरो काम गर्दा वाक्क लाग्छ । हामी कतै घुम्न निस्कन्छौँ । प्रायः मन बहलाउन हामी त्यसरी निस्कने गन्तव्य नदीकिनार हुन्छन्, तालतलैया हुन्छन्, पहाडपखेरा हुन्छन्, छाँगाछहरा हुन्छन्, हिमचुचुरा हुन्छन्, वागबगैँचा हुन्छन् । आखिर किन ? युरोपका अत्यन्त सुविधासम्पन्न वातावरणमा जीवन बिताएका मान्छे पनि किन नेपाल आउन चाहन्छन् ? किन त्यसरी नेपाल आउने विदेशी सहरबजारमै सीमित नभएर हिमाल, पहाड, नदीनाला, वनजङ्गल र घरगाउँ डुल्न मन पराउँछन् ? किनकि आनन्द जे छ, प्रकृतिमै छ । खुसी र मस्ती जति छ, प्रकृतिमै छ । यसैले, जसले प्रकृतिलाई निषेध गर्दछ, आधुनिक कंक्रिटको जङ्गल मन पराउँछ, ऊ कहिल्यै खुसी हुन सक्दैन ।
घरमा पनि फूल रोपिएको छ, रुखबिरूवाको हरियाली छ भने आनन्द लाग्छ, किनकि हाम्रो मन प्रकृतिमै बहलिन्छ, खुसी हुन्छ । वरपरको प्राकृतिक सौन्दर्यलाई दिल खोलेर स्वीकार्नुस् । माटोमा हिँड्नुस्, खाली खुट्टा कहिलेकाहीँ । समय मिल्नासाथ खुला हावामा निस्किएर गहिरो सास लिनुस्, बगैँचामा गएर फुल्दै, झुल्दै गरेका फूलपालुवालाई हेर्नुस् । अपूर्व आनन्दको अनुभव हुन्छ । प्रकृतिसित जोडिनासाथ प्राकृतिक जीवन आरम्भ हुन्छ । तसर्थ, प्रकृतिसित जोडिनु पनि खुसीको अर्को सूत्र हो ।

७. सधैँ स्वतन्त्र रहनु

सबै कुरा भएर पनि तपाईं बाँधिनुभयो भने कहिल्यै पनि खुसी हुन सक्नुहुन्न । बाँधिनुको अर्थ तपाईंभित्र कुनै एउटा विषयले घर गरिरहनु अर्थात् मन–मस्तिष्कमा एउटै कुरा खेलिरहनु पनि हो । हामी प्रायः मुक्त हुन चाहँदैनौँ । कुनै न कुनै प्रकारका बन्धनहरुको जालोमा जेलिइरहेका हुन्छौँ । हामी कोही माक्र्सवादको बन्धनमा छौँ, कोही राष्ट्रवादको । कोही जागिरको बन्धनमा छौँ, कोही व्यवसायको बन्धनमा । कोही सेतो रङको बन्धनमा छौँ त कोही रातो वा कालो रङको बन्धनमा । कोही पुरानो व्याकरणको बन्धनमा छौँ त कोही नयाँ व्याकरणको बन्धनमा ।

प्रसन्न व्यक्ति कुनै पनि जडताभित्र बाँधिएर बस्दैन । जीवनमा लचकता चाहिन्छ, गति चाहिन्छ । गति नै प्रगति हो, लचकता नै जीवन हो । त्यसो त बन्धन पनि जीवनमा आवश्यक छ । बन्धनको अर्थ तपाईंको प्रगतिलाई अवरूद्ध गर्ने विषय भनेको हो । तपाईंको गतिलाई, तपाईंको लचकतालाई यदि कुनै जागिरले रोक्छ भने त्यो बन्धन हो, यदि कुनै ‘वाद’, सिद्धान्त वा कुनै मान्यताले रोक्छ भने त्यो बन्धन हो । होइन जागिर, व्यवसाय, सिद्धान्त आदि कुनै पनि विषयमा लागेर बाँधिनुभएको छैन, गतिशील हुनुहुन्छ, लचक हुनुहुन्छ, स्वतन्त्र हुनुहुन्छ भने बेठीक पनि हुँदैन ।

‘स्व’ भनेको आफू, आफ्नो अस्तित्व हो भने ‘तन्त्र’ भनेको शासन अर्थात् मार्गदर्शन भनेको हो । जुन व्यक्ति आफ्नो अन्तस्करण, आफ्नो अस्तित्व र विचारका आधारमा चल्छ, ऊ नै स्वतन्त्र व्यक्ति हुन सक्छ । यही स्वतन्त्रताले नै व्यक्तिलाई खुसी बनाउँछ, आनन्दित बनाउँछ । यदि कुनै निश्चित मान्यता, आग्रह वा पूर्वाग्रहमा अडिने काम गर्दा अरु मान्यतामाथि अन्याय हुन्छ । तसर्थ, आफ्नो घरलाई त्यतिमात्रै माया गर्नु ठीक छ, जुन मायाले छिमेकीलाई पनि घृणा र निन्दा गर्दैन । हामी आफ्नो घरलाई धेरै माया गर्दा छिमेकीको घरलाई घृणा गर्दछौँ । हामी हाम्रा देवतालाई पूजा गर्दा वा श्रद्धा गरिरहँदा अर्काका देवतालाई र उनीहरुको शैलीलाई घृणा गर्दछौँ भने यही नै जडता हो । आफू शाकाहारी हुने कुरा ठीक हो, तर मांसाहार गर्ने मानिसप्रति असहिष्णु हुनु, गाली गर्नु वा घृणा गर्नु बेठीक हो । यो कुनै पनि आग्रह वा मान्यताबाट मुक्त र स्वतन्त्र हुन नसक्नु हो । यसैका कारणले हामी खुसी हुन पनि सक्दैनौँ । तसर्थ, हरेक प्रकारका बन्धनमा मुक्त हुनु र स्वको आदेशानुसार परिचालित हुनु स्वतन्त्र हुनु हो । यही स्वतन्त्रतामा नै खुसी छ । यसर्थ, स्वतन्त्र रहनु पनि खुसी हुने सातौँ विधि हो ।
यसर्थ आउनुस्, सुखका यी सात सूत्रहरुलाई आत्मसात् गरी प्रसन्न रहने प्रयास गरौँ, खुसी रहने प्रयास गरौँ । तपाईंको मङ्गल होस्, कल्याण होस् । अस्तु ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया