रत्ननगर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन असम्भव रहेको बताउनुभएको छ ।
रत्ननगरमा निर्माण गरिएको हंस मनोरञ्जन केन्द्रको सोमबार उद्घाटन समारोहमा उहाँले एमाओवादी, मधेशवादी तथा साना दलहरुको सहमति नभएका कारण ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन हुने सम्भावना टरेको बताउनुभएको छ । उहाँले कात्तिक वा मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न सरकार त्यसतर्फ केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
‘अब ६ महिनाभित्र निर्वाचन गर्न सम्भावना लगभग टरिसक्यो’ उहाँले भन्नुभयो, ‘कात्तिक वा मंसिरमा निर्वाचन गराउने गरी सरकारले तयारी गर्दैछ ।’ मन्त्री आचार्यले राज्य पुनर्संरचना विदेशीको नक्कल गरेर नभई सामाजिक संरचना र सामथ्र्यको मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो ।
उहाँले जाती, भाषा, धर्म, संस्कृति, भूगोल सवै सुहाउँदो हुने गरी राज्यको पुनर्संरचना गर्न जनताले मत दिएकोे भन्दै जनभावनाअनुसार आर्थिक सम्मृद्धि हुने गरी राज्य पुनर्संरचना गरिने स्पष्ट पार्नुभयो ।
मन्त्री आचार्यले सामाजिक न्याय र समानता सहितको लोकतान्त्रिक संविधान निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो । देशमा पर्यटक भित्र्याउन पूर्वाधार र आवतजावत गर्ने माध्यम आवश्यक रहेको भन्दै मन्त्री आचार्यले त्यसको लागि जहाजको सङख्या बढाएर विमानस्थलको स्तरवृद्धि गर्ने काममा सरकार लागेको बताउनुभयो ।
पाँच वर्षभित्र आन्तरिक र अन्तर्राष्ट्रिय गरी २२ वटा जहाज थप गर्ने सरकारको योजना रहेकोे बताउनुभयो । कार्यक्रममा सभासदद्वय शेषनाथ अधिकारी र कृष्णभक्त पोखरेलले पर्यटकीय क्षेत्रको विकासको लागि राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा हंश मनोरञ्जन केन्द्रका प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले चितवनमा पर्यटन विकासको लागि नयाँ सम्भावना बोकेको ठाउँको पहिचान गरी केन्द्र स्थापना गरिएको बताउनुभयो । उहाँले केन्द्र स्थापना गर्नुको कारण मुनाफा कमाउने मात्र नभई समाजिक उत्तरदायित्व बहन गर्नको लागि पनि केन्द्र स्थापना गरिएको बताउनुभयो । केन्द्रमा भएको आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगाइने उहाँको भनाइ रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरूङ, नेकपा एमालेका जिल्ला अध्यक्ष जेएन थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल–लगायतले बोल्नु भएको थियो । रत्ननगरको पर्यटन विकासको लागि पाँच करोड रूपैयाँको लागतमा केन्द्र निर्माण गरिएको हो । केन्द्रका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा कार्यक्रमा सम्पन्न भएको थियो ।
Discussion about this post