दूध उत्पादक सहकारी संघलाई क्यान सहयोग

अन‌ि यो पनि

भरतपुर । विकेन्द्रीकृत आयोजना सहयोग इकाइ हेटौँडाले चितवनका दुग्ध उत्पादक सहकारी संस्थाहरुलाई दूध संकलन गर्ने क्यान सहयोग गरेको छ । एउटा सहकारीलाई ५० हजार रूपैयाँबराबरको क्यान सहयोग गरेको इकाइका प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक डा. विदुर गौतमले जानकारी दिए ।

दूध उत्पादन गर्ने किसानलाई राहत पु¥याउने उद्देश्यले चितवनका १९ वटा सहकारी संस्थालाई क्यान सहयोग गरिएको उनको भनाइ छ । किसानको मागअनुसार सहयोग इकाइले कसैलाई क्यान, कसैलाई तालिम र कसैलाई टायल सहयोग गरेको उनले बताए ।

‘जसले जे रोजे पनि हामीले पचास हजार रूपैयाँबराबरको सहयोग गरेका छौँ’, उनले भने, ‘१९ वटा सहकारीले भने क्यानको माग गरेपछि क्यान सहयोग गरेका हौँ ।’ अझ माग बढिरहेकोले आवश्यक पर्नेहरुलाई सरकारी निर्णयअनुसार सहयोग गर्दै जाने उनले बताए ।

सोमबार वितरण गर्ने भनेर तयारी थाले पनि समयमै चितवन नआएकोले वितरण हुन सकेन । क्यान आइसकेपछि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले छनोटमा परेका सहकारीहरुलाई उपलब्ध गराउने संघका अध्यक्ष रत्नमणि न्यौपानेले बताए ।

चितवन जिल्ला बागमती प्रदेशमै सबैभन्दा धेरै दूध उत्पादन हुने जिल्ला हो । केही समयअघिमात्रै चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । अहिले पनि चितवनमा दैनिक तीन लाख लिटरभन्दा बढी दूध उत्पादन हुँदै आएको संघले जनाएको छ । तर, कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण दूध उत्पादक कृषक पनि समस्यामा परेका छन्, जसले गर्दा चितवनमा दूध उत्पादनमा कमी आएको अध्यक्ष न्यौपानेले बताए ।

उनका अनुसार अहिले दैनिक दुई लाख ९० हजार लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ । लकडाउनका कारण दूध बिक्री हुन समस्या हुनु र समयमै दाना, चोकर नपाउनुजस्ता समस्याले गर्दा दूध उत्पादनमा कमी आएको उनले बताए ।

लकडाउनका कारण दूध बिक्री गर्न समस्या हुने भएपछि दूध उत्पादक सहकारी संघहरुले बिक्री गर्ने विकल्प खोजेका थिए । सोही क्रममा डेरी उद्योगीहरुसँग उत्पादनको ५० प्रतिशत डेरीले उठाइदिने सम्झौता भएको थियो । तर, सम्झौता पनि पूर्ण कार्यान्वयन नभएको संघका सचिव किशोर बगालेले जानकारी दिए ।

जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेलले भने सहयोग प्राप्त क्यानको सही सदुपयोग गर्न सहकारीमार्फत किसानहरुलाई आग्रह गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया