चितवनमा सलहको प्रकोप बढ्दो

अन‌ि यो पनि

भरतपुर । तराईका विभिन्न जिल्ला हुँदै चितवन प्रवेश गरेको सलह कीराको प्रकोप बढ्दै गइरहेको छ । शनिबार चितवनको खैरहनी नगरपालिकामा देखिएको सलह कीरा फैलिँदै आइतबार कालिका नगरपालिका, भरतपुर–२६ मा देखिएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले जनाएअनुसार चितवनमा सलह कीरा फैलिँदै गइरहेको छ । सोमबार सलह कीरा चितवनको पहाडी क्षेत्रमा समेत पुगेको परियोजनाले जनाएको छ । भरतपुर महानगरपालिकाको १०, ९, ११ र १२ नं वडाको घरमाथि सलह उडेको स्थानीय बताउँछन् ।

‘भरतपुरमा समेत सलह देखिएको छ, चितवनको पहाडी क्षेत्र दाहाखानी, जुगेडीमा पनि सलहको झुन्ड देखियो’, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख तथा कृषि विज्ञ मेघनाथ तिमिल्सिनाले भने, ‘जुगेडी र दाहाखानीमा किसानले लगाएको नेपियर घाँसमा सलहले क्षति पु¥याएको जानकारी आएको छ ।’ सलहले कालिका नगरपालिकाको मकैमा सामान्य क्षति गरेको विवरण छ ।

‘चितवनमा सलहको झुन्ड तितरवितर भएका छैनन्, बढ्ने र फैलने क्रम बढ्दो छ’, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले भने, ‘चितवनमा सलहले हालसम्म ठूलो क्षति गरेको छैन, तर क्षति पु¥याउन सुरू गरेको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार खैरहनीमा अझै ठूलो सलहको झुन्ड रुखमा बसेको छ । परियोजनाले चितवनमा सलहको जोखिम बढ्दै गइरहेको जनाएको छ ।

परियोजना प्रमुख तिमिल्सिनाका अनुसार चितवनमा सलहको जोखिम बढेको छ, सम्पूर्णलाई सतर्क रहन विभिन्न सञ्चारमाध्यमबाट सूचना जारी गरिएको छ । उनले भने, ‘सलहको करोडौँको झुन्ड छैन, तर यो फैलने र बढ्ने क्रममा छ ।’

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीका अनुसार चितवन, मकवानपुरलगायतका जिल्लामा सलहको झुन्ड छ, तर त्यति ठूलो संख्यामा छैन ।

सरकारले किसानहरुलाई सलह भगाउनका लागि हल्लाखल्ला गर्ने, ढोल बजाउने, टिन र अन्य भाँडाकुँडा ठटाउने, बालीलाई झूल वा जालीले छोप्नेलगायतका सुझावहरु दिएको छ ।

सलह विश्राम गरिरहेको समयमा विषादी छर्कंदा पनि बालीलाई जोगाउन सकिन्छ । भारतमा सलह नियन्त्रणका लागि ड्रोनको प्रयोगसमेत गरिएको थियो । ड्रोनको सहयोगबाट विषादीसमेत छर्केर सलहबाट बाली जोगाउन सकिन्छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया