कृषिमा स्थानीय स्रोत एवं साधनको उपयोग

अन‌ि यो पनि

नेपाल कृषिप्रधान देश हो । आयआर्जनको मुख्य स्रोत पनि कृषि व्यवसाय नै हो । देशका दुईतिहाइ मानिस कृषि व्यवसाय गर्दछन् । प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट आर्थिक एवं सामाजिक जीवन सुखमय बन्ने हुनाले आफ्नो श्रम, सीप र समय कृषि व्यवसायमा लगानी गर्ने गरेका हुन् । केही वर्षयतादेखि यो व्यवसायमा सङ्कट आएको पाइन्छ । पहिले भन्ने गरिन्थ्यो– ‘उत्तम खेती मध्यम व्यापार अधम नोकरी ।’ अहिले यो भनाइ असत्य बनेको छ । आज उत्तम व्यापार मध्यम नोकरी र अधम खेती भएको छ । यो कस्तो विडम्बना ! मानिसको प्राण रक्षा गर्ने कृषि व्यवसाय दुःखी, झन्झटिलो र बोझिलो बन्न पुग्यो किसानलाई । कृषि व्यवसायमा सङ्कट आएपछि अर्थतन्त्र पनि समस्यामा पर्ने नै भयो ।

कृषि व्यवसायमा सङ्कट आउनुका कारणहरु थुप्रै छन् । जलस्रोतको दोस्रो धनी मुलुकमा पर्दछ नेपाल, तर जलस्रोतको उपयोग गर्न नसक्नाले मुलुकको दुई भाग पानी गंगा नदीमा मिल्न गएको अवस्था छ । नेपालका ठूला नदीमा बाँध बाँधेर दुवै देशका नहरमा पानी हालेर सिंचाइ गर्ने भनी नेपाल–भारतबीच सम्झौता गरिएको भए पनि दुई भाग पानी भारतले प्रयोग गरेको र एक भागमात्रै नेपालतर्फ छाडेको पाइन्छ । हिउँद महिनामा चाहिँ नेपालको नहर सुख्खा हुने गर्दछ ।

देशमा अथाह जलभण्डार भए पनि काकाकुलजस्तो बनेको छ देश । मनसुनको भरमा पर्नुसिवाय अर्को विकल्प छैन । जलवायुको परिवर्तनले गर्दा अनावृष्टि, सुख्खा खडेरी तथा अतिवृष्टि हुँदा बाढीले तराईको भूभाग जलमग्न हुने गर्दछ । फेरि भारतले सिमानामा बाँध बाँध्ने, बाटो बनाउने गर्दा बाढीको पानीको निकास रोकिएर डुबानमा पर्ने हुँदा पनि कृषि बालीमा ह्रास आएको यथार्थ तस्बिर छर्लङ्ग देखिएको छ । पहिले खाद्यान्न निकासी गर्ने देश अहिले करोडौँको खाद्य सामग्री आयात गरेर परनिर्भर बन्न पुगेको छ ।

त्यस्तै, वायु प्रदूषणकै कारणबाट अन्नबाली नष्ट गर्ने पुतली, अमेरिकी फौजी कीरा, लाही, डढुवा रोगको प्रकोप बढ्दै गएको हुँदा पनि उत्पादनमा ह्रास आउने गरेको छ । साथै, कृषकले कृषिमा जति श्रम, समय र पैसा लगानी गर्दछ त्यसको तुलनामा आयस्ता न्यून हुने हुँदा पनि कृषि व्यवसायमा मोह भङ्ग हुने गरेको देखिन्छ । त्यस कारण पनि कृषि व्यवसायमा सङ्कट थपिएको हो । कुनै पनि व्यवसाय गर्न लगानीको आवश्यकता पर्दछ । साहूसँग ऋण काढेर व्यवसाय गर्छन्, तर साहूले चर्को व्याज लिने र १० लाख दिएर २० लाखको किर्ते तमसुक गराउने हुँदा किसानले ऋण चुक्ता गर्न नसकेपछि साहूले किसानको घरजग्गा आफ्नो नाममा गराएर किसानलाई बेघरबार बनाएको घटना पनि घटेको पाइन्छ, जसले गर्दा किसान आत्महत्या गर्न पुग्दछ । त्यस कारणले कृषि व्यवसायमा अरूचि बढ्दै गएको देखिन्छ । फेरि उर्वरभूमि खण्डीकरण गर्न नपाइने भन्ने ऐन–नियम नभएको हुनाले बिचौलियाहरु जग्गा खण्डीकरण गरेर रातारात नवधनाढ्य बनेका छन्, यसतर्फ राज्यको ध्यान जान सकेन । जसले गर्दा उर्वरभूमि खण्डीकरण हुनाले पनि कृषिमा सङ्कट पैदा भएको छ ।

मुलुकमा प्रजातन्त्र बहाली भयो, व्यवस्थाको नाम परिवर्तन भयो तर संस्कार परिवर्तन भएन । नेता चिरनिद्राबाट ब्यँुझिए तर उठ्न सकेनन् । उठेर पनि हिँड्न जानेनन्, हिँडे पनि बीच बाटोमै अलमलिए, किनभने सत्ताको आकर्षणको मोहमा बाँधिए । तेरो–मेरो भागबन्डाको परम्परा यथास्थितिमै रह्यो । राष्ट्र र जनहितका लागि नीति–नियम बनेनन् । बनेका पनि कार्यान्वयनमा आएनन् । योजना धेरै बने तर सयमा दसमात्रै लागू भए । देशले काँचुली फेर्न सकेन, जनताले रोजगारी पाएनन् । आप्mनो श्रम र सीप बेच्न विदेश जानेको लर्को लाग्यो । त्यस कारण पनि कृषि व्यवसायमा सङ्कट आयो ।

कृषि व्यवसायको कारक त¤व पानी नै हो । तसर्थ, अझै पनि धेरै खेतीयोग्य उर्वरभूमि बाँकी छन् । गाउँगाउँमा सिंचाइ सुविधा पु¥याउन वर्षाको पानी संकलन गर्ने कृत्रिम पोखरी बनाउने सम्भावनाको खोजी गर्ने अथवा ससाना खोलामा बाँध बाँधेर ताल, पोखरीमा मिसाउने वा प्राकृतिक ताल, पोखरीको पानी खोलामा मिसाएर सिंचाइ सुविधा पु¥याउने खालको विकल्पको खोजी गर्न सकिन्छ । त्यसका लागि तत्सम्बन्धी विशेषज्ञसँग विचार–विमर्श गरी अल्पकालीन एवं दीर्घकालीन योजना तयार गरेर बाह्रैमास सिंचाइ सुविधा पु¥याउन सकेको खण्डमा रोजगारीको सिर्जना भई देश कृषि व्यवसायमा आत्मनिर्भर भएर आर्थिक वृद्घिदर अपेक्षाकृत बढ्न सक्दछ ।

तसर्थ, अब कृषि विविधीकरण गरी खाद्यान्नभन्दा भिन्न कुटिर उद्योग जस्तैः फल उद्योग, फूल व्यवसाय, पशुपालन, दूध उद्योग, दलहन, तेलहन एवं तरकारीमा आत्मनिर्भर हुन सकिन्छ । स्थानीय तहमा उपलब्ध साधन कुटिर उद्योग जस्तैः काष्ठकला, मूर्तिकला, मैनबत्ती, धूप (बटुवा), चिया र कफी उद्योग, जडीबुटीखेती, खेलौनाका सामग्री, दुनाटपरी, बत्ती कात्नेजस्ता कर्मलाई पनि अघि बढाउन सकिन्छ । बाँस, निगालो बहुउपयोगी र दीर्घजीवी वनस्पतिबाट विभिन्न घरायसी सामग्री बन्न सक्दछ । त्यस्तै बेतबाट फर्निचर, धागो उद्योग, ऊनबाट स्वीटर, राडी, गलैँचा बुनेर विदेशमा निर्यात गर्न सकिन्छ । यी र यस्ता यावत् स्वावलम्बी कार्यक्रम सञ्चालन गर्दाखेरि जीविकोपार्जन गर्न टेवा पुग्दछ । त्यसका लागि राज्यबाट लगानीको व्यवस्था गर्नुपर्ने हुन्छ ।

विगतमा सञ्चालन भएका तर निजीकरण भएपछि विस्थापित भएका उद्योग सञ्चालन गर्न सकिन्छ । त्यसरी नै कलकारखाना ब्यँुताउन र नयाँ उद्योग सञ्चालन गर्न सकेको खण्डमा प्रशस्त रोजगारीको अवसर मिल्दछ । त्यस्तै, पहाडका पाखापखेरा र तराईका समथर भूमि बाँझो रहेका छन्, ती जमिन श्रम र सीप भएका युवाशक्तिको पर्र्खाइमा बसेका छन् । अब अहिले महामारीको रुपमा फैलिएको मानव घातक कोरोना भाइरसले विदेशिएका नेपाली युवा त्रसित भएर आफ्नै भूमिमा आएर विदेशबाट सिकेको श्रम र सीप स्वदेशमा लगानी गर्न चाहिरहेको अवस्थामा सरकारले उपयुक्त वातावरण तयार गरेको खण्डमा नेपाल समृद्घ बन्ने कल्पना साकार हुनेछ । जबसम्म भ्रष्टाचारमा अंकुश लगाइँदैन, युवाशक्तिको श्रम, सीप र समय स्वदेशमा खर्चिने वातावरण बन्दैन तबसम्म समृद्ध र सुखी नेपाली तथा कृषिप्रधान देश भनेर भन्न मिल्ला र ? कृषिप्रधान देश भनिए पनि आज १५ प्रतिशत नेपालीमात्रै कृषि व्यवसायमा कार्यरत भएको पाइन्छ ।

मित्रराष्ट्रको सहयोगमा बनेका उद्योगहरु निजीकरण भएपछि खण्डहरुमा परिणत भए । जसबाट हजारौँ कामदारले रोजीरोटी पाएका थिए । अब देश संघीयतामा गएको हुँदा तीनै तहका सरकारको संयुक्त सहयोगबाट विस्थापित भएका उद्योगहरुलाई सञ्चालनमा ल्याउने प्रयत्न गर्ने हो भने पुनः हजारौँ मजदुरले रोजीरोटी पाउनेछन् । त्यसैगरी, स्थानीय तहमा खेर गैरहेका स्रोतसाधनलाई प्राथमिकता दिई स्वावलम्बन कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया