चितवनमा ६१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

अन‌ि यो पनि

भरतपुर । कोभिड–१९ को कारण स्थगित भएको बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम असार २२ र २३ गते सञ्चालन हुँदैछ । चितवनमा यस कार्यक्रममार्फत ६ महिनादेखि ५९ महिनासम्मका ६१ हजार ८३५ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।

वैशाखमा नै हुनुपर्ने कार्यक्रम कोरोना महामारीका कारण ढिलो गरी सञ्चालन हुन लागेको हो । बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा २७ हजार ८१४, रत्ननगर नगरपालिकामा छ हजार ३४४, खैरहनी नगरपालिकामा पाँच हजार ३२६ र कालिका नगरपालिकामा पाँच हजार ५८२ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।

त्यस्तै, राप्ती नगरपालिकामा सात हजार ८६०, माडी नगरपालिकामा चार हजार ८०९ र इच्छाकामना गाउँपालिकामा चार हजार एक सय बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । भिटामिन ‘ए’ खुवाउनका लागि जिल्लामा ४६१ स्वास्थ्य स्वयंसेविका खटाइने उनले बताए ।

उनका अनुसार भरतपुरमा २०७, रत्ननगरमा ६१, खैरहनीमा ३६, राप्तीमा ४६, कालिकामा ३७, माडीमा ३८ र इच्छाकामनामा ३६ जना स्वास्थ्य स्वयंसेविका र त्यत्तिकै संख्यामा सहयोगीहरु पनि खटाइने छ ।

‘वर्षको दुईपटक बालबालिकालाई भिटामिन ‘ए’ खुवाइन्छ, यसरी खुवाइएको भिटामिन बच्चाको कलेजोमा ६ देखि ८ महिनासम्म बस्छ’, उनले भने, ‘यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । आँखा र शरीरको न्युकोजल (छालाको भित्री पत्र फेरिने क्रम)को स्वास्थ्यलाई मद्दत गर्छ ।’

भिटामिन ‘ए’ ले बाल मृत्युदर २५ प्रतिशतसम्म घटाउने उनले बताए । बाहिरी जिल्लाबाट आएर अभिभावकसँग घरभाडामा बसेका बालबालिकाहरु कोरोना महामारीपछि आफ्नै घर फर्किएका छन् । यस्तो विषम परिस्थितिका कारण भिटामिन खुवाउने लक्ष्यभन्दा केही कमी आउन सक्ने उनको अनुमान छ । करिब ९० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ अनिवार्य खुवाउने लक्ष्य रहेको उनले बताए ।

‘यसले दादुरा पनि रोक्छ, प्रतिरक्षा प्रणालीसँग दादुराको पनि सम्बन्ध हुने भएकाले दादुराको उपचार नै यही हो’, उनले भने । सरकारले हरेक वर्ष वैशाख र कार्तिकमा गरी दुईपटक भिटामिन ‘ए’ खुवाउने कार्यक्रम देशभर सञ्चालन गर्ने गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया