मनाइयो राष्ट्रिय धान दिवस

अन‌ि यो पनि

भरतपुर । सोमबार चितवनमा १७औँ राष्ट्रिय धान दिवस मनाइएको छ । सरकारी तवरबाट कृषि ज्ञान केन्द्र चितवन र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले सोमबार माडी नगरपालिका–८, कान्तिपुरस्थित सामूहिक चक्लाबन्दी खेती कार्यक्रम लागू भएको ठाउँमा यान्त्रिकीकरण विधिबाट धान रोपेर दिवस मनाइएको हो ।

कुल २५ बिघा क्षेत्रफलमा धान लगाउने तयारी भए पनि सोमबार उद्घाटनका दिन करिब एक बिघा क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र चितवनका अधिकृत मीनबहादुर पुनले जानकारी दिए । रोपाइँसँगै दहीचिउरा र केरा खाएर रमाइलो गरिएको थियो ।

चितवनमा यान्त्रिकीकरण विधिबाट धान रोप्ने काम सुरूवाती चरणमा रहेकोले लक्ष्यअनुसार सबै क्षेत्रफलमा यान्त्रिकीकरण विधिबाट धान रोप्न सकिने अवस्था नरहेको उनले बताए ।

माडीमै पनि परम्परागत तरिकाबाटै रोपाइँ गर्ने गरी बीउ राखिएकोले सबै यन्त्रबाट रोप्न सम्भव नदेखिएको उनको भनाइ छ । ‘मेसिनबाट धान रोप्न सोहीअनुसार बीउको तयारी गर्नुपर्ने हुन्छ’, उनले भने, ‘तर चितवनमा मेसिनबाट धान रोप्न सक्ने भए पनि तयारी पुगेको देखिएन ।’ ज्ञान केन्द्रका अनुसार माडी क्षेत्रमा करिब ५० प्रतिशत रोपाइँ सकिएको छ ।

यस्तै, पूर्वी चितवनमा पनि करिब ५० प्रतिशत रोपाइँ सकिसकेको उनले बताए । माडी र पूर्वी चितवनको तुलनामा पश्चिम चितवनमा कम रोपाइँ भएको उनको भनाइ छ । ‘समग्रमा चितवन जिल्लामा ४० देखि ४५ प्रतिशत रोपाइँ सकिएको छ’, उनले भने ।

विजयनगरमा दशनामी समाजको रोपाइँ

नेपाल दशनामी समाज विजयनगर–शिवघाट इकाइले सोमबार रोपाइँ कार्यक्रम गरेको छ । भरतपुर महानगरपालिका वडा नं–१६, त्रिचोकस्थित स्थानीय मधु गिरीको खेतमा रोपाइँ गरेर असार पन्ध्र मनाइएको हो ।

नेपाललाई कृषिप्रधान देश भनेर चिनिए पनि पछिल्लो समय खेतीपाती गर्ने किसानको संख्या घट्दै गएको भन्दै दशनामी समाजले रोपाइँ कार्यक्रम गरेर उत्सव मनाएको हो ।

दशनामी महिला समाजकी चितवन जिल्ला उपाध्यक्षसमेत रहेकी गिरीले यसवर्ष २५ बिघा क्षेत्रफलमा रोपाइँ गरेकी छन् । उक्त रोपाइँ उत्सव कार्यक्रमलाई भरतपुर महानगरपालिका वडा नं–१६ का अध्यक्ष अमृत हमालले धान रोपेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरीले नेपालको पहाडी क्षेत्रमा वैदेशिक रोजगारीमा जाने र तराई क्षेत्रमा भूखण्डीकरणका कारण धानखेती गर्ने क्षेत्रफल घट्दै गएको बताए । स्वदेशी उत्पादनलाई जोड दिन सरकारले विभिन्न खालका कार्यक्रम ल्याए पनि किसानसम्म पुग्न नसक्दा वास्तविक किसानले सरकारबाट सुविधा लिन नपाएको उनले बताए ।

नेपाल दशनामी समाज चितवनका संस्थापक अध्यक्ष ईश्वर गिरीले नेपालका राजनीतिक दलहरुले किसानलाई समेत कार्यकर्ता नबनेसम्म सुविधा दिन नखोज्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए । इकाइ अध्यक्ष सागर गिरीको अध्यक्षतामा भएको रोपाइँ कार्यक्रममा केन्द्रीय सदस्य ऋतु गिरी, मानवअधिकारकर्मी ज्वाला पुरी वनलगायतको उपस्थिति थियो ।

गीतानगरमा पनि धान दिवस मनाइयो

भरतपुर–६, गीतानगरमा पनि धान दिवस मनाइएको छ । अमरबस्तीस्थित हरिहर टोल विकास संस्थाको आयोजनामा कृषक प्रेमराज दवाडीको खेतमा भरतपुर–६ का वडा सदस्य देवमित्र पण्डित, टोल विकास संस्थाका सदस्यसहित स्थानीयको सहभागितामा दिवस मनाइएको हो ।

धान रोप्दै हिलो खेलेर असार पन्ध्र मनाइएको हो । साथै दहीचिउरा र केरा खाँदै रमाइलो गरेर धान दिवस मनाइएको हो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया