ससुराको अनैतिक कार्य लुकाउन बुहारीको हत्या, बिमाको लोभले परिवार नै अपराधमा

अन‌ि यो पनि

हेटौँडा । असार १ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ मा सुस्मिता थापालाई क्रूरतापूर्वक हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले परिवारकै सदस्यहरु मिलेर बुहारीको हत्या गरेको भन्ने निष्कर्षसहित सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

ससुराको गलत नियत र बिमाले लियो ज्यान

सुस्मिता क्षेत्री थापाको क्रूरतापूर्वक हत्या हुनुमा दुईवटा कारण देखिन आएको छ । मृतक सुस्मिताका ससुरा प्रकाश थापाले जबर्जस्ती करणी प्रयास र सुस्मिताको मृत्युपछि उनका पति र उनको नाममा आउने बिमाको रकमको कारण हत्या भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मृतक सुस्मिताका पति रुपेन्द्रको २०७६ साल असोज २६ गते ससुरालीबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउँदै आइएको थियो ।

थापा परिवारले निरन्तर मानसिक तनावमात्रै नभई ससुरा प्रकाश थापाले मृतक सुस्मिता क्षेत्री थापालाई बाथरूममा जबर्जस्ती करणीको उद्योग गरेकोसमेत प्रहरीले बताएको छ ।

प्रहरीले मृतक सुस्मिताका श्रीमान् रुपेन्द्रको सवारी दुर्घटनाबाट मृत्युपश्चात् पाउने क्षतिपूर्तिबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घरपक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेकोलाई पनि हत्याको कारण हुन सक्ने देखाएको छ ।

मृतक सुस्मिताका श्रीमान् रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलबबापतको ३८ लाख २८ हजार रकम हकवालाको विवादका कारण हालसम्म प्राप्त नगरेको पनि कारण देखाइएको छ ।

यसरी भयो हत्या

प्रहरीले दिएको घटनाको विवरणअनुसार असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए ।

खाना खानुअघि ससुराले मदिरा सेवन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सीता थापा भान्छा कोठामा खाना खाइरहेका थिए ।

सुस्मिता महिनावारी भएको कारण भान्छा कोठाको भुइँमा बसेर खाना खाँदै थिइन् । सोही समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छा कोठामा प्रवेश गरी बुहारी सुस्मिताको टाउकोमा पछाडिबाट प्रहार गरेको देखिन आएको प्रहरीले जनाएको छ ।

ससुराको प्रहारपछि भुइँमा लडेकी सुस्मितालाई नन्दले नजिकै रहेको लोहोरोले प्रहार गरेपछि गम्भीर घाइते भएकी थिइन् । सुस्मिताले बचाऊ भन्दै कराउन थालेपछि सासू तुलासा पनि भान्छा कोठामा आउँछिन्, तर उनलाई बाबुछोरीले चुपचाप अर्को कोठामा गएर बस्न भन्दै सुस्मिताको हत्या गरेर आत्महत्याजस्तो घटना देखाउन प्रयास गर्छन् ।

मृतक सुस्मिताका ससुरा र नन्द अर्थात् बाबुछोरी मिलेर हत्या भएको कोठामा फुटेका सिसाहरु, बिग्रेका भाँडाकुँडा मिलाउँछन्, भुइँमा लागेको रगत सफा गर्छन् र भित्रबाट चुकुल लगाएर आफूहरु झ्यालबाट निस्केर आत्महत्याजस्तो बनाउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

कोठा मिलाएर जीउमा र कपडामा लागेको रगत सफा गरेर भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आत्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि प्रहरीसम्म घटना आइपुग्छ । प्रहरीले असार २ गतेबाट अनुसन्धान गरेर १२ दिनमा निष्कर्ष निकालेको हो ।

आजीवन कैदसम्म हुने

हत्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरुलाई मुलुकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ ‘क’ बमोजिम क्रूर यातना दिई ज्यान मारेको आरोपमा कसुर जीवित रहेसम्म कैद अर्थात् जन्मकैद हुने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशीलसिंह राठौरले बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया