‘सलह’ नियन्त्रणमा ध्यान देऊ

अन‌ि यो पनि

मौका छँदैमा पूर्वतयारी नगर्ने र फुर्सदमा पछुताउने सरकारको पुरानै रोग हो । सरकारले समयमै कोरोना व्यवस्थापन गर्न नसक्दा अहिले समुदायमा तीव्ररुपमा फैलिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते सबै कोभिड–१९ अस्पतालहरुमा परिपत्र गरी आइसोलेसनमा रहेका संक्रमितमध्ये लक्षण नदेखिएकालाई १४ दिनपछि र लक्षण देखिएकालाई पनि लगातार तीन दिनसम्म लक्षण नदेखिए पिसिआर परीक्षण नगरी घर पठाउन निर्देशन दियो । जब कि, सर्वोच्च अदालतले आइसोलेसनमा रहेका संक्रमितहरुको पिसिआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछिमात्रै घर पठाउन अन्तरिम आदेश जारी गरेको थियो । सरकारले क्वारेन्टाइनबाट फर्काएका र आइसोलेसनबाट बिदाइ गरेर पठाएका व्यक्तिमा पिसिआर परीक्षणपश्चात् पोजेटिभ रिपोर्ट देखिनुले सरकारको गम्भीर लापर्बाही प्रस्ट भएको छ । सुदूरपश्चिममा कोरोना संक्रमण समुदायस्तरमा फैलिनुका पछाडि सरकारको कमजोर व्यवस्थापन, हचुवा परीक्षण (आरडिटी) विधि र सर्वोच्चको आदेश कार्यान्वयन नगर्नु नै हो । पछिल्लो समय कोरोना भाइरस ७७ वटै जिल्लामा विस्तार भइसकेको छ भने समुदायस्तरमा पनि संक्रमण पुष्टि हुन थालेको छ । कोरोना कहरले थलिएका जनतामा मनसुनी वर्षाका कारण सलह नामक फट्याङ्ग्राको प्रवेशले थप चिन्ता थपेको छ ।

कोरोना महामारीले पारेको बहुआयामिक प्रभाव र पार्नसक्ने थप जनधनको क्षति न्यूनीकरणबारे सरकारसँग पनि प्रस्ट योजना छैन । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन सय दिन पुग्न लाग्दासमेत अझैसम्म क्वारेन्टाइन व्यवस्थापनमा चुकेको छ । परीक्षणको दर र दायरा बढ्न सकेको छैन । समुदायस्तरमा सचेतना फैलाउन र संक्रमितको मनोबल उच्च बनाउने कार्यमा पनि सरकार असफल देखिएको छ । यही महामारीका बीच सलह नामको फट्याङ्ग्रा भैरहवा, पर्सा, बारा, सर्लाही, सिन्धुली, काभ्रे, स्याङ्जा, कपिलवस्तु, पाल्पा, मकवानपुर, नवलपरासी र चितवनलगायतका स्थानमा फैलिसकेको छ । चितवन प्रवेश गरेको सलह कीराले मकै बालीलगायत कृषि उपजहरु खान थालेको समाचार सार्वजनिक भएको छ । तर, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा सलह सानो झुन्डमा मात्रै देखिएको र केही दिनमा हराएर जाने भएकाले नआत्तिन आग्रह गरेको छ । जब कि, अहिले देशभर रोपाइँको चटारो परेको छ । हरिया बीउ ब्याडमै रहेको अवस्थामा फट्याङ्ग्राले सखाप पार्ने हो कि भन्ने चिन्ता बढेको छ । किनभने, सलहको एकै बथान चारदेखि आठ करोडको संख्यामा हुने र एकैदिनमा पाँच सय किलोमिटरसम्म उड्न सक्ने विश्व खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएबाटै यसको जोखिम अनुमान गर्न सकिन्छ । यतिमात्रै होइन सलहको एक बथानले एकदिनमा ३५ हजार मानिसले दुई छाकमा खानेबराबरको खाद्यान्न नोक्सानी गर्न सक्ने बताइएको छ ।

सलहले एक दर्जन बढी मुलुकमा उत्पात मच्चाएपछि विश्व खाद्य संगठनले यसको प्रकोपलाई प्लेगको संज्ञा दिएको छ । कोरोनाले नेपालको चौतर्फी क्षेत्र अस्तव्यस्त भइरहेको अवस्थामा यस बथान नेपाल प्रवेश गर्नु थप चुनौतीको विषय बनेको छ । सलहको बथानले अहिलेसम्म खासै असर नगरे पनि बथान आफैँ जान्छन्, केही दिनमा हराउँछन् भनेर ढुक्क हुने अवस्थाचाहिँ छैन । एकैदिनमा ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने कीराको प्रकोप आउन नदिन हरेक स्थानीय तहले सतर्कता अपनाउनैपर्छ । केही पालिकाले सलह नियन्त्रणका लागि संकलन गर्नेलाई प्रतिकेजी २० रूपैयाँ दिने घोषणा गरेका छन् । यस्तो घोषणाले मात्रै करोडौँ संख्यामा रहेको बथान नियन्त्रण गर्न सकिँदैन । थाल ठटाउने, कराउने, लखेट्नेजस्ता उपायले एक ठाउँको समस्या समाधान भए पनि अर्को ठाउँमा फेरि समस्या उत्पन्न हुनेछ । विगतमा यही प्रजातिको फट्याङ्ग्राले व्यापक क्षति पु¥याएका कारण काठमाडौँ उपत्यकामा अनिकाल र भोकमरी परेको दृष्टान्त छ । धान र मकै नेपालीको प्रमुख खाद्यान्न मानिन्छ । यही बाली सखाप भयो भने मुलुकमा अनिकालको स्थिति नआउला भन्न सकिन्न । त्यसमाथि कोरोनाको विश्वव्यापी महामारी कायमै छ । सरकारले ठूलो बथानका साथ आउन सक्ने फट्याङ्ग्रा र पार्नसक्ने क्षतिको पूर्वानुमान गरी नियन्त्रणका प्रभावकारी उपायसहित युद्धस्तरमा लाग्नु जरूरी देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया